दार्चुला सीमामा तीन दिनदेखि सयौँ नेपाली अलपत्र, ‘आफ्नो जनता फिर्ता लेऊ’ भन्दै नाराबाजी

धनगढी-भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सयभन्दा बढी नेपालीहरु सीमामा अलपत्र परेका छन् । पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ३ सय १३ नेपाली तीन दिनदेखि दार्चुला सीमामा अलपत्र परेका हुन् ।

कोरोनाको संक्रमण फैलिएपछि त्यसलाई रोक्न भन्दै भारत सरकार र राज्य सरकारले लकडाउन गरेका छन् । सार्वजनिक यातायात, हवाई र रेलमार्ग पनि बन्द गरेको छ । यसरी गरेको बन्दको प्रभाव भारतमा कार्यरत नेपाली नागरिकमा परेको छ । श्रमका लागि भारत पुगेका, खासगरी सुदूरपश्चिमका नेपाली प्रभावित भएका छन् । उनीहरु हिडेरै भए पनि नेपाली सीमामा आइपुगेका छन् ।

सीमामा आइपुग्दा नेपालमा पनि लकडाउनका कारण सरकारले सीमानाका बन्द गरेपछि उनीहरु आफ्नै देश छिर्न पनि अहिले नारा लगाइरहेका छन् । ‘हामीलाई आफ्नो देश छिर्न दे’ भन्दै उनीहरु भारतीय क्षेत्रबाट नेपाल सरकारलाई सुनाइरहेका छन् । यस्तो समस्या खासगरी पश्चिम नेपालका मान्छेहरूको छ र पश्चिमी नाकामै दिनदिनै मान्छे आइरहेका छन् ।

शुक्रबार राति १० बजेसम्म दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल खुलाएर २ सय २५ जनाको उद्धार गरिएको थियो । राति १२ बजेपछि भारतको धारचुलामा आइपुगेका नेपालीहरु अलपत्र परेका हुन् । उनीहरुको उद्धारका लागि अहिले सम्म प्रयास भएको छैन ।

नेपाल–भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा नेपाली मजदुरहरु तीन दिनको पैदल यात्रापछि पिथौरागढबाट धारचुला आइपुगेका हुन् । भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन् ।

मार्मा गाउँपालिका ५ का दिलेन्द्र महताले तीन दिनदेखि खान नपाएको बताए । ‘चाउचाउ र बिस्कुट पनि किन्न पाइएको छैन,’ उनले टेलिफोनमा भने ‘धारचुलामा अहिले बढी मान्छे भएपछि सडक छेउ र महाकाली किनारमा आएर बस्नुपरेको छ ।’

यस्तै अपिहिमाल गाउँपालिका ५ का सुनील धामीले ठेकेदारले समयमै रकम नदिँदा आउन ढिलाइ भएको बताए । ’काम गरेको रकम पनि आधा दिएको छ । २ हजार रुपैयाँ दिएर पठाएको हो । अहिले धारचुलाम के खाने भन्ने भइरहेको छ,’ उनले भने, भारतीय प्रहरीले सामाजिक दूरी बनाएर बस भन्छन् । अहिले महाकाली बगर क्षेत्रमा महाकाली नदीको पानी खाएर बसेका छौ ।’

हाल धार्चुलामा रोकिएका सबैभन्दा बढी बैतडीका नागरिक रहेका छन् । प्राप्त विवरण अनुसार दार्चुला मार्मा गाउँपालिकाका ३८ जना, अपिहिमाल गाउँपालिका ५ जना, शैल्यशिखर नगरपालिका ११ जना रहेका छन् । यस्तै बैतडी जिल्ला पुर्चौडी नगरपालिका १ सय ६४ जना, डिलाशैनी गाउँपालिका ६२ जना रहेका छन् ।

यसैगरी बझाङ जिल्ला बुङ्गल नगरपालिकाका ३० जना, र जाजरकोटका ३ जना रहेका छन् ।
यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सीमा पारी रहेका नेपालीको उद्धारका लागि छलफल र परामर्श भईरहेको बताए । उनले भने ‘हामी निरन्तर छलफलमा छौं, अहिले पनि त्यसैका बारेमा बैठेक चलिरहेको छ, केन्द्रमा पनि परामर्श गरिरहेका छौं, कसरी हुन्छ चाँडै नै उद्धार गर्छौँ ।’

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्