बुटवलको अस्पतालमा मृत्यु भएका युवामा कोरोनाको संक्रमण नरहेको पुष्टि

बुटवल – रुपन्देही सैनामैनाका बाबुराम थापाको मृत्युको कारण कोरोना संक्रमण नभएको पुष्टि भएको छ। कोरोनाको आशंकामा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका उनको थ्रोट स्वाब परीक्षणपछि आएको रिपोर्टले उनमा कोरोना संक्रमण नभएको देखिएको कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार थापाको मृत्यु के कारणले भयो भन्ने कुरा खुलेको छैन । ‘कोरोनाको संक्रमण छ छैन भनेर परीक्षण भएकाले अरु के थियो भन्ने कुराभन्दा पनि कोरोना छ छैन भनेर मात्रै हेरिन्छ’, उनले भने, ‘उहाँको ट्राभल हिस्ट्रीका कारण आइसोलेशनमा राखेका थियौं तर कोरोना रहेनछ।’

उनले थापाको छातीमा समस्या रहेको र त्यसलाई मदिराले समेत बढी असर गरेको देखिएको बताए। परिवारले मृत्युको कारण खोजेमा परीक्षण हुनसक्ने उनले बताए।

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्