सार्क राष्ट्रमा कोरोनाको संक्रमण तीब्र, ६० को मृत्यु, तीन हजारभन्दा बढी संक्रमित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण सार्क राष्ट्रहरुमा तीब्र गतिमा फैलन थालेको छ।

यो समाचार तयार पार्दा (सोमबार साँझ)सम्म सार्क राष्ट्रहरुमा कोरोना भाइरसको संक्रमणबाट ६० जनाको मृत्यु भएको छ भने ३ हजार ३८ जना संक्रमित भएको पुष्टि भएको छ।

हालसम्मको अवस्था हेर्दा सार्कका ८ देशमध्ये पाकिस्तान र भारत सबैभन्दा बढी प्रभावित भएका छन्।

पाकिस्तानमा हालसम्म कोरोना भाइरसका कारण २० जनाले ज्यान गुमाएका छन् भने १६ सय ५० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

यस्तै भारतमा भने ज्यान गुमाउनेको संख्या पाकिस्तानको भन्दा बढी छ। भारतमा कोरोनाको संक्रमणबाट २९ जनाको मृत्यु भइसकेको छ भने १ हजार ७१ जना संक्रमति भएको पुष्टि भएको छ।

अफगानिस्तानमा १२० जनामा संक्रमणको पुष्टि हुँदा ४ जनाले कारोनाका कारण ज्यान गुमाएका छन्।

श्रीलंकामा हालसम्म १२२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने २ जनाको मृत्यु भएको छ।

बंगलादेशमा भने कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ, ४९ जनामा संक्रमण देखिएको छ।

यसैगरी माल्दिभ्समा १७, नेपालमा ५ र भुटानमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्