जनजीवन सहज पार्ने अभियानमा जुट्न तरुण दलको जिल्ला समितिलाई निर्देशन

काठमाडौँ – कोभिड १९ को रोकथामका लागि जारी लकडाउनका कारण उत्पन्न कठिन परिस्थितिको सहज व्यवस्थापनका लागि नेपाल तरुण दलले मातहतका जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।

कोभिड १९ को महामारी रोक्न सरकारकाले जारी गरेको लकडाउनलाई सहयोग पुग्ने गरी स्थानीय प्रशासनसँग मिलेर समन्वय गर्न तरुण दलको केन्द्रीय समितिले जिल्ला समितिहरुलाई परिपत्र गरेको हो ।

सरकारद्वारा एक साता अघि देखि सुरु गरिएको लकडाउन आगामी चैत्र २५ गते सम्मका लागि थप गरिएको छ । यस अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने सम्भावना रहन्छ ।

यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई र नियम क्रियाकलापमा सहजीकरण गर्नगराउनको लागि जिल्ला अध्यक्ष ज्यूहरुलाई परिपत्र गरिएको तरुण दलले जनाएको छ ।

यस्तो छ तरुण दलले जिल्ला अध्यक्षलाई गरेको परिपत्र

१) बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्ने ।

२) सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन आवश्यक भुमिका निर्वाह गर्ने ।

३) देशका विभिन्न भूभागबाट तपाईहरुको ठाउँमा आई बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए सो समस्या समाधान गर्न सहयोग गर्ने ।

४) लकडाउनका कारण आफनो गन्तव्य सम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्य सम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने ।

५) खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगाएत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले केही सजकता र एक अर्का बीच दुरी कायम गर्नुपर्ने हुन्छ । यसका लागि स्थानिय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्ने ।

६) लकडाउनको समयमा सम्पूर्ण गतिविधि बन्द गर्नु भएका कारण दिनभरी ज्यालामजदुरी गरेर साझ बिहानको छाक टार्ने वर्गलाई समस्या पर्ने भएका कारण ती वर्गको दैनिक जीवन निर्वाहको लागि आवश्यक सहयोग गर्ने ।

७) भारतका विभिन्न ठाउँबाट नेपाल आउनका लागि हिडेका नेपाली समुदायका मानिसहरु लकडाउनका कारण देशभरीका विभिन्न सिमा नाकामा अलपत्र परेका हुनाले ती व्यक्तिहरु तोकिएको समय क्वारेन्टाईनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन नेपाल तरुण दलका सम्बन्धित जिल्लाका जिल्ला अध्यक्षहरुले स्थानीय प्रशासन संग समन्वय गर्ने ।

८) लकडाउनको समयमा आफनो वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिने र आफु, आफनो परिवार र समाजलाई सुरक्षित राख्ने ।

९) अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गरिन्छ ।

चैत १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्