डाक्टर छोरालाई बाबुको पत्र

प्यारो छोरा,

चराचुरुंगी, घामको ताप र प्रकाश, हावा, खोलानालालाई जसरी भौगोलिक सिमानाले छेक्दैन, उसैगरी मानवता वा मानवधर्मले पनि कुनै स्थानविशेष, जात, धर्म, सम्प्रदाय भन्दैन। त्यहाॅं केवल मानव जाति हुन्छ, मानवकेन्द्रित सेवा हुन्छ।

युगोस्लाभियाकी मदर टेरेसा भारतको कलकत्ता आएर मानवसेवामा समर्पित भएकी थिइन्। किनकी उनले आफ्नो जीवन सकल मानव जातिका लागि नै हो भन्ठानेकी थिइन्।

छोरा, डा. मुनीश शर्मा। आजका दिनमा महामारीका रूपमा फैलिएको कोरोना भाईरस कोभीड -१९ ले दुनियाभरि आफ्नो भयानक रूप धारण गर्दैगर्दा संसारमा सबैभन्दा बढी यो रोगबाट संक्रमित भएको देश अमेरिकामा तिमी छाती रोग तथा सघन उपचार (पल्मोनरी एण्ड क्रिटिकल केयर) मा फेलोसीप (डिएम) गर्दै गर्दा दिनरात तिमी कोरोना संक्रमितहरूको उपचारमा डटिरहेका छौ।

यहाॅं मानिसदेखि मानिस डराएको अवस्था छ, आफ्नै छायासँग पनि टाढै बस्नु पर्ने बेला भएको छ, सबैले सबैलाई शंका र भयको नजरले हेर्छन्, प्रत्येक मानिस आत्मसुरक्षामा केन्द्रित भएका छन्। आज जतासुकै मानिस संत्रासले घेरिएको छ, घरिघरि ऊ आफ्नो शंकालाई साबुन पानीले धोएर निवारण गर्न खोजिरहेछ । आत्मबल हराएकोछ, एउटा अदृश्य शत्रुसंग लड्न मानिस कवच खोजिरहेछ ।आफ्ना प्रीयजनको निधनमा लास बोक्ने काॅंधहरू तागतशून्य भएकाछन् । संसार वेदनाको आहालमा छ ।

छोरा, तिमी डाक्टर हौ, तिम्री दुलही अनि हाम्री प्यारी बुहारी समीक्षा त्यसै अस्पतालकी नर्स हुन्, तिम्री भाइबुहारी घरकी कान्छी निमिषा पनि डाक्टर हुन् । तिमीहरु तीनैजना अहिले युद्धका सिपाही हौ । डटिरहेका छौ, जुधिरहेका छौ ।तिमीहरुलाई एक पाईला पनि पछाडि सर्ने, पिठ्युॅं फर्काउने वा माथि भनिएका जस्तै सन्त्रासले घेरिने सुविधा किंचित हुने छैन। तिमीहरुको जन्म मानव जातिको रक्षा र सेवाकालागि भएको हो । तिमीहरुको अनुहार कहिल्यै लत्रिने छैन, मन कहिल्यै हताश र बिचलित हुनेछैन, लोककल्याणमा तिमीहरुको खटन भएको छ, यो तिमीहरुको पेशा मात्र होईन धर्म पनि हो । ज्ञान र अन्वेषणको कसम खाएका छौ ।कामेको स्वर र थर्थाराएका ओंठले मलाई तीनैजनाले फोन नगर्नु । यो एउटा बाबुको अर्ति र आदेश पनि हो ।

तिम्री आमा, हुन त उनी बघिनी जस्तै छिन्, तिमीले उनैको दूध खाएका हौ, तर एउटी महिलाको नौनी जस्तो मन द्रवीभूत हुनबाट म कसरी जोगाउन सकूॅंला ? दुईटी बुहारी र जेठो छोरा कोरोना मैदानमा कोरोना संक्रमितको स्याहारमा अहोरात्र जुटिरहॅंदा नानाथरिका शंकाउपशंकाले उनलाई बेचैन बनाउनु स्वभाविकै हो । तिमी त्यहाॅं खोक्दा पनि यहाॅं उनको मन चर्किन्छ ।अझ सानी नातिनी घरमा एक्लै छ, उसलाई आईशोलेसनको अर्थ के थाहा ? तिमीहरू घर पुग्दा उसलाई मायाको अंगालो नभई हुॅंदैन, म्वाई खान पर्छ र रातभरि अंगालोमा बेरिनै पर्छ । म तिम्री आमालाई घरिघरि भन्छु- चिन्ता नगर, ईश्वर छन् । म सार्है आस्तिक पनि होईन, तर पूर्ण नास्तिक पनि होईन । अहिले फगत ईश्वर नै मन सम्हाल्ने सहारा भएका छन् ।

हिम्मत र उच्च मनोबलले शरीरको रक्षा प्रणाली (ईम्युनिटी) मा पनि वृद्ध हुन्छ भन्छन्।

तिमी सानो छॅंदा, सबै बाबुआमालाई जस्तै, हामीलाई पनि तिमी डाक्टर भएको हेर्ने रहर थियो । धेरै संघर्ष गर्यौं छोरा हामी दुबैले यस दिनका लागि । त्यो दु:खको वर्णन यहाॅं आवश्यक छैन ।मैले पढाएका र नपढाएकै भए पनि धेरै विद्यार्थीहरू स्वदेश र विदेशमा डाक्टर नर्स छन् । ती सबै मेरा मुनीश, समीक्षा र निमिषा हुन् । म सबै मुनीश, समीक्षा र निमिषाहरूलाई भन्छु- त्यो अस्पतालको शैय्यामा लडीरहेको बिरामीको मुटु जतिन्जेल धड्किन्छ, त्यतिन्जेल उसको आत्मा बाॅंच्नका लागि तड्पिन्छ ।

जब तिमी उसको नजिक पुग्छौ ऊ विवश भएर तिमीलाई हर्ने छ र तिमीबाटै जीवनको अन्तिम अपेक्षा गर्ने छ । उसप्रति तिमीहरूले कहिल्यै लापर्वाही र अपहेलना नगर्नु अन्यथा ईश्वर जीउॅंदै मर्ने छ । हुन त अन्तिम मर्जी ईश्वरकै हो । यदि उसलाई बचाउन सकियो भने पृथ्वीको एउटा मानिस बाॅंच्ने छ, कुनै देशको एउटा नागरिक बाॅंच्ने छ र सबैभन्दा ठूलो तिमीभित्रको मानव बाॅंच्ने छ ।

अहिले यता लकडाउन चलिरहेको छ । हामी बन्धनमा होईन, सुरक्षाकवचमा छौं । आफ्नो ख्याल गर्नु, हाम्रो चिन्ता नगर्नु ।

सधैँ माया गर्ने बुवा, मुकुन्दराज शर्मा

चैत्र १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्