सीमामा अलपत्र नेपालीले पाएनन् दार्चुला प्रवेश, भारतमै क्वारेन्टाइनमा राखियो

धनगढी – भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ जना नेपालीहरुलाई भारतकै धार्चुलामा क्वारेन्टाइनमा राखिएको छ । पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ नेपाली चार दिनदेखि दार्चुला सीमामा अलपत्र परेका थिए ।

उनीहरुले महाकाली किनारामा नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए । सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलाको पहलमा सीमा पारी रहेका भारतका अधिकारी सँगको छलफलपछि भारतकै धार्चुलामा खाना बस्न व्यवस्थासहित क्वारेन्टाइनमा राख्ने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलले भने, ‘क्वारेन्टाइनको कार्यबिधि अनुसार त्यहाँ रहेका सबैको स्वास्थ्य परीक्षणसहित आजैबाट क्वारेन्टाइनमा राखिएको छ, यता दार्चुलामा रहेका भारतीहरुको व्यवस्थापन हामीले गर्ने सहमति भएको छ ।’

हाल धार्चुलामा रहेको एउटा सार्वजनिक विद्यालयमा ३ सय जना र अन्यलाई त्यही आसपासमा रहेका सार्वजनिक ठाउँमा क्वारेन्टाइन स्थापना गरि राखिएको छ । प्रजिअ पौडेलले भने, ‘ २६ गते सम्म नेपालमा लकडाउन नै रहेको छ, त्यसबेला सम्म त्यहीँ बस्नेछन् त्यसपछि के गर्ने छलफल गर्छौं ।’

यस्तै सोमबार महाकाली नदीमा पौडी खेलेर भारतबाट आएका एकजनासहित तिन जनालाई सोमबार जिल्ला प्रहरीमा राखिएको र आज तिनै जनालाई समन्धित स्थानीय तहको जिम्मा लगाएर त्यही १४ दिन क्वारेन्टाइनमा राखिने प्रजिअ पौडेलले जानकारी दिए । उनले दार्चुलाका सबै स्थानीय तहमा क्वारेन्टाइन स्थापना गरिएकाले उनीहरुलाई राख्न कुनै समस्या नभएको बताए ।

लकडाउनका बारेमा जनतालाई बुझाउन नसक्दा पनि यो समस्या आएको उनले बताए । श्रमका लागि भारत पुगेका, खासगरी सुदूरपश्चिमका नेपाली प्रभावित भएका छन् । उनीहरु हिँडेरै भए पनि नेपाली सीमामा आइपुगेका हुन् ।

सीमामा आइपुग्दा नेपालमा पनि लकडाउनका कारण सरकारले सीमा नाका बन्द गरेपछि उनीहरुले आफ्नै देश छिर्न नारा लगाएका थिए ।शुक्रबार राति १० बजेसम्म दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल खुलाएर २ सय २५ जनाको उद्धार गरिएको थियो । राति १२ बजेपछि भारतको धारचुलामा आइपुगेका नेपालीहरु अलपत्र परेका हुन् ।

नेपाल–भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा नेपाली मजदुरहरु तीन दिनको पैदल यात्रापछि पिथौरागढबाट धारचुला आइपुगेका हुन् । भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन् ।

हाल धारचुलामा रोकिएका सबैभन्दा बढी बैतडीका नागरिक रहेका छन् । प्राप्त विवरण अनुसार दार्चुला मार्मा गाउँपालिका अपिहिमाल गाउँपालिका, शैल्यशिखर नगरपालिका, बैतडी जिल्ला पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका, बझाङ जिल्ला बुङ्गल नगरपालिकाका र जाजरकोटका गरि ५ सय ६३ जना रहेका छन् ।

चैत १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्