फोटो फिचर

लकडाउनमा खेतवारीको काम

दाङ–तारालाल चौधरी गाउँ भन्दा बाहिर जान पाएका छैनन् । तर, घरमै रहँदा भने उनी खेतवारीको काममा संलग्न हुने गरेका छन् ।

लमही नगरपालिका वडा नं. ७ फचक्पुर निवासी उनी मकै गोडमेल गर्न व्यस्त छन् । ‘कोरोनाले गर्दा गाउँबाट बाहिर गएको छैन् । घरमा बसेर मात्रै के गर्नु । मकैमा झार जंगल बढेर नोक्सान गर्न लागेको छ’, उनले भने–‘मकै गोडमेल गरेर दिन बिताउने गरेको छु ।’

सोमबार गाउँमा पुग्दा किसान खेतबारीमै व्यस्त थिए । सामान्य मास्क लगाएर उनीहरु काममा जुटिरहेका थिए । ‘फोनमा पनि कोरोनाकै सन्देश छ । चारै तिर यसैको कुरा हुन्छ । किन न थाहा पाउनु’, उनले भने–‘काम गरेर खाने मान्छे । बिना कामै बस्न सकिँदैन ।’

सञ्जु चौधरी पनि मकै गोड्न व्यस्त छिन् । दिउँसो घरमा बस्छिन् । साँझ बिहान खेतबारीमा काममा जुट्छिन् । ‘अरु त छैन् । यही मकै हो । गोडमेल गरिरहेका छौं’उनले भनिन्–‘सावधानी त जतीखेर पनि फोनमा भनिरहन्छ । त्यही त होला अपनाउने । हात धुने, टाढा टाढा बस्ने गरिरहेका छौं ।’ गाउँ लकडाउन छ । मानिसहरु एक गाउँबाट अर्काे गाउँमा जान पाउँदैनन् ।

नयाँ मान्छे आउन थाले त्यसको बारेमा भने सोधी खोजी गर्छन् । विदेशबाट आएको मानिसलाई गाउँमा प्रवेश नदिइएको उनीहरुको भनाई छ । एक जना व्यक्ति १५ दिन अघि विदेशबाट आएका थिए । उनलाई घर भित्रै परिवारका सदस्यसँग पनि दूरी कायम गरेर बस्न भनिएको थियो । अहिले सम्म गाउँमा विदेशबाट आएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिएको छैन् ।

चैत्र १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू