सरकारले पठाएको उपकरण बोकेर हिमाली जिल्ला पुगे मुख्‍यमन्त्री शाही

सरकारले पठाएको उपकरण बोकेर हिमाली जिल्ला पुगेका कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही। तस्बिर-राजन रावत/देश सञ्‍चार

सिमकोट-कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही कोरोना संक्रमणका चेकजाँचका उपकरण बोकेर कर्णालीका हिमाली जिल्लाहरुमा पुगेका छन्।

संघीय सरकारबाट ती उपकरणहरु प्रदेशमा प्राप्त भएको चौबीस घण्टामा कर्णाली प्रदेश सरकारले जिल्लामा पुर्याउने निर्णय गरे अनुसार मुख्यमन्त्री शाहीले लकडाउनको समयमा हेलिकोप्टरमा ती उपकरणहरु हिमाली जिल्लामा पुर्‍याएका हुन।

कर्णाली प्रदेश सरकारले कर्णालीका हिमाली जिल्लाहरुमा कोरोना संक्रमण बिरुद्ध चेकजाँचका लागि प्रयोग हुने उपकरणहरु हेलिकोप्टरमा ढुवानी गरेको सामाजिक बिकास मन्त्री दल बहादुर रावलले बताए।

सामाजिक विकास मन्त्री रावल पनि मुख्य मन्त्रीसँगै हेलिकोप्टमा आउनु भएको थियो। प्रदेश सरकारले पहिलो पटमा हिमाली जिल्लामा हेलीकोप्टरमार्फत पठाएको हो।

मंगलबार बिहान कर्णाली प्रदेश सरकारले कोरोन बिरुद्धका उपकरणहरु हिमाली जिल्लामा हेलिकोप्टबाट ढुवानी गर्ने निर्णय गरे अनुसार हुम्ला , मुगु र डोल्पा जिल्लामा यी उपकरणहरु पुर्‍याइएको हो।

कोरोना भाइरस संक्रमिकलाई चिकीत्सकहरुले चेकजाँचका लागि प्रयोग गर्ने उपकरण कर्णाली प्रदेशका तीन जिल्लामा हेलिकोप्टरबाट ढुवानी गरेका उपकरणहरु चीनबाट प्राप्त भएका हुन।यी उपकरणहरु सुर्खेतमा पुगे लगत्तै प्रदेश सरकारले पहिलो लटमा हिमाली जिल्लामा पुर्याएको हो।

हेलिकोप्टरबाट ढुवानी भएर आएका सामानहरुमा थर्मोगन, पिपिइ, सर्जिकल मास्क, ग्लोब, पिपिई चस्मा, एन नाइन्टिन मास्क, स्प्रिट लगाएत अठार किसिमका उपकरण, औषधी र फारमहरु रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए।

संक्रमणका बेला चिकित्सकहरुका लागि अति आवश्यक पर्ने पीपीइ, सर्जिकल मास्क र थर्मोगन जिल्लामा अभाब भएको बेला उपलब्ध भएपछि स्वास्थ्यकर्मीहरुले राहत महशुस गरेका छन्।

अहिलेको त्रासदीका बेला यी उपकरण नहुदा जिल्लामा स्वासथ्यकर्मी र चिकीत्सकहरुले निक्कै चिन्ता गरेका थिए । तर आज आएका उपकरण पनि प्रयाप्त भने होइनन् । यी उपकरण स्वास्थ्य कार्यालयमा प्रयोग हुनेछन्।अझै गाउँपालिकामा यी उपकरण नभएको अबस्था छ । प्रदेश सरकारले तत्काल यी उपकरण ब्यबस्था गरेर गाउँपालिका स्तरमा पठाउनु आवश्‍यक छ।

उपकरण प्रदान गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अहिलेको अबस्थामा प्रत्येक नागरिकहरुले आफु सचेत भएर लाग्नु पर्ने र सरकारले लागु गरेको लकडाउनलाई कार्यान्वयन गर्न सके कोरोनाबाट जितिने बताए।

एउटै घरमा पनि परिवारका सदस्यहरु संगै बस्न कठिन हुने बेला बिशेष गरि भारतबाट आएर गाउँ गाउँमा बसेकाहरुसंग सतर्क रहन आग्रह गर्दै मुख्यमन्त्री शाहीले जो जता छौ उतै एकान्त बासमा बस्न आग्रह गरेका थिए।

यसअघि अहिलेको जटिल परिस्थितीका बारेमा जिल्लाको तयारी अबस्थाका बारेमा प्रमुख जिल्ला अधिकराी बिनीता भट्टराईले जानकारी गराउने भएको थियो । मुख्य मन्त्री शाही र सामाजिक बिकास मन्त्री रावल यी उपकरण पुर्याउन तीनै जिल्लामा आफै पुगेका थिए।

अस्पतालमा समेत यी उपकरण नभएको बेला सरकारबाट उपलब्ध भएपछि जिल्लाबासीमा पनि केही आशा पलाएको छ। खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले प्रदेश सरकारले तत्काल उपकरणको व्‍यवस्था गर्न माग गरे। गाउँगाउँमा स्थापना भएका हेल्प डेस्कहरु बिना उपकरणका छन्।

चैत १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्