कोरोना भाइरस संक्रमित आएका तीन एयरलाइन्सका ४५८ यात्रुमध्ये २५० मात्र सम्पर्कमा

तस्बिर: बर्षा शाह

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हालसम्म पाँच जना छ। यी सबै जना विदेशबाट आएका हुन्। संक्रमितमध्ये एक जना निको भइसकेका छन् भने पछिल्लो ९ दिनमा कोरोना संक्रमण भएको पुष्टि भएका बाँकी चार जना उपचार गराइरहेका छन्।

उपचाररतमध्ये दुई जना एउटै विमान चढेर दोहाबाट नेपाल आएका थिए। एक जना एयर अरेबियाबाट यूएईबाट आएका हुन् भने अर्का एक जना विस्तारा विमानबाट नयाँ दिल्लीबाट नेपाल उत्रिएका हुन्। प्रहरीले यी चारै जनासहित ती विमानबाट नेपाल भित्रिएका अन्य यात्रुको पनि ट्र्सिङ गरिरहेको छ।

प्रहरी प्रधान कार्यालयले कोरोना भाइरसलाई केन्द्रित गरेर हेडक्वार्टरमा स्थापना गरेको हेल्थ डेस्कले ती यात्रुहरुको खोजी गरिरहेको छ। प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले ती तीनवटा विमानबाट चार सय ५८ जना यात्रु नेपाल भित्रिएको र तीमध्ये २ सय ५० जना अहिलेसम्म सम्पर्कमा आएको बताए।

उनले भने- ‘सम्पर्कमा आएका उहाँहरुमध्ये कोही होम क्वारेन्टाइन र कोही सरकारले बनाएको क्वारेन्टाइनमा हुनुहुन्छ। सम्पर्कमा आउन नसकेका बाँकीको खोजी भइरहेको छ।’

सहप्रवक्ता जोशीका अनुसार कतार एयरवेजबाट १ सय ५८ यात्रु नेपाल आएकामा १ सय ३८ जना मात्र सम्पर्कमा आएका छन्। एयर अरेबियाबाट आएका एक सय ७० यात्रुमध्ये ९८ जना सम्पर्कमा आएका छन् भने भिस्तारा विमानबाट आएका एक सय ३० यात्रुमध्ये १४ जना मात्र प्रहरी सम्पर्कमा आएका छन्।

भिस्तारा एयरबाट आएका धनगढी घर भएका संक्रमित काठमाडौँबाट नेपालगन्जसम्म बुद्ध एयरमा गएका थिए। बुद्ध एयरमा त्यस दिन ती यात्रुसँगै गएका अन्य ७० यात्रुको पनि खोजि भइरहेको प्रहरीले जनाएको छ।

जोशीका अनुसार ती यात्रु कोही पनि सम्पर्कमा आएका छैनन्। घरेलु उडान भएका कारण यात्रुको विवरण पत्ता लगाउन समस्या भइरहेको उनी बताउँछन्।

यात्रुलाई सम्पर्कमा ल्याउन किन कठिन?

सरकारले ८ दिन अघि कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै लक डाउन सुरु गरेको थियो। यसको मतलब भाइरस थप नफैलियोस् र नियन्त्रण गर्न सजिलो होस् भन्ने थियो।

त्यसअघि विदेशबाट आएका यात्रुलाई तोकिएकोभन्दा कम तापक्रम भए नेपालीको हकमा होम क्वारेन्टाइन र विदेशीका हकमा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्नुबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केही गरेन।

उनीहरु होम क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा बसेको नबसेको बुझ्न उनिहरुको विस्तृत विवरण राखिएको र नियमित अनुगमन गरिएको त्रिभुवन विमानस्थलले बताएपनि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता जोशी यात्रुका बारेमा उनिहरुको विवरण पत्ता लगाउनै मुस्किल भइरहेको बताउँछन्।

जोशी भन्छन्- हामीले राहदानी विभागबाट विवरण मगाएर उनीहरुको खोजि गरिरहेका छौँ तर राहदानी विभागकै विवरणका आधारमा मान्छे खोज्न सजिलो भने हुँदैन।

उनले सम्बन्धित जिल्लाका प्रहरी इकाइलाई यात्रु खोज्न पत्राचार गरिएको बताए। प्रहरी प्रधान कार्यालयका अनुसार कतार एयरवेजको विमानमा ४८ जिल्ला, एयर अरेबियाको विमानमा ४५ र भिस्तरा एयरको विमानमा ३० जिल्लाका यात्रुहरु आएका थिए।

सरकारले पछिल्लो समय लगातार विदेशबाट पछिल्लो समय नेपाल भित्रिएका र कोरोना भाइरस संक्रमणको लक्ष्यण देखिएका व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेको छ।

विदेशबाट आएका सरकारी क्वारेन्टाइनमा कि होम क्वारेन्टाइनमा? 

सोलुखुम्बुको एक गाउँपालिकाले आफ्नो क्षेत्रमा विदेशबाट कोही आएको जानकारी दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ। विदेशबाट आएका ती व्यक्तिमा कोरोना संक्रमण भए त्यो थप नफैलियोस् भनेर गाउँपालिकाले अपनाएको यो जुक्तिको प्रसंसा भइरहेको छ।

चीनको वुहान प्रान्तमा कोरोना भाइरसको प्रकोप बढेलगत्तै नेपालले चीनमा रहेका एक सय ७५ जना आफ्ना नागरिकलाई विमान चार्टर्ड गरेर नेपाल ल्याएको थियो। उनिहरुलाई क्वारेन्टाइनमा राखियो।

१४ दिनसम्म क्वारेन्टाइनमा राख्दा परिक्षणमा कोरोना भाइरस नदेखिएपछि उनिहरुलाई आ-आफ्नो घर जान दिइएको थियो। होम क्वारेन्टाइन या सेल्फ क्वारेन्टाइनमा बस्दा उनिहरुको नियमित अनुगमन र स्वास्थ्य परिक्षण उत्तिकै महत्वपुर्ण हुने स्वास्थ्य अधिकारीहरु बताउछन्।

चैत्र १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू