बाहिरबाट आएकाको पहिचानमा जुट्न प्रदेश १ मुख्यमन्त्रीको आग्रह

फाइल फोटो।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस कोभिड १९ संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न मातहतका सबै स्थानीय तहहरुलाई निर्देशन दिएकाछन्।

मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमणको आशंका भएका सबै व्यक्तिको पहिचान गर्न स्थानीय तहहरुलाई निर्देशन दिएका हुन्।

मुख्यमन्त्री राईले विदेशबाट आएका, होम क्वारेन्टाइमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्ने नागरिकको तथ्यांक संकलन गर्न स्थानीयतहलाई आग्रह गरेकाछन्।

सो क्रममा समितिको अध्यक्ष समेत रहेका मुख्यमन्त्री राईले कोरोनाको रोकथामका लागि स्थानीय तहको भूमिका प्रभावकारी र महत्वपूर्ण हुने बताएका थिए।

यसक्रममा उनले विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई स्थानीय तहले राहत दिन र स्थानीय तहबाट सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउने समेत जानकारी दिए।

बैठकमा मुख्यमन्त्री राईले लकडाउनका क्रममा आवश्यकीय सरसमानको कृत्रिम अभाव हुन नदिन आर्थिक मामिला तथा योजना मन्त्रालय मातहत १० सदस्यीय अनुगमन समिति गठन गरेको छ।

आर्थिक मन्त्री इन्द्र आंग्बोको संयोजकत्वमा रहेको समितिले लकडाउनको समयमा सर्वसाधारणमा पर्नसक्ने समस्याका विषयमा अनुगमन गर्नेछ।

चैत १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्