शेयर बजारमा पछिल्लो ३३ वर्ष यताकै ठूलो धक्का

कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रभाव विश्वभरका शेयर बजारमा परेको छ । शेयर बजारमा यो वर्ष (सन् २०२०) को पहिलो तीन महिनामा पछिल्लो ३३ वर्ष यताकै सबैभन्दा धेरै नोक्सानी भएको देखिएको छ ।

द डाउ जोन्स इन्डस्ट्रियल एभरेज र लण्डनको एफटिएसइ १०० शेयर बजारमा पछिल्लो ३३ वर्ष अर्थात सन् १९८७ यताकै सबैभन्दा धेरै नोक्सानी भएको हो । यी बजारमा यो वर्षको पहिलो त्रैमासिकमा क्रमशः २३ र २५ प्रतिशत नोक्सानी भएको हो ।

द एस एण्ड पी ५०० शेयर बजारमा पहिलो त्रैमासिकमा २० प्रतिशतको नोक्सानी भएको छ । यो सन् २००८ यताकै सबैभन्दा खराब अवस्था हो ।

विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन तथा सेल्फ आइसोलेसनका उपायहरु अपनाएका कारण बजार प्रभावित भएको हो ।

अर्थशास्त्रीहरुले विश्वको अर्थतन्त्रमा पर्ने असर आर्थिक संकट भन्दा भयावह हुने चेतावनी दिएका छन्।

चैत १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्