घर फर्कन थालेका चार सय भन्दा धेरै भारतीय नियन्त्रणमा

वीरगञ्ज – घर फर्किन लागेका ४ सय भन्दा बढी भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएर वीरगञ्जको ठाकुरराम क्याम्पसमा राखेको छ ।

नेपालका विभिन्न स्थानबाट आफनो भारतस्थित घर फर्किन लागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर ठाकुरराम क्याम्पसको भवनमा राखिएको पर्साका प्रहरी नायव उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

नेपाल र भारत दुवै देशमा कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन भएकै अवधिमा उनीहरु घर फर्किनको लागि आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगन्ज हुँदै भारत जान लागेका ती सबैलाई ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा शास्त्र भवनमा राखिएको छ ।

क्याम्पस भवनमा राखिएका उनीहरुले खाना वा पानी समेत नपाएको तथा एक ठाउँमा कोचिएर बसाइएको भन्दै समाजिक सञ्जालमा आलोचना समेत भईरहेको छ ।

ठाकुरराम क्याम्पसमा राखिएका भारतीयहरुको खाने बस्ने विषयमा सुरक्षा समन्वय समितिको बैठक बसेर छलफल भईरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

चैत १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्