अस्ट्रेलियाले पनि आज आफ्ना नागरिक नेपालबाट लैजाँदै

काठमाडौँ- जर्मनी, फ्रान्स र अमेरिकापछि अस्ट्रेलियाले पनि आफ्ना नागरिक नेपालबाटै लैजाने भएको छ। अस्ट्रेलियाले चार्टर्ड फ्लाइटमार्फत बुधबार साँँझ आफ्ना नागरिक फिर्ता लैजाँदै छ।

नेपाल एयरलाइन्सको वाइड बडी जहाजमार्फत २ सय ५० अस्ट्रेलियन नागरिक साँझ साढे ५ बजे काठमाडौँबाट यात्रा सुरु गरी मलेसियाको क्वालालाम्पुर  हुँदै अस्ट्रेलिया पुग्नेछन्। नेपालका विभिन्न स्थानमा अलपत्र परेका अस्ट्रेलियन नागरिकलाई घरेलु विमानमार्फत काठमाडौँमा उद्धार गरिएपछि उनीहरुलाई नेपाल एयरलाइन्सको जहाजमार्फत अस्ट्रेलिया लैजान लागिएको हो। वाइडबडीमा चालक दलका २४ सदस्य रहनेछन्।

कोरोना भाइरसको विश्वव्यापी महामारी र नेपालमा ९ दिनयता जारी लकडाउनका कारण विभिन्न देशले आफ्ना नागरिक स्वदेश फिर्ता गरिरहेका छन्। कतार एयरवेजको चार्टर्ड विमानमार्फत मंगलबार अमेरिकाले ३ सय ४ जना नागरिक स्वदेश फिर्ता लगेको थियो। यसैगरी फ्रान्स र जर्मनीले करिब ९ सय यात्रु नेपालबाट लगेका थिए, चार्टर्ड विमानमार्फत। दुवै देशले कतार एयरवेजकै प्रयोग गरेका थिए। विभिन्न देशले आफ्ना नागरिक नेपालबाट लगिरहँदा नेपालले भने विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन चासो देखाएको छैन। बरु लकडाउन सुरु गर्नुभन्दा केही दिनअघि नै नेपाल आउन नेपाली नागरिकलाई समेत प्रतिबन्ध लगाइएको थियो।

नेपालमा जारी लकडाउन कम्तिमा चैत २५ गतेसम्म रहने छ।

चैत १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्