कोभिड–१९ उपचारबारे ‘फिल्ड रिपोर्ट’

बलम्बुमा युद्धस्तरले काम हुँदैछ तर जुटाउन सक्ला सरकारले विशेषज्ञ डाक्टर?

बलम्बुमा युद्धस्तरले काम हुँदैछ तर जुटाउन सक्ला सरकारले विशेषज्ञ डाक्टर?

काठमाडौँ– प्रायजसो सरकारी अस्पतालमा कोभिड- १९ को उपचार जोखिमपूर्ण भएको भन्दै चर्को विरोध हुन थालेपछि सरकारले बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताललाई कोभिड-१९ को उपचारका लागि विशेष अस्पताल निर्माण गर्ने घोषणा गर्‍यो।

सीमित साधन स्रोत र जनशक्तिमा कोभिड–१९ का र शंकास्पद बिरामीलाई उपचार गर्दा  अन्य रोगका बिरामी, चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नै जोखिममा पर्ने भन्दै सरकारी अस्पतालले गरेको गुनासो सरकारले थेग्न सकेन।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण समन्वय समितिले कोभिड–१९ को उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्ने घोषणा गर्‍यो।

तर, घोषणा कार्यान्वयनको गति भने सुस्त रहेको र तत्काल सयौँ बिरामीको उपचार गर्नु परेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्माणको जिम्मा लिएको उक्त अस्पताल तयार नहुने हो कि भन्ने आशंका पनि छ।

घोषणा गरिएको १० दिनपछि कार्यान्वयको अवस्था र चुनौतिबारे ‘फिल्ड’ मै पुगेर हामीले तयार पारेको यो रिपोर्ट…..


बलम्बुस्थित नेपाल एपीएफ अस्पताल। सबै तस्बिहरु- रविन आचार्य

यतिबेला हामी ललितपुरको सानेपास्थित कार्यालयबाट झण्डै ८ किलोमिटर टाढा थानकोटतर्फको सुनसान सडक हुँदै बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालको गेटमा आइपुगेका छौँ।

चर्को घाम छ‍‍!

सर्जिकल मास्क र पञ्जासहित खटिएका सुरक्षाकर्मीहरुले हाम्रो निधारतर्फ ‘थर्मल गन’ तेर्स्याउँछन्। ज्वरो नाप्छन्। कोभिड–१९ को परीक्षणको पहिलो चरण हो यो। सेनिटाइजरका थोपा हाम्रो हातमा पार्छन्। कोभिड–१९ लाई लिएर सुरक्षाकर्मी सचेत भएको बुझ्न कठिन छैन।

केहीबेरको आन्तरिक सोधपुछपछि अस्पतालको गेटभित्र प्रवेशको अनुमति दिइन्छ हामीलाई। गेट नजिकै ‘फ्लू क्लिनिक’का लागि हालै एक पक्की टहरो निर्माण गरिएको छ। कोभिड–१९ को परीक्षणको दोस्रो चरणमा बिरामीको रुघाखोकी हेरिने भएकाले हतार–हतार यो टहरो निर्माण गरिएको हो।

क्लिनिकमा बिरामीको आउजाउमा सहजता थप्न सशस्त्र प्रहरीका जवानहरु धमाधम सम्पर्क बाटो जोड्दै छन्, ठूलो बाटोबाट। कोही पाखुरा कस्दै खन्दैछन्, कोही इँट्टा जोड्दै छन् र कोही प्लास्टर गर्दै छन्।

टहरोभित्र ‘पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट’(पीपीई) सहित एक स्वास्थ्यकर्मी बिरामी जाँचको पूर्वअभ्यास गरिरहेको जस्तो देखिन्छन्।

गेटभन्दा अघि ठूलो बाटोको दायाँतर्फका भवनहरु एक दिनअघि मात्रै खालि गरिएका छन्। यहाँस्थित सशस्त्र प्रहरीको उपत्यका हेर्ने ९ नम्बरको बाहिनीको ब्यारेक रातारात सारियो।

‘एकाएक बसाइ सर्नु पर्ने भयो। बसाइ सर्न सहज हुँदैन, तर आफूहरुले दुःख खेप्दा राष्ट्रलाई आइपरेको संकट टर्छ भने त्यो नै सही भन्दै उनीहरु गए,’ सशस्त्र प्रहरीका एक जवान भन्छन्।

स्वस्थ वातावरण, खुल्ला ठाउँ, ठूला भवनहरुमा बसिरहेको बाहिनी परिवार अहिले सानो गौचरणको साँगुरो ठाउँमा अटाउन बाध्य भएको छ।

बाहिनी सरेपछि खाली भएका भवनहरुदेखि थोरै अघि बढ्दा दायाँतर्फ सशस्त्र प्रहरी बलको हाल सञ्चालित अस्पतालका भवनहरु देखिन्छन्। सुनसान छ यहाँको वातावरण।

कोभिड–१९ को उपचारका क्रममा अस्पतालका यी भवनहरुलाई प्रशासनिक तथा व्यवस्थापनका लागि प्रयोग गर्ने तयारी भएको छ।

तर दायाँ भागमा रहेका घर र भवनहरुतर्फ मोडिँदा फरक दृश्य देखिन्छन्। भवनहरुका प्राय सबै कोठाहरु बाख्लो संख्यामा सशस्त्र प्रहरी र बाहिरबाट खटिएका सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन लगायतले भरिएका छन्।

माथिल्लो भेगमा रहेका दुई वटा घरका कोठाहरुलाई चिकित्सक र नर्सहरु बस्न योग्य बनाइँदै छ। ती घरहरुका विपरित दिशामा रहेका दुई ठूला भवनहरुको रुप बदलिँदै छ।

अर्थात कोभिड–१९ पुष्टि भएका र त्यसबाट शंकास्पद बिरामीको उपचारका लागि १ सय २० बेडको अस्पताल तयार पारिँदैछ।

सशस्त्र प्रहरी बलका जवान र बाहिरबाट खटिएकाहरुको दैनिकी जतिसक्दो युद्धस्तरमा काम गर्छन् र त्यही सुत्छन्। बाहिर निस्कने अनुमति छैन उनीहरुलाई।

वर्षौँदेखि मर्मत सम्भारको अभावमा जीर्ण बनेका यी भवनहरुलाई कोभिड-१९ को उपचारका लागि सुविधा सम्पन्न अस्पताल बनाउन उनीहरु लागिपरेका हुन्।

सामान्यतया कुनै पनि भवनको मर्मत सम्भारका क्रममा  एकपछि अर्को काम सम्पन्न गरिन्छ। तर यहाँ सबै काम एकैपटक र एक गतिमा भइरहेको छ।

यी भवनहरुमा सशस्त्र प्रहरी बल ९ नम्बरको बाहिनीले आफ्नो कार्यालय सञ्चालन गर्दै आएको थियो। यस्तै त्यहाँ सशस्त्र प्रहरी बलकै प्राविधिक तालिम शिक्षालय र ‘वर्क सप’ सञ्चालित थियो।

तर सरकारले यी सबै भवनलाई कोभिड–१९ को उपचारका लागि तयार पार्ने घोषणासँगै सशस्त्र प्रहरी बलका यी सबै कार्यालयहरुलाई रातारात अन्त सारियो।

यी ठूला भवनहरु नजिकै रहेका स–साना दुई वटा टहरालाई कोभिड–१९ को उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न आईसीयु बनाइँदै छ। काम निरन्तर चलिरहेको छ।

यी टहरामा सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पुनःस्थापना केन्द्र थियो। त्यो पनि हट्यो। त्यहाँ रहेका व्यक्तिहरुलाई विभिन्न अस्पतालमा हतार–हतार स्थानान्तरण गरियो।

यता भारतबाट समेत कामदार झिकाएर टहरालाई आईसीयुमा बदल्ने प्रयास भएको देखिन्छ। तर यी दुई ठूला भवनहरुको पछिल्तिर रहेको सशस्त्र प्रहरी बलको ‘डग हाउस’ भने ठाउँ अभावले अन्त सर्न सकेन।

अस्पतालका निर्देशक हरिश्चन्द्र अधिकारी कोभिड–१९को उपचारका लागि अस्पताल निर्माणका क्रममा ढिलो नहोस् या कुनै कमि कमजोरी नहोस् भन्दै निरन्तर निरक्षणमा खटिरहन्छन्।

सरकार, नेपाली सेना लगायतसँगको समन्वयका लागि एकपछि अर्का बैठकहरु सक्दै उनी निर्माणाधीन अस्पतालको अनुगमनमा निस्कने गरेको निर्माणमा खटिने गरेकाे सशस्त्र प्रहरीका एक जवान बताउँछन्।

तर अस्पताल निर्माणको पूर्ण जिम्मेवारी लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु भने यो बीचमा एक पटक मात्रै अस्पताल निर्माणको अवस्था बुझ्न पुगेका छन्।

हालकै गतिमा काम भएमा यी भवनहरुलाई अस्पतालको रुप दिन अब धेरै समय लाग्दैन।

तर भौतिकपूर्वाधार मात्रै निर्माण गरेर कोभिड–१९ का उपचारका लागि अस्पताल योग्य हुँदैन। अस्पताल सामु थुप्रै चुनौती छन्। सबैभन्दा ठूलो चुनौती हो-उपचारका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन। मन्त्रालयसँग के छ त योजना ?

जनशक्ति तथा उपकरण कहिलेसम्म व्यवस्थापन गर्न सक्षम होला? यो प्रश्नको जवाफ खोज्दै हामी मन्त्रालय आइपुगेका छन्।


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा उक्त अस्पताललाई कोभिड-१९ को उपचारका लागि योग्य बनाउन उपकरण खरिद र आईसीयु निर्माणका लागि १२ करोड ५० लाख बजेट विनियोजन गरिसकिएको र त्यसअनुसार काम भइरहेको बताउँछन्।

त्योसँगै जनशक्तिको हकमा सशस्त्र प्रहरीबल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरु जुटाउने तयारी भएको उनको भनाइ छ। त्यतिले नपुगे करारमा भए पनि चिकित्सक र नर्सहरु भर्ना गरी उपचार अघि बढाउने डा. देवकोटा बताउँछन्।

तर डा. देवकोटाले भने जस्तो जनशक्ति व्यवस्थापन सहज छैन, सशस्त्र प्रहरी बलसँग हाल ६८ जना चिकित्सक र ६८ जना नर्सहरु छन्।

सरकारी अस्पतालले आफैले विशेषज्ञ चिकित्सकको अभाव झेलिरहेका छन्। स्वास्थ्य मन्त्रालयले हालै कोभिड-१९ को उपचारका लागि १४ जना विशेषज्ञ चिकित्सक करारमा मागेकोमा १ जनाले मात्रै आवेदन दिए।

मन्त्रालयले फेरि पनि करारमा चिकित्सक माग्ने तयारी गरेको छ। तर छोटो अवधिमा अब के थप चिकित्सक सेवा दिन आउँछन् त? मन्त्रालयका अधिकारीलाई नै त्यसमा विश्वास छैन।

चैत्र १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू