अमेरिकामा बस्ने नेपाली भन्छिन्- कोही पनि नआत्तिनुहोस्

विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढ्दै गएको छ।

कोरोना भाइरस संक्रमणको हालको इपिसेन्टर अमेरिकामा नयाँ संक्रमण तथा मृत्युले मंगलबार नयाँ उचाइ लिएपछि चिन्ता थप सघन बनेको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा सात सय २६ जनाको मृत्यु भएको छ।

योसँगै अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ४ हजार एक सय पुगेको छ भने एक लाख ८९ हजार ८८६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ।

यसै सन्दर्भमा हामीले करिब चार वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी विराटनगरकी पूजन पोखरेलसँग कुराकानी गरेका छौँ।

१) अमेरिकामा अहिले तपाईँहरुको अवस्था कस्तो छ? जनजीवन कतिको प्रभावित छ?

अहिलेको परिस्थितिमा यहाँको अवस्था भन्नुपर्दा कठीन नै छ। दैनिक जीवनमा एकदमै असर परेको छ। दिनभर घरमै बसेर मानिसहरुलाई एकप्रकारको मानसिक तनाव नै भएको छ। म आफै दिनको पाँच पटक कोरोनाको संक्रमण दर कतिले बढ्यो भने वेबसाइट हेर्ने गर्छु।

सबै स्कूल, कलेजहरु बन्द भएका छन्। आधाभन्दा धेरै स्कुल र कलेजहरुले अनलाइन क्लास सुचारु गरेका छन्। केही ग्रोसरी स्टोर बाहेक सबै पसल कारखाना बन्द भएका छन्। चामल र अन्य खाद्यान साथै ट्वाइलेट पेपर, स्यानिटाइजर लगायत धेरै कुराको अभाव भएका कारणले जनजीवनमा निकै असर परेको छ।

खालि सडक।

२) अहिले र पहिलेको अवस्थामा के भिन्नता छ ? औषधिहरु सजिलै पाइन्छ?

अहिले मानिसहरु घरमै बसेका छन्। बाटोमा थोरै मात्र गाडी गुडेको पाइन्छ। आफूलाई दैनिक जीवनमा चाहिने सामान लगायत औषधि पाउन लगभग पाँच वटा पसल डुल्दा पनि पाउने निश्चित हुँदैन। दिनदिनै संक्रमणदर बढिरहेका कारणले गर्दा अलिअलि खुलेका पसलहरु पनि बन्द हुन थालेका छन्।

३) कोरोनाबाट बच्न के–के  गर्दै हुनुहुन्छ ? सामाजिक भेटघाट छ कि छैन ?

दुई हप्तादेखि घरमै बसिरहेका छौँ। घरहरु सफा राख्ने, छिनछिनमा तातो पानी खाने, स्यानिटाइजर प्रयोग गरिरहेका छौँ। यहाँको सरकारले १० जना भन्दा बढी मान्छे भेला हुने कार्यक्रममा रोक लगाएको छ, त्यसैले हामी कतै पनि गएका छैनौँ। होलीमा पनि सबै कार्यक्रम स्थगित भएको थियो।

४) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँका नागरिकलाई १ ट्रिलियन डलर बाँड्ने कुरा थियो, के छ?

ट्रम्पले बाँड्ने भनेको कुरा सत्य नै हो। यहाँका नागरिकलाई एक/एक हजार डलरको चेक पठाउने भन्ने खबर छ। तर अहिलेसम्म रकम चाहिँ पाएका छैनन्।

५) त्यहाँको सरकारले तपाईँहरुको लागि चाहिँ के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?

हामी अन्तर्राष्ट्रिय विद्यार्थीका लागि चाहिँ कलेज फी कम गरिदिए हुन्थ्यो जस्तो लाग्छ। त्यता पनि लकडाउन छ, घरबाट पैसा माग्न सक्ने अवस्था पनि छैन। हामी विद्यार्थीको लागि चाहिँ गाह्रो हुने रहेछ।

६) घरमा बस्दा स्वस्थ रहनका लागि के –के गर्दै हुनुहुन्छ ?

योगा त गरिन्छ, बिहानीको समयमा। तर अहिले मानसिक तनाब बढेकाले खासमा केही गर्नै मन लाग्दैन। छिटोभन्दा छिटो सबै कुरा नर्मल होस् भनेर प्रार्थना गर्छौँ हामी।

७) यस्तो विषम परिस्थितिमा तपाईँलाई नेपाल आउन मन छ कि त्यतै बस्न चाहनुहुन्छ ?

अहिलेको अवस्थामा त नेपाल आउन मन छैन नै भनुँम्। यस्तो बेलामा हामीले आफ्नो लागिभन्दा पनि सबैलाई भलो हुने सोच्नु पर्छ। त्यहीमाथि अन्तर्राष्ट्रिय उडानहरु पनि केही समयका लागि स्थगन भएका छन्। हामी जहाँ छौँ, सावधानी अपनाएर स्वस्थ भएर बसौँ।

८) नेपालमा पाँचौँ पटक कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ, केही भन्न चाहनुहुन्छ?

नेपालमा हाल लकडाउनको व्यवस्था पनि लम्बाइएको छ। कोही पनि नआत्तिनुहोस्। लकडाउनमा केही गाह्रो भए पनि त्यो हाम्रो लागि एकदमै राम्रो हो। आज केही समय घरभित्र बस्न सकेमा भोलि आनन्दले बाहिर जान सक्छौँ। आफूले सकेको गर्ने हो।

डाक्टर नर्सहरु आफ्नो ज्यानको बाजी लगाएर हाम्रो लागि दिनरात खटिरहेका छन्। उहाँहरुलाई सहयोग गर्नका लागि भए पनि हामी घरमै बसौँ। सरकारको नियम सँगसँगै आफ्नो स्वास्थ्यको ख्याल सबै जनाले आफै गर्नुपर्छ।

चैत्र १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू