अहोरात्र फिल्डमा खटिरहेका प्रहरीभित्र कोरोनासँग लड्ने कस्तो छ तयारी

काठमाडौँ – जनतालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सरकारले सुरु गरेको लकडाउन आज नवौँ दिनमा आईपुगेका  छ। लकडाउनलाई कार्यान्वयन गर्न प्रहरी फिल्डमा खटिएका छन्।

लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले कारबाही गरिरहेका तस्विरहरु सामाजिक सन्जाललगायत सन्चार माध्यममा छ्यापछ्याप्ती देखिन्छन्। सामाजिक दुरी कायम गर्दै विश्व व्यापी महामारी ल्याएको कोरोना भाइरसलाई नियन्त्रण तथा रोकथाम गर्ने नीति सरकारले लिएपनि प्रहरीहरुमा सामाजिक दुरी कायम गरेर आफ्ना कार्य सम्पादन गर्ने स्थिती देखिँदैन।

भलै अहिलेसम्म नेपाल प्रहरीमा कसैमा कोरोनाको संक्रमण देखिएको छैन तर उनिहरु जहिले पनि उच्च जोखिममै हुन्छन्, संगठनभित्रै र आम मानिससँग नियमित सम्पर्कमा रहनु पर्ने भएकाले।

काठमाडौँ उपत्यकाभित्र मात्र करिब १० हजार प्रहरीको दरबन्दी छ र लगभग त्यही संख्यामा उनिहरु कार्यरत छन्।

महानगरीय प्रहरी कार्यालय- मेट्रो प्रमुख विश्वराज पोखरेल कोरोनाको जोखिमलाई मध्यनजर गरि संगठनले उपत्यकाभित्रको तयारि गरेको जानकारी गराए। उनका अनुसार काठमाडौँ उपत्यकाभित्र एक सय ५० को संख्यामा आईसोलेसन वार्ड तयार गरिएको छ। नजिकै प्रहरी प्रधान कार्यालय पनि रहेकाले त्यहाँ पनि ५० वटा आईसोलेसन वार्ड तयार गरिएको छ।

प्रहरी अस्पतालमा ३० वटा आईसोलेसन बेड छन्। प्रहरी नायब महानिरिक्षक-डीआईजी पोखरेल परिस्थितीअनुसार लड्न संगठन तयार रहेको बताउँछन्।

भन्छन्- हामीसँग विभिन्न स्थानमा खाली ठाउँहरु छन् जसममा हामीले आईसोलेसन वार्डहरु तयार गर्न सक्छौँ ।

प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले पनि सम्भाव्य परिस्थितीलाई ख्याल गर्दै देशभरका विभिन्न स्थानमा संगठनले आन्तरिक प्रयोजनका लागि आईसोलेसन वार्डहरु तयार गरिरहेको बताए। देशभर ७५ हजारभन्दा बढीको संख्यामा नेपाल प्रहरी कार्यरत छन्।

नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएकामा एक जना निको भइसकेका छन् भने बाँकीको उपचार भइरहेको छ। यी सबै जना विदेशबाट नेपाल भित्रिएका हुन्। उनिहरु नेपाल आउँदा सवार विमानका अन्य यात्रुको खोजी गरेर प्रहरीले उनिहरुलाई क्वारेन्टाइनमा राखिरहेको छ। नेपालमा कोरोना संक्रमणको पहिलो विरामी जनवरी २३ तारिखमा भेटिएको थियो।

पछिल्लो १० दिनमा बाँकि ४ जना संक्रमित फेला परेका हुन्। उनिहरु पछिल्लो दुई साताभित्र विभिन्न देशबाट नेपाल भित्रिएका थिए।

चैत्र १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू