मेडिकल सामग्री भ्रष्टाचारबारेको काठमान्डुप्रेसको रिपोर्ट साइटबाटै कसले उडायो?

काठमाडौँ- काठमाडौँबाट प्रकाशित हुने एक अनलाइन काठमान्डुप्रेस डट कमले आफ्नो न्यूजपोर्टलमा प्रकाशित एक सामग्री आफ्नो जानकारीबिना हटाइएको भन्दै यसको छानबिन गरिरहेको जानकारी दिएको छ।

चीनबाट मेडिकल सामग्री ल्याउने सम्झौताबारेको एक विशेष रिपोर्ट मंगलबार साँझ न्यूजपोर्टलमा प्रकाशित भएकामा बिहान १० बजे साइटबाट प्रकाशक तथा सम्पादकीय टिमको जानकारीबिनै हटाइएपछि प्रधान सम्पादक कसमस विश्वकर्मा तथा प्रबन्ध सम्पादक गोविन्द परियार छक्क परेका थिए। उक्त विशेष रिपोर्टमा काठमान्डुप्रेसले प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलि, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज रिमाल, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा प्रज्वल पोखरेलसहित चिनियाँ सम्झौतामा दोषी रहेको दाबी गरेको थियो।

काठमान्डुप्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारले देशसञ्चारसँग कुरा गर्दै यो स्वतन्त्र पत्रकारिताका लागि अत्यन्तै ठूलो चुनौती भएको र यसको अनुसन्धान गरिरहेको जानकारी दिए। ‘सम्पादक तथा सम्पादकीय समूहको जानकारीबिनै कुनै अर्को समूहले हाम्रो न्यूजपोर्टलको सामग्री हटाएको छ, यो पत्रकारितामाथिकै चुनौती हो, हामी यसबारे अनुसन्धान गर्दैछौँ,’ उनले भने।

काठमान्डुप्रेसकाे न्युज पोर्टल सिरान टेक्नोलोजीले निर्माण गरेको हो।

सरकारले चिनियाँ मेडिकल सामग्री ल्याउने यसअघिको सम्झौता बुधबार रद्द गरेको छ भने सामग्री ल्याउन सम्झौता गरिएको कम्पनी ओम्नीको धरौटी जफत गर्नुका साथै उसलाई कालो सूचीमा पनि राखेको छ।

काठमान्डुप्रेसको सामग्री हटाइनुका साथै करिब ३ घन्टा न्युजपोर्टल नै नचल्ने बनाइएको थियो भने बुधबार दिउँसो बल्ल उक्त विशेष सामग्री फेरि रिपोस्ट गरिएको थियो।

 

चैत्र १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू