प्रेस युनियनद्वारा पत्रकारलाई मास्क, पञ्जा लगायतका सामग्री वितरण

मोरङ– नेपाल प्रेस युनियन मोरङले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन पत्रकारहरुलाई अत्यावश्यक सुरक्षा सामाग्री उपलब्ध गराएको छ।

लकडाउनको समयमा समेत समाचार संकलनमा चौतर्फी पुग्ने पत्रकारहरुका लागि एन ९५ मास्क, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, सेनेटाइजर, टोपी लगायतका सामाग्री वितरण गरिएको युनियनका अध्यक्ष कुमार लुईटेलले जानकारी दिए।

युनियनका जिल्ला सचिव गोपाल पोखरेलका अनुसार समाचार संकलनका क्रममा पत्रकार उच्च जोखिममा रहने गरेकोले त्यसबाट जोगिनका लागि सचेत रहन ५० जनालाई पहिलो चरणमा सामान प्रदान गरिएको बताए।

उनले भने, ‘विराटनगरमा उपलब्ध पत्रकारलाई पहिलो चरणमा वितरण गरेका छौँ। अब बिहीबार पूर्वी मोरङबाट काम गर्ने पत्रकारका लागि समान उपलब्ध गराउने छौँ।’

युनियनका लागि ती सामग्री फुजिमा आयल कम्पनी प्रालिबाट प्राप्त भएको बताएका पोखरेलले भने, ‘बाँकी केही सरसमान युनियनले खरिद गरेको हो।’

सामाग्री वितरणका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष विक्रम लुइटेलले पत्रकारका लागि आवश्यक सामाग्री वितरण गरेर राम्रो काम गरेको बताए।

परिस्थिति अनुरुप सचेत र सतर्क रहेर काम गर्न सुझाव दिँदै अध्यक्ष लुइटेलले भने, ‘सकभर घर भित्रैबाट सुरक्षित रुपमा फोन र इन्टरनेटबाट समाचार संकलन गर्ने प्रयास गरौँ। यतिबेला आफू पनि सुरक्षित रहेर काम गर्नुपर्ने अवस्था छ। तथापी आवश्यक सहयोगका लागि महासंघ पत्रकारको पक्षमा रहेको छ।’

चैत १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्