मेडिकल सामग्री भ्रष्टाचारको समाचार हटाउनु ‘पत्रकारितामा पीडादायी घटना’

काठमाडौँ – काठमाडौँबाट सञ्चालन हुँदै आएको अनलाइन काठमान्डुप्रेस डट कमले नेपाली पत्रकारितामा आफूहरुले एउटा अनौठो पीडा भोग्नु परेको उल्लेख गरेको छ।

आफ्नो न्यूजपोर्टलमा प्रकाशित एक सामग्री आफ्नो जानकारी बिना हटाइएको सम्बन्धमा बिहीबार सो अनलाइनका प्रधान सम्पादक कसमस बिश्वकर्माले विज्ञप्ति जारी गरेर वेबसाइट निर्माता कम्पनीकै मिलेमतोमा आफूहरुको सामग्री साइटबाट हटाइएको बताएका हुन्। उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालका छोरासहित प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलि चिनियाँ सम्झौतामा दोषी रहेको दाबी काठमान्डुप्रेसले गरेको थियो।

प्रधान सम्पादक विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बुधबार बिहान हाम्रो साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज् प्रा. लि. को प्यारेन्ट कम्पनी एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले फोन गरेर–त्यो समाचार हटाइदिनुपर्‍यो, हामीलाई माथिबाट ठूलो दबाव आयो भन्ने अनुरोध गर्नुभयो। हामीले प्रकाशित भएको समाचार हटाउन नमिल्ने, बरु समाचारका विषयमा कसैको केही भन्नु छ, खण्डन गर्नु छ भने लिखित रुपमा हामीलाई प्रतिक्रिया पठाउन आग्रह गर्‍यौँ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बिहान १०ः३० बजेतिर शिरान टेक्नोलोजिज्का प्रज्ज्वल महर्जनले फोन गरेर–त्यो समाचार त हटाउनैपर्‍यो, भन्नुभयो। उहाँलाई पनि हामीले समाचार हटाउन नमिल्ने जवाफ दियौं। र, साइटमा तलमाथि केही नगर्नुहोला भनेर सचेत गरायौं। त्यसको दुई मिनेटपछि समाचार साइटबाट हटाइयो।’

समाचार हटाइएपछि आफूहरुले ढकाल, शर्मा र महर्जनलाई पटकपटक फोन तथा म्यासेज गर्दा पनि कुनै प्रतिक्रिया नआएको प्रधान सम्पादक विश्वकर्माले बताएका छन्। समाचार हटाइएकोमा कानूनी प्रक्रियामा जान्छौं भनेपछि उनीहरुले फोन उठाएर ‘हामी हेर्छौं’ भनेको विश्वकर्माले उल्लेख गरेका छन्।

चीनबाट मेडिकल सामग्री ल्याउने सम्झौताबारेको एक विशेष रिपोर्ट मंगलबार साँझ न्यूजपोर्टलमा प्रकाशित भएकामा बुधबार बिहान १० बजे साइटबाट प्रकाशक तथा सम्पादकीय टिमको जानकारीबिनै हटाइएको काठमान्डुप्रेसको भनाइ छ।

हटाइएको समाचार पुनः प्रकाशन गर्नुको सट्टा बुधबार दिउँसो करिब २ बजेदेखि ४ बजेसम्म समाचार अपडेट नै गर्न नमिल्ने गरी साइट ह्याक गरेको विज्ञप्तिमा उल्लेख छ। फेरि मेसेज गरेर त्यसमा पनि कानूनी उपचार खोज्ने जानकारी दिएपछि बल्ल समाचार प्रकाशन गर्न मिल्ने बनाएको प्रधानसम्पादक विश्वकर्माले बताएका छन्।

विज्ञप्तिमा उल्लेख गरिएको, ‘वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैको बारेमा प्रकाशित समाचार हटाएको सायद यो नै पहिलो घटना होला। हामीले यस घटनालाई पत्रकारितालाई नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गर्ने गलत कदमको रुपमा लिएका छौं।’

अघि भनिएको छ, ‘समाचारमा चित्त नबुझे लिनुपर्ने बाटोको बारेमा कानुनले स्पष्ट गरेकै छ । हामी हाम्रो समाचारमा कहीँ पनि त्रुटि वा कमजोरी भए, त्यसलाई सच्याउन वा कानूनी सजाय भोग्न तयार नै छौँ । यस घटनामा कानूनी कदम चाल्न पनि हामीले विज्ञहरूसँग सल्लाह गरिरहेका छौँ।’

चीनबाट मेडिकल सामग्री ल्याउने सम्झौताबारेको काठमान्डुप्रेसको उक्त विशेष रिपोर्टमा प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलि, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज रिमाल, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा प्रज्वल पोखरेलसहित चिनियाँ मेडिकल उपकरण सम्झौतामा दोषी रहेको दाबी गरेको थियो।

यसैबिच नेपाल पत्रकार महासंघले प्रधानमन्त्रीको सचिवालयबाट काठमान्डुप्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहाकारले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउनुका साथै केही समय कुनै पनि समाचार पोष्ट गर्न नमिल्ने गरी अनलाइन अवरुद्ध पारिएको काठमान्डुप्रेसले महासंघलाई जानकारी गराएको हो ।

महासंघले राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रता विरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्