कोरोनाका कारण ३४६ वर्षपछि बज्रयोगिनीको जात्रा रोकिने

काठमाडौँ–  यस वर्ष साँखुको उग्रतारा बज्रयोगिनी माईको जात्रा कोरोना भाइरसको संक्रमणका कारण स्थगित हुने भएको छ।

विश्वभर फैलिएको कोभिड १९ भाइरसको कारण तीन हजार सय २० वर्षअघि सुरु भएको बज्रयोगिनी माईको जात्रा दोस्रो पटक स्थगित हुने भएको हो।

सरकारले यही चैत २५ गतेसम्म लक डाउन घोषणा गरेको त्यसपछि पनि थपिने सम्भावना रहेकाले २६ गतेदेखि सुरु हुने जात्रा स्थगित गर्ने निर्णय शंखरापुर नगरपालिकाले गरेको छ। जात्राका लागि निम्तो भने बाँडिसकिएको छ। 

बुधबार नगरपालिकाले सर्वपक्षीय छलफल गरेर जात्रा स्थगित गर्ने लिखित निर्णय नै गरेको शंखरापुर नगरपालिकाका मयेर सुवर्ण श्रेष्ठले जानकारी दिए।

कोभिड १९ को संक्रमणबाट बच्न भिडभाड गर्न नहुने हुँदा ऐतिहासिक जात्रा नै रोक्ने सबैको रायपछि नगरपालिकाले क्षमा पूजा गर्ने तर विधिवत रुपमा जात्रा मनाउने निष्कर्षमा पुगेको हो।

सरकारले २५ जनाभन्दा व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ। ब्रयोगिनी माईको जात्रा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन सुरु भएर वैशाख कृष्ण अष्टमीसम्म आठ दिन चल्ने गरेको छ। 

साँखुका संस्कृतिविद् प्रकाशमान श्रेष्ठका अनुसार यसअघि राजा प्रताप मल्लको मृत्यु भएको वर्ष नेपाल संवत् ७९४ (वि.. १७३१) अर्थात् ३४६ वर्षअघि बज्रयोगिनीको जात्रा स्थगित भएको थियो। जात्रा चैत शुक्ल पूर्णिमाका दिन सुरु हुने भए पनि राजा प्रताप मल्लको निधन चैत शुल्क एकादशीका दिन भएको थियो।

श्रेष्ठले देश सञ्चारसँग भने, ‘प्रताप मल्लपछि उनका छोरा नृपेन्द्र मल्ल नेपालका राजा भए। जात्रामा राजा स्वयम् उपस्थित हुनुपर्ने हुँदा उनले आफ्नो बाबुको शोकमा जात्रा नचलाउन आदेश दिए। त्यसबेला ब्रजयोगिनीको जात्रा रोकिएको लिखित इतिहास मेरो हातमा छ। त्यसभन्दा अघि वा पछि जात्रा रोकिएको अहिले नै हो।

२०७२ सालमा भत्किएको ब्रयोगिनीको पेगोडा शैलीको भव्य मन्दिर प्रताप मल्लले नै बनाएका थिए। त्यस बेला सेतोमत्छिन्द्रनाथको जात्रा सुरु भएको चौथो दिन भइसकेको भए पनि प्रताप मल्लको निधनको कारण रोकिएको थियो। 

साँखुको बज्रयोगिनी माइको जात्रा कलिगत सम्बत् १८०१ मा सुरु भएको संस्कृतिविद् श्रेष्ठको दाबी छ।

उनी भन्छन्, ‘बज्रयोगिनीको जात्रा कलिगत सम्बत् १८०१ मा सुरु भएको शिला लेखहरुबाट प्रष्ट हुन्छ। अहिले कलिगत सम्बत् ५१२१ हो। यस हिसाबले बज्रयोगिनीको जात्रा सुरु भएको तीन हजार तीन सय २० वर्ष पूरा भएको छ।

कसरी मनाइन्छ बज्रयोगिनीको जात्रा?


पाँच थकाली गुर्जुसहित बज्रयोगिनी देवीलाई दाम, सुपारी स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार घुमाएर तान्त्रिक देवीको रुपमा रहेकी बज्रयोगिनीको पूजा अर्चाना गरिन्छ।

जात्रामा बज्रयोगिनी माइको मन्दिरबाट सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याधिनी स्वयम्भूको गरी चारवटा मूर्ति तल साँखु बजारमा झार्ने प्रचलन छ।

चार मूर्ति बजारमा झारेपछि ऐतिहासिक साँखु नगरका लप्सेफेदी, पालुबारी, गागल, इन्द्रेयणी चाँगुलगायत सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन अझै छ।

नायखीं बाजा बजाएर नगर परिक्रममा गरेर झ्याली पिट्दै साँखुका ऐतिहासिक आठवटा गाउँको कल्याण होस्, खेतीपाती राम्रो होस् तथा महानगरवासीमा सुखशान्ति मिलोस् भन्दै जात्रा भरिन्छ।

साँखुका एपी श्रेष्ठका अनुसार जात्रा सुरु गर्न नायखीं बाजाएपछि साँखु नगरभित्रका बासिन्दाले छालाका जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, ऋण असुल्न, हात्ती घोडा चढ्न नपाउने परम्परा छ।

जात्रा अवधिभर साँखु नगरवासीहरु सबै समान होउन भन्ने उद्देश्य जुत्ता लगाउन, छाता, घोडा ओड्न नपाउने परम्परा बसालिएको हो।

त्यस्तै जात्रा अवधिभर निर्माण कार्य गर्दा दुर्घटना भएर मानिसको मृत्यु सक्ने भएकाले घर बनाउन भत्काउन नपाइने चलन चलाइएको हो

बज्रयोगिनी माई बस्तीमा सवारी गराउँदा बालाजुको बाइसधारामा पनि मेला लाग्ने गर्छ। 

जात्रा प्रत्येक वर्ष चार टोल सुनटोल, इन्लाटोल, चलाखुटोल ढोल्नाटोल स्थानीयवासीले पालैपालो सञ्चालन गर्छन् यस वर्षको जात्रा चलाउने जिम्मा ढोल्नाटोल परेको भए पनि स्थगित भएको छ।

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्