परीक्षा दिन बेलायत पुगेका कम्तीमा २० जना नेपाली चिकित्सकहरु अलपत्र

बेलायतमा डाक्टर अमिर अवाल (कालो ज्याकेटमा)

काठमाडौँ –  बेलायतमा काम गर्न आवश्यक पर्ने लाइसेन्स परिक्षा दिन त्यहाँ पुगेका कम्तिमा २० जना नेपाली चिकित्सकहरु अलपत्र परेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि बेलायत र नेपाल दुवैले लकडाउन गरेपछि उनिहरु अलपत्र परेका हुन्।

आफन्तकोमा आश्रय लिइरहेका अमिर अवालले परिक्षामा सहभागी हुन आएकामध्ये धेरै जना पैसा तिरेर कोठामा बसिरहेको बताए। धुलिखेल अस्पतालमा कार्यरत अवालले भने- मसहित ६ जना आफन्त र एनआरएनका पदाधिकारीकहाँ आश्रय लिइरहेका छौँ। बाँकी सबै पैसा तिरेर बसिरहनु भएको छ।

बेलायतमा एक साता अघि लकडाउन सुरु भएको हो। यो कम्तिमा २१ दिनसम्म जारी रहने छ। नेपालमा १० दिनअघि सुरु भएको लकडाउन कम्तिमा चैत २५ गतेसम्म जारी रहने छ। सरकारले यसबीचमा नेपाल आउने सम्पुर्ण नियमित उडान बन्द गरिसकेको छ। सुवालका अनुसार उनिहरु गत फेब्रुअरीमा बेलायत पुगेका थिए। बेलायतमा चिकित्सकका रुपमा काम गर्न त्यहाँको प्लाप टु परिक्षा उर्त्तिण गर्नुपर्छ। त्यसअघि आईएलटिएस र प्लाप वान परिक्षा पास गर्नुपर्छ।

अवालले भने- नेपालबाट लाइसेन्स परिक्षा पास गरेपनि बेलायतमा त्यत्तिले मात्र काम गर्दैन। यहाँ आएर पनि लाइसेन्स परिक्षा पास गर्नुपर्छ।

उनका अनुसार प्लाप टुका लागि दुई हप्ताको कोर्स गरेपछि पाँच देखि ६ हप्ता प्राक्टिस गरेर मात्र परिक्षा दिन पाइन्छ। उनिहरुको प्लाप टु परिक्षा अप्रिल महिनाका लागि तय थियो।

तर, कोरोना भाइरसका कारण यो परिक्षा कम्तिमा पाँच महिनाको लागि स्थगित भएको छ।

अवालले आफुहरु अलपत्र परेको बताए।

उनले भने- यहाँ पैसा तिरेर बस्न निकै महँगो पर्छ। त्यसमा अहिले बेलायतमा कोरोना संक्रमण दर उच्च छ। हामीमध्ये केही विरामी भइहाल्यो भने त्यहाँ भन्दा बिजोक हुने ठाउँ हुन्न।

अवालले बेलायतस्थित नेपालि दुतावाससँग कुरा गरेपनि प्रतिक्रिया राम्रो नआएको बताए।

भने- दुतावासले नेपालबाट आएका डाक्टरहरु हुने खाने नै हुन्छन्। तत्काल सोचिहाल्नुपर्ने अवस्था छैन। तर स्थिति विग्रदै गयो भने हेर्छौ भनेको छ।

बेलायतले विभिन्न देशबाट आफ्ना नागरिकहरु फिर्ता ल्याइरहेको अवस्थामा नेपालबाट पनि फिर्ता ल्याउने सम्भावना भएकाले सरकारले नै पहल गर्दिए बेलायतबाट नेपाल जाने जहाजमा आफुहरु जाने सम्भावना भएको सुवाल बताउँछन्। बेलायतमा रहेका अन्य नेपाली विधार्थीहरु पनि स्वदेश फर्कने चाहेको उनले सुनाए।

 

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्