आन्दोलनमा उत्रिएका १८१ नेपालीलाई दशगजामै टेन्ट

नेपालगञ्ज-भारतको क्वारेन्टाइनमा जान नमानेर आन्दोलनमा उत्रिएका एक सय ८१ जना नेपालीलाई दशगजामै टेन्ट टाँगेर बस्ने व्यवस्था मिलाइएको छ ।

भारतका विभिन्न शहरबाट घर फर्किएका उनीहरु पाँच दिनदेखि नाका क्षेत्रमै अलपत्र थिए । नेपालगञ्ज जमुहाना नाकाको दशगजामा ४५ वटा टेन्ट टाँगेर उनीहरुलाई बस्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

‘अहिलेलाई व्यवस्थापन भयो। ४५ वटा टेन्ट टाँगेर व्यवस्थित तरिकाले बस्ने व्यवस्था मिलाइएको छ, प्रमुख जिल्ला अधिकारी खड्काले भने, झुल, खानेपानी, बत्तीको व्यवस्था मिलाइदैछ । स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वास्थ्य गर्छ ।’

कोरोना भाइरसको डरले देशभित्र पस्न नदिइएका उनीहरु पाँच दिनदेखि नाकामा अलपत्र पर्दा न स्वास्थ्य जाँच हुन सकेको थियो न त खाने बस्ने नै व्यवस्था थियो। नेपाल र भारतका अधिकारीहरुले भारतीय क्वारेन्टाइनमा लगेर राख्ने सहमति गर्दा उनीहरुले मानेका थिएनन् । ‘मरे पनि आफ्नै भूमिमा मर्छौ’ उनीहरुको एकसूत्रीय नारा थियो।

निरन्तरको छलफल र उपायहरुका बीचमा उनीहरुलाई दशगजामै टेन्ट टाँगेर राख्ने निर्णय गरिएको थियो । जबकी गएराती पौने एघार बजेसम्म उनीहरुलाई भारतीय क्वारेन्टाइनमा जान प्रमुख जिल्ला अधिकारीदेखि प्रदेश सांसद कृष्णा केसी नमुनाले सम्झाइकी थिइन्।

सम्झाउने क्रम बिहीबार पनि दिउँसोसम्म रह्यो। उनीहरुले भारत नजाने अडान नछाडेपछि अधिकारीहरुले कुनै उपाय देखेनन् र दशगजामै टेन्ट टाँगेका हुन् ।

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्