बेलबारीका जनप्रतिनिधिको एक महिनाको तलब विपद् व्यवस्थापन कोषमा

माेरङ– मोरङको बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिना बराबरको सेवा सुविधा विपद् व्यवस्थापन कोषलाई सहयोग गर्ने निर्णय गरेका छन्।

बिहीबार नगरपालिकाको बैठकपछि नगरले स्थापना गरेको कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए।

६० जना जनप्रतिनिधि रहेको बेलबारीमा कार्यरत छैठाैँ तह वा सोभन्दा माथिका कर्मचारीले १५ दिनको तलब र त्यस तहभन्दा तलका कर्मचारीले १० दिनको तलब बराबरको सहयोग कोषमा जम्मा गर्ने सहमति भएको मेयर सुवेदीले बताए।

नगरपालिकाले १५ लाख रुपैयाँबाट कोष स्थापना गरेको बताएका मेयर सुवेदीले भने, ‘कोरोना भाइरसका कारण जोखिम नफैलियोस् भन्नका लागि रकम खर्च हुनेछ। यसका लागि नगरपालिकाले राहत प्याकेजको समेत घोषणा समेत गरेको छ।’

नगरपालिकाले १५ वटा शय्यासहितको आइसोलेसन वार्ड तयार गरेको बताएका मेयर सुवेदीले तेस्रो मुलुकबाट आएका ९० जनाको तथ्यांक संकलन गरिसकेको जानकारी दिए।

उनले भने, ‘विदेशबाट आएकाहरुको स्वास्थ्य अवस्था नजिकबाट नियाल्दै आएका छौँ। उनीहरुमा कुनै समस्या देखिएको छैन।’

संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै तत्काल सर्वसाधारणलाई भीडभाड नगर्न आग्रह गर्दै आएको बताएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले विभिन्न स्थानमा किटनाशक औषधि छर्कने कार्य भइरहेको जानकारी दिए।

कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समितिसमेत गठन गरिएको छ। नगरपालिकाले सर्वदलिय बैठकले गठन गरेको समितिले राहत प्याकेज घोषणा गरेको छ। राहतका लागि नगरपालिकाले परिवार संख्यालाई ध्यानमा राखेर १५ देखि २५ किलो चामल, १ किलो नुन, डेढ किलोसम्म दाल र एक साबुन वितरण गर्ने निर्णय गरेको छ।

त्यसैगरि बेलबारी नगरपालिकाले एनएमबी बैंक शाखा कार्यालयको खाता नम्बर ०५४००६२१२४६०००११ सहयोगका लागि खुला गरेको जनाएको छ।

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्