प्रदेश-१मा ५९ जनाको स्वाब संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ

तस्बिर: देशसञ्चार

मोरङ-सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस कोभिड १९ को थ्रोट स्वाब संकलन कार्य जारी रहेको छ।

सोही क्रममा बिहीबार प्रदेश एकको विभिन्न स्थानबाट शंकास्पद ५ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार सोलुखुम्बुबाट ३ र ओखलढुंगाबाट २ जनाको स्वाब संकलन गरिएको छ।

यससंगै प्रदेश एकमा हालसम्म ५९ जनाको स्वाब संकलन गरिएको र त्यसमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। भाइरसको शंकास्पद ४५ जना पुरुष र १४ जनाको नमूना संकलन गरिएको डा. मेहताले जानकारी दिए।

डा. मेहताका अनुसार हालसम्म कोरोना भाईरसका शंकास्पद १ सय ८८ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन्। जसमा सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्वुुबाट समान पाँच, उदयपुर र पाँचथरबाट समान दुइजनाले नाम दर्ता गराएका हुन्।

त्यसैगरी हालसम्म प्रदेशमा ६ जना पुरुष र ५ जना महिला गरि कुल ११ जना आईसोलेसनमा भर्ना भएकाछन् । मन्त्रालयका प्रवक्ता डा. मेहताका अनुसार आईसोलेसनमा रहेका ४ जना भने डिस्चार्ज भएका छन्।

प्रदेशमा ४३ अस्पतालले ४ सय १ आईसोलेसन वेड तयारी अवस्थामा राखेको बताइएको छ। त्यसैगरी ३ सय ९७ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन्। फिभर क्लिनिकमा बिहीबार १ हजार ९ सय ४१ जना विरामी चेकजाँचका लागि पुगेको मन्त्रालयले जनाएको छ।

चैत्र २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्