लकडाउन लचिलो बनाउने सरकारको निर्णय, उद्योग र आयोजनाहरु चल्ने

फाइल तस्बिर

काठमाडौँ– सरकारले लकडाउन खुकुलो बनाएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई संञ्चालन गर्न दिने निर्णय गरेको छ।

यस्तै उद्योगभित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पूरा गरी सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगभित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए।

उनले अब तामाकोशी, मेलम्ची लगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योगभित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्न सकिने बताए।

त्यसैगरी हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले अत्यावश्यक औषधी, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिइने भएको छ।

यस्तै बैठकले नेपाल भारत सिमास्थित क्वारेन्टाइनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरी दुवैतर्फबाट आपसमा सहयोग गरी सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै सीमा पार गर्न दिने गरी व्यवस्था मिलाउने निर्णय गरेको छ।

स्वास्थ्य सामाग्री खरिदका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री खतिवडाले खरिद प्रक्रियाबारे छलफल तथा अनुसन्धान हुने बताए।

उनले ‘जी टु जी’मार्फत स्वास्थ्य सामाग्री किन्ने बारेमा पनि छलफल भइरहेको बताए।

उनले भने, ‘हामी कसैले भनेको मात्रै कुराबाट प्रभावित नहोऔँ। छलफल अनुसन्धान त हुन्छ नै त्योभन्दा महत्वपूर्ण कुरा त सामाग्री आयो, मान्छेको जीवन रक्षा भइरहेको छ । त्यसपछि महँगो पर्‍यो कि सस्तो पर्‍यो, विधि पुग्यो कि पुगेन भनेर हेर्ने कुरा छँदैछ।’

मन्त्री खतिवडाले अगाडी थपे, ‘यस्तो अवस्थामा सरकारी माध्यमबाटै खरिद गर्दा ल्याउन सजिलो हुन्थ्यो। हामीले छिमेकी मुलुकहरुसँग स्वास्थ्य सामाग्री हामीलाई यो यो चाहियो सहयोग गर्नुहोस् भनेर पठाएको पनि हो। तर दुई वटै छिमेकी मुलुकहरु आफै समस्यामा पनि भएको हुनाले आजसम्म पनि जीटुजीमा खरिद गर्न नसकेर निजी क्षेत्रलाई हामीले आह्वान गर्नु परेको हो।’

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्