मानिसलाई अफ्ठेरो पर्दा कसलाई पुकार्छ?

अनायासै सबैले पुकार्छन्, ‘हे भगवान!’ ‘हे अल्लाह!’ ‘हे प्रभु!’

यो यस्तो अवस्था हो, जतिबेला मानिसले आफूले सक्ने हरसम्भव प्रयास गरिसक्छ तर असफल हुन्छ। त्यसपछि उसले सम्झने भगवान हो। नेपाली समाजमा हामीले सुन्ने गरेका छौँ, ‘पशुपति नाथले रक्षा गर्छन्।’

यो हाम्रो संस्कृति हो। मानव जीवनको इतिहासमा यस्ता थुप्रै लोकथाहरु छन् जहाँ संकटको बेलामा मानिसको उद्धार भगवानले गरेका छन्। हिन्दु संस्कृतिमा मानिने ३३ कोटी देवताहरुमध्येमा कतिपय देवताहरु मानवलाई संकट पर्दा सुरक्षाको गर्नकै लागि परिचित छन्। यी भगवानको अस्तित्व हामी मठमन्दिरमा पाउने गरेका छौँ।

अहिले नेपाल लगायत विश्वले नै कोरोना भाइरसको महामारी खेपिरहेको छ। यसबाट जोगिन र जोगाउन स्वास्थ्यकर्मीहरु र सरकारले सक्ने प्रयास गरिरहेका छन्। उपचार पत्ता नलागेको यो अवस्थामा मानिस आत्तिरहेको छ। यो समयमा मनोवैज्ञानिक रुपले बलियो हुन भगवानप्रतिको आस्था अगाडि आउँछ।

‘नेपालमा पनि बेलाबेलामा यस्ता महामारी देखिइराखेको छ। मध्यकालीन समयमा विफरको प्रकोप थियो। यही समस्याले राजा जगतप्रकाश मल्लको पनि मृत्यु भएको थियो,’ सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ भन्छन्, ‘त्यही बेला नै उपत्यकाका तीनओटै राज्यमा शितलादेवी मन्दिर स्थापना गरिएको थियो।’

अहिले पनि आपतविपद्को समयमा शीतलादेवी मन्दिरमा पूजा आराधना गर्ने गरिन्छ। भक्तपुरमा यो देवीको मन्दिर हनुमानघाटमा रहेको छ। यस्तै भक्तपुरको दधिकोटमा अवस्थित अनन्तलिंगेश्वर महादेव मन्दिर पनि संकटका बेलामा पूजिने महादेव मन्दिर हो। सँस्कृतिविद् श्रेष्ठ यो मन्दिरसँग जोडिएको इतिहास यसरी भन्छन्, ‘नेपाल संवत ५०१ मा प्राकृतिक विपत्तिका कारण भादगाउँमा ३ हजार मानिसको ज्यान गयो। रानी राजल्यदेवीले यहाँ आएर यज्ञ उद्यापन गरेपछि यो संकट रोकिएको थियो भन्ने जनविश्वास छ।’

यो मन्दिरमा धान रोपाइँ गर्ने बेलामा पानी आएन भने पानी माग्न आउने पनि गरिन्छ।

शिव सृष्टिकर्ता हुन्। संहारकर्ता पनि हुन्। त्यसैले शिवका रुपमा जति पनि देवताहरु छन्, संकटका बेलामा यी देवताको पूजा आराधना गरिन्छ। पशुपति लगायत महादेवका अरु मन्दिर, संकटा, महांकालको पनि पूजा गरिन्छ। यस्तै राक्षससँग बचाउने नवदुर्गा गणको पनि विपत्तिका बेलामा पूजा आराधना गर्ने गरिन्छ। नवदुर्गा गणको विशेष पूजा भक्तपुरमा हुने गरेको छ।

श्रेष्ठका अनुसार नवदुर्गाको पूजा आराधनामा भक्तपुरेको धेरै आस्था जोडिएको छ। वि. सं. २०१८ मा नवग्रह एकै ठाउँमा आउँछ र पृथ्वीमा महाप्रलय हुन्छ भनेर त्राहित्राहि मच्चिएको समय थियो।

त्यो वर्ष भक्तपुर दरबार क्षेत्रमा नवकुण्ड बनाएर यज्ञ गरिएको थियो। त्यो वर्षको नव दुर्गागणको पूजा भक्तपुरको टुँडिखेलमा भव्य रुपमा गरिएको थियो।

नेपाल संस्कृतिमा एकदमै धनी देश हो। विश्वमा नेपाल बहुसांस्कृतिक मूल्य मान्यताको कारणले पनि प्रसिद्ध छ। जन्म मृत्यु हरेक संस्कारको लागि देवताको पूजा गरिन्छ। विशेषगरी हिन्दु संस्कृतिको बाहुल्य भएको नेपाली समाजमा केही देवताहरु क्षेत्रगत रुपमा ठाउँ र त्यहाँका जनको सुरक्षाको लागि बनेको सँस्कृतिविद् श्रेष्ठ बताउँछन्।

हुन त आपतको बेलामा सबै भगवानलाई पुकारिन्छ, इसाईले जीजस, इस्लामले अल्लाहको प्राथना गर्ने पनि संकटको बेलामा हो।

हिन्दु संस्कृतिलाई आधार मानेर कुरा गर्ने हो भने उपत्यकामा केही मन्दिरहरु छन्, जसलाई संकटको बेलामा बढी पूज्ने गरिन्छ।

काठमाडौँ नरदेवी
ललितपुर हरिसिद्धि
भक्तपुर नवदुर्गा गण

यस्तै उपत्यकाका छेउमा रहेको खोकनाको रुद्रायणी मन्दिर अनि थेचोको नवदुर्गा मन्दिर, विश्वनाथ भैरव र अन्य भैरवका मन्दिरहरु संकटमा पूज्ने मन्दिरहरु हुन्। यी देवतालाई उग्रतान्त्रिक स्वरुपका देवताहरुका रुपमा पूज्ने गरिन्छ।

चैत २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्