पीडामा मजदूर

काम गर्न पाइएको छैन्, खर्चपर्च सकियो

काम गर्न पाइएको छैन्, खर्चपर्च सकियो

दाङ –सुकदेव चौधरीको पाँचजनाको परिवार छ । ज्याला मजदूरी गरेर कमाएको पैसाले परिवारको खर्च चल्थ्यो । साँझ बिहानको छाक जुट्थ्यो । तर, अहिले सुकदेवले काम गर्न पाएका छैनन् ।

लकडाउन भएपछि उनको घरमा खर खर्च सकिएको छ ।‘काम गर्न पाइएको छैन् । बसेर खानु परेको छ । अलिअलि भएको खर्च पनि सकियो’चौधरीले भने–‘वडाबाट २५ किलो चामल, तेल, नुन पाइएको छ ।’

लकडाउन को अवधी लम्बिदै जाँदा ज्याला मजदूरी गरेर घर खर्च चलाउनेहरुले बढी समस्यामा छन् । फूलमाया कुमालको परिवार पनि मजदूरीबाटै चलेको छ । अहिले मजदूरी गर्न नपाउँदा खर्च जुटाउन हम्मे हम्मे परेको छ । ‘काम गरेर खाने मान्छे । काम गर्न नपाउँदा के खाने भन्ने पिर छ’उनले भनिन्–‘खै कहिले सम्म हो यस्तै ।’

ज्याला मजदूरी गरेर घरखर्च जुटाउनको विवरण संकलन गरेको वडा कार्यालयले पहिलो पल्ट दुई सय ७२ घरधुरीका ११ सय २६ सदस्यलाई ८० कुन्टल चामल, दुई सय १० लिटर तेल, दुई सय ७२ पोका नुन वितरण गरेको छ ।

लमही नगरपालिका वडा नं. ३ ले वडाका ज्याला मजदुरी गरेर परिवार पाल्ने घर परिवारको विवरण संकलन गरेर खाद्यान्न वितरण गरेको वडा अध्यक्ष बाबुराम चौधरीले बताए । ‘हाम्रा वडा बासीलाई भोक भोकै बस्न दिँदैनौं । त्यही भएर खाद्यान्न वितरण गरिरहेका छौं’उनले भने–‘लकडाउन लम्बिने अवस्था आयो भने पनि हामीले पुनः चामल, नुन, तेल लिएर आउछौं ।’

लमही नगरपालिकाले नगरवासीलाई लकडाउनका कारण उत्पन्न हुन सक्ने जुनसुकै समस्याको पनि समाधान गर्नेगरी अघि बढेको नगर प्रमुख कुलबहादुर केसीले बताए । ‘यो समयमा छाक जुटाउनै समस्या परेकाले मात्रै राहतको लागि नाम लेखाउनुहोला । घरमा खर्च भएर पनि राहतको लागि दाबी नगर्नुहोला । यो बेला एकले अर्कालाई सहयोग गर्ने बेला हो’उनले भने–‘निकै समस्यामा परेका परिवारका सदस्यलाई सरकारले हेर्छ ।’

भिडियाे:

चैत्र २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू