दूधेछोरी छोडेर कोरोना भाइरस संक्रमितको सेवामा लागेकी नर्स

त्रे क्वन अमेरिकाको न्यूयोर्कमा नर्सका रुपमा कार्यरत छिन् । उनी हालै आमा बनेकी हुन् । सुत्केरी बिदा छोट्याएर कोरोना भाइरसबाट संक्रमित बिरामीको स्याहारमा खटिएकी छन् ।

अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टरका रुपमा रहेको न्यूयोर्कका अस्पतालहरुमा स्वास्थ्य सामग्रीसँगै स्वास्थ्यकर्मीको अभाव भएको छ । त्यहि कारण क्वन सुत्केरी बिदा टुंग्याएर मानिसहरुको जीवन रक्षाका लागि ‘फ्रन्टलाइन’ मा खटिएकी हुन् ।

उनले भनेकी छन्, ‘अवस्था अति चिन्ताजनक छ । सबै अत्तालिएका छन् । अस्पताल सबैतिर मृत्यु र रोग तथा संक्रमितका चित्कार मात्रै छन् ।’

उनकी छोरी मात्रै तीन महिनाकी भइन् । नर्स क्वनले भनिन्, ‘मैले चार–पाँच महिना छोरीलाई दूध चुसाएर उनीसँग राम्रो समय बिताउने योजना बनाएकी थिएँ । तर महामारी सुरु भयो । घरमा थिएँ, चिन्तित बनायो । सहकर्मीहरुबारे सोचेँ, अवस्थाबारे धेरै विचारहरु आए ।’

बिदा छोट्याएर छोरीलाई एक्लै छोडेर काममा फर्किने निर्णयबारे सुनाउँदै उनले भनेकी छन्, ‘म घरमा बस्नै सकिन ।’

नर्सहरु बिरामी परेको सुनेको भए पनि कामलाई निरन्तरता दिएको उनले बताएकी छन् । उनी काम गर्ने अस्पतालकै दुई नर्स पनि बिरामी परेका छन् । अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भोगिरहेका छन् । उनले भनिन्, ‘पिपिईको अभाव छ । तर हामी हाम्रा बिरामीका लागि चिन्तित छौँ । आइसियूमा मर्दै गरेका बिरामीलाई देख्नु पर्दा निकै दुःख लाग्छ ।’

तर नर्सहरु अहिलेको अवस्थामा एन ९५ तथा सर्जिकल मास्कसहितका सुरक्षात्मक सामग्रीको अभावमा समस्यामा परेकाले सबैको साथ र सहयोग चाहिएको उनले बताएकी छन् ।

चैत २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्