सँगै सिटमा बसेर दुबईबाट आएका साथीलाई कोरोना संक्रमण भएपछिको छट्पटी

सँगै सिटमा बसेर दुबईबाट आएका साथीलाई कोरोना संक्रमण भएपछिको छट्पटी

विकास आचार्य।

माेरङ– कार्य क्षेत्र दुवईबाट विराटनगर घर आएको चार दिनपछि उनी झसंग भए। जब दुवईमा सँगै काम गर्ने र काठमाडौंसम्म दुवईबाट सँगै आएका धनगढीका एक जना साथीले फाेन गरेर आफूलाई  कोराना भाइरस (कोभिड–१९)को संक्रमण भएको सुनाए।

विराटनगर १५ स्थित घर आएर एलकेजीमा पढ्दै गरेकी छोरी र श्रीमतीसँग समय बिताउन थालेको केही दिनमै उक्त खबरले ३० वर्षीय विकास आचार्य स्तब्ध  भए।

आचार्य दुई महिनाअघि मात्र दुवई पुगेका थिए। तर घर फर्केपछि मनमनै डराए। अनि अत्तालिए। उनले सो खबर श्रीमतिसँग साटे, बुबाआमा माझ पुर्‍याए।

त्यसपछि उनीले तत्कालै चैत्र १३ गते बिहीबार वडा नम्बर १५ का अध्यक्ष असलम आलम र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसँग सम्पर्क गरे। मेयर भीम पराजुलीले शुक्रबार विहान एम्बुलेन्सको प्रबन्ध मिलाइदिए। आचार्यको मन त्यसपछि पनि छटपटाइ रह्यो।

रातको निन्द्रा, होस् सबै गुम्यो। उनलाई आफ्नोभन्दा पनि सानी छोरी र परिवारका सदस्यको चिन्ताले मन अशान्त बन्याे।

‘चैत्र ७ गते फ्लाई इमिरेट्सको इके ०५१० फ्लाइटबाट भारतको दिल्ली र त्यहाँबाट भिष्टारा एयरलाइन्सको यूके ०१५५ नम्बरको फ्लाइटबाट चैत्र ७ गते शुक्रबार बेलुका साँझ साढे ४ बजे काठमाडौं आएको थिएँ’, उनले देश सञ्चारसँगको टेलिफाेन संवादमा भने, ‘यस क्रमसम्म मसँगै काम गरेका धनगढीका साथी पनि थिए। दिल्लीमा ६ घण्टाको ट्रान्जिटमा रहेपछि बेलुका काठमाडौं झरेका थियौँ। यतिबेलासम्म हामी दुवै जना सँगै सीटमा रहेका थियौँ।’

अडियाे कुराकानी:

आचार्य दुवईबाट आउँदै गर्दा सुरक्षित तवरले मास्क, सेनेटाइजरसहित आएको बताउँछन्। घर आएको चार पाँच दिनपछि धनगढीका साथीलाई ज्वरो आएको जानकारी उनले पाए। ‘हामीबीच फोन संवाद भइरहेको थियो’, उनले भने।

‘सो क्रममा धनगढीबाट साथीले ‍ज्वरो आएको र सेती अस्पतालमा उपचारका लागि गएको बताएका थिए,’ आचार्य भन्छन्, ‘त्यसपछि उनको रिपोर्ट पोजेटिभ आएको खबरसँगै म पनि आफै अस्पतालसम्म उपचारका लागि पुगेकाे हुँ।’

उनी दुवईको अपारन एलएलसी नामक रिटेल कम्पनीमा सन् २०१५ देखि कार्यरत रहेका छन्। यस क्रममा पछिल्लो पाँच पटकसम्म घर फर्किसकेको बताएका आचार्यले यस पटक भने घर छेउछाउमा समेत फरक अनुभूति पाएको गुनासो गरे।

उनी भन्छन्, ‘विगतमा आउँदा साथीभाई र छरछिमेक घर आउजाउ हुने, आफू पनि जाने गरेको थिएँ। तर यस पटक भने त्यो हुन सकेन। नजिककाले समेत अर्कै नजरबाट हेर्न थालेको जस्तो लाग्यो। जसले मलाईसमेत मानसिक रुपमा विक्षप्त बनाए सरह भयो।’

कोरोना भाइरसका कारण विश्वभर एकपछि अर्को गर्दै मानिसले मृत्युवरण गरेको खबर आइरहँदा नजिकमा भएकामा समेत सन्देह हुनु स्वभाविक भएको बताएका आचार्यले भने, ‘यसबीच एकपटक मात्र म घरबाट बाहिर निस्किएको थिएँ। त्यो पनि छोरीको औषधिका लागि। त्यसबाहेक म आफैसचेत रुपमा घरमै बसेको थिएँ।’

यसबीच उनको परिवार निकै तनावमा थियाे। आचार्य भन्छन्, ‘म त भगवानकै नाम लिइरहेको थिएँ स्वाब लिँदाखेरि। एक्लो ज्यान होइन सिंगो परिवारको कुरा थियो। रिपोर्ट नआउञ्जेल गाह्रो थियो। रिपाेर्ट नेगेटिभ आएपछि अब खुशी छु। कहिले घर जाने त्यसको पर्खाइमा रहेको छु।’

महानगरका मेयर पराजुलीको पहलमा उनी परिवारका सदस्यसहित बैजनाथपुरस्थित स्वास्थ्य उपचार केन्द्रको क्वारेन्टाइनमा बसे। शनिबार १५ गते उनको थ्रोट स्वाबको नमुना कोशी अस्पतालमा लिइयो र काठमाडौं पठाइयो।

यसबीच उनको परिवार निकै तनावमा थियाे। आचार्य भन्छन्, ‘म त भगवानकै नाम लिइरहेको थिएँ स्वाब लिँदाखेरि। एक्लो ज्यान होइन सिंगो परिवारको कुरा थियो। रिपोर्ट नआउञ्जेल गाह्रो थियो। रिपाेर्ट नेगेटिभ आएपछि अब खुशी छु। कहिले घर जाने त्यसको पर्खाइमा रहेको छु।’

क्वारेन्टाइनमा बसुञ्जेल फरक अनुभूति भएको उनले बताए।  आचार्यले भने, ‘ज्यानको माया कसलाई हुँदैन र! त्यसमा पनि सानी छोरीसहित क्वारेन्टाइनमा। पहिलो दिन क्वारेन्टाइनमा छोरीलाई भोक प्यासले अलि गाह्रो भयो। त्यसपछि भने क्वारेन्टाइनमा फरक–फरक स्थानमा तीन जना बसियो। गफगाफ गर्दै तीन जनाले समय काट्यौँ। एउटा फरकपना आफ्नै लागि जस्तो लाग्यो। आखिर सफल उपचारपछि बाहिर घर जो जानु थियो।’

क्वारेन्टाइनमा नगररक्षकको उपस्थित मात्र हुने भएकाले पनि समय–समय खाना उपलब्ध हुने गरेको उनले बताए। ‘एउटा समय तालिका तोकिएको थियो, त्यही अनुसार खानपान हुने र नेटको सुविधा उपलब्ध भएकाले बस्न समस्या चाहीँ भएन’, उनले भने।

क्वारेन्टाइनमा उनी सँगै बसिरहेकी श्रीमतीले अहिले रिपोर्ट नेगेटिभ आएपछि मन हल्का भएको बताइन्। धेरै चिन्ता छोरी र श्रीमान्‌को लागेको बताएकी उनले भनिन्, ‘घर आउँदादेखि नै हामी दूरीमै रहेका थियौँ। जब अर्को साथीको विषयमा जानकारी आयो त्यसपछि क्वारेन्टाइनमै बस्न उचित हुने जस्तो लाग्यो र परिवार नै यहाँ आएका हौँ।’

क्वारेन्टाइनमा बाहिर निस्किन नपाए पनि खटिएका कर्मचारीले उचित हेरचाह गरेको बताएकी उनले भनिन्, ‘समय–समयमा तातोपानी, खानाको प्रवन्ध गर्नु भएको छ। घर नजिकै भएर पनि हाेला घरमै छौँ जस्तो लाग्छ। जहाँ मेरो सानो परिवार आँखाअघि रहेको छ।’

आफूहरुले क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था जानकार भए पनि सानी नानीलाई बुझाउन गाह्रो भएको उनले बताइन्।

‘नानीले सोधेको कतिपय प्रश्नको उत्तर दिन नसक्दा दुवैजना एकअर्कालाई हेरेर चित्त बुझाउँथ्याैँ। अब छिट्टै घर फर्कने भन्दै उसलाई थामथुम पार्थिम्,’ उनले भनिन्।

कोरोनाको संक्रमण भए पनि नआत्तिन आग्रह गर्दै उनले भनिन्, ‘यसबाट आत्तिने भन्दा पनि सम्हालिने शक्तिको आवश्यक्ता हुन्छ। विदेशबाट आउनु भएको छ भने कुरा नलुकाउनुहाेस्। कम्तीमा चिकित्सक समक्ष पुगिदिनु होला। जसका कारण थप क्षति नहोस्। सबैसंगै सहकार्य गरे यसमाथि जित सम्भव छ।’

महानगरले सम्भवत: शनिबार उनको परिवारलाई क्वारेन्टाइनबाट मुक्त गर्नेछ। तर उनको घरछिमेकले उनीप्रति कस्तो धारणा बनाउँछ उनी सशंकित छन्। उनी भन्छन्, ‘आफू निरोगी भएको कुरा आइसकेको छ। तरप नि आफै अझै केही दिन घरभित्रै बस्छु। सरकारले लकडाउन गरेको छ राम्ररी साथ दिनेछु।’

दुवईस्थित कम्पनीले आचार्यसहित त्यहाँ कार्यरत कर्मचारीलाई तीन महिनाको तलब उपलब्ध गराउने वा घर जाने सुविधा दिएको थियो। यसक्रममा कम्पनीले आचार्य लगायत घर फर्कनेहरुको टिकट उपलब्ध गराएको थियो।

दुवईका लागि अझैपनि डेढ वर्षको भिषा बाँकी रहेको बताएका आचार्यले कम्पनीले राखेको दोस्रो सुविधा रोजे। जुन थियो घर फर्कने।

उनले आफूसँगै सो उडानमा नेपाल आएका सबैलाई सुरक्षित रुपमा नजिकैको अस्पताल पुगेर जानकारी गराइदिन अनुरोध गरेका छन्।

चैत्र २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्