नेकपाका शीर्ष नेताहरुकै निष्कर्ष

‘सेनालाई मेडिकल सामग्री खरीदको जिम्मा ‘राष्ट्रघाती’, गम्भीर राजनीतिक परिणामको आशंका’

काठमाडौँ-  कोभिड-१९ को उपचारमा अत्यावश्यक सामग्री खरीद गर्ने जिम्मा नेपाली सेनालाई दिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई ‘राष्ट्रघाती’ भन्दै उनीबिरुद्ध मोर्चाबन्दीमा उत्रिने निर्णय आफ्नै पार्टी नेकपाका शीर्ष नेताहरुले गरेका छन्।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामग्री खरीदका लागि निजी कम्पनी ओम्नी समूहसँग भएको सम्झौता रद्द गरी त्यो जिम्मा सेनालाई दिने प्रधानमन्त्री ओलीको निर्णयले मुलुकमा गम्भीर परिणाम ल्याउने निष्कर्ष निकाल्दै त्यो निर्णय फिर्ता लिन उनलाई दबाब दिने सहमतिमा उनीहरु पुगेका छन्।

निर्णय सार्वजनिक भएलगत्तै बिहीबारदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ लगायतले फोनमार्फत निरन्तर छलफल गर्दै उक्त निर्णय मुलुकका लागि ‘राष्ट्रघाती’ हुने, निजामति प्रशासन ध्वस्त हुने मात्र होइन, त्यसबाट गम्भीर राजनीतिक परिणाम निस्कने निष्कर्ष समेत निकालेका छन्।

यो मुद्दाबारे तत्काल छलफल गर्न प्रधामन्त्री ओलीले केन्द्रीय सचिवालय बैठक डाक्न माग समेत गरेको त्यो छलफलमा सामेल एक नेताले बताए।

सेनालाई सामग्री खरीद गर्न दिने निर्णय प्रकरणसँगै हालै ओम्नी समूहसँग कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामग्री खरीदका क्रममा भएको भ्रष्टाचार र अनियमितताबारे तत्काल छानबिन हुनुपर्ने निचोडमा पनि उनीहरु पुगेका छन्।

प्रधानमन्त्री ओलीका सचिवालयका केही महत्वपूर्ण व्यक्तिहरुको चाहनामा काठमान्डु प्रेस अनलाइनको ‘सिस्टम ह्याक’ भएकोबारे पनि चर्को असन्तुष्टि जनाउँदै त्यसमा छानबिन हुनुपर्ने केही सम्पादकहरुको मागप्रति उनीहरुले ऐक्यबद्धता जनाएका छन्।

उक्त छलफलमा सामेल अर्का एक नेताले भने,‘ प्रेसमाथिको यो हमला अति र असहनीय कदम हो। यसको हामीले पनि घोर निन्दा गर्नुपर्छ।’

लकडाउनको यो अवस्थामा प्रधानमन्त्रीको निर्णयको शीर्ष नेताहरुको यो चर्को बिरोध नेकपा र सरकारभित्र यसअघि देखिएको आन्तरिक द्वन्द्वसँगै देखा परेको छ।

नेकपामा एमसीसी सम्झौता पारित गर्ने/नगर्ने, नेता वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने/नलैजाने, सरकार पार्टीले सञ्चालन गर्ने /नगर्ने लगायत थुर्पै्र विषयमा आन्तरिक द्वन्द्व कायमै रहेका बेला प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्के लगत्तै सरकारले कोभिड–१९ विरुद्धको लडाई सुरु गरेको भनेपछि पार्टीका आन्तरिक मुद्दाहरु ओझेलमा परेका थिए भने नेताहरु घरघरमै थन्किन बाध्य भएका थिए।

नेकपाकै नेताहरु एकातिर उपप्रधान तथा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल अहिलेको परिस्थितिमा सेनालाई नै कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावशयक सामग्री खरीदको जिम्मेवारी दिनुपर्ने पक्षमा उत्रिसकेका छन्।

अर्कोतिर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भने त्यसको बिरोध गर्दै प्रधानमन्त्री ओलीसमक्ष सामग्री खरीदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अगुवाई गर्न दिनुपर्ने आग्रह गरिसकेका छन्।

सामग्री खरीदमा नेपाली सेना खासगरी रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबीच शुरु भएको टकराव सतहमा आएको छ।

यही चैत्र १६ गते मन्त्रीपरिषद् बैठकपछिको माइन्युटमा प्रधानमन्त्री ओलीको आदेशमा मुख्यसचिव लोकदर्शन रेग्मीले सामग्री खरीदको जिम्मेवारी सेनालाई दिने निर्णय थपेका थिए।

बिहीबार उक्त निर्णय सार्वजनिक भएलगत्तै त्यसबारे सोध्दा सरकारका अधिकांश मन्त्री र स्वास्थ्यका अधिकारीहरु अनविज्ञ भएको दाबी गरेका थिए।

चैत २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्