विराटनगरमा कोरोना अस्पताल सञ्‍चालनमा, मुख्‍यमन्त्री राईले गरे उद्‌घाटन

मोरङ- कोरोना भाइरस कोविड १९ को उपचारका लागि विराटनगरमा कोरोना अस्पताल कोविड १९ उपचार केन्द्र सञ्चालनमा ल्याएको छ।

शुक्रबार विराटनगरमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले अस्पतालको औपचारिक रुपमा उद्घाटन गरेका छन्।

उद्घाटनका क्रममा मुख्यमन्त्री राईले विश्वलाई त्रासमा पार्दै आएको कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणसँग सचेत रहेको बताएका थिए। मुख्यमन्त्री राईले कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले २३ बुँदे कार्ययोजनासहित प्रभावकारी र ब्यवस्थित ढंगबाट कार्य गरिरहेको उल्लेख गरेका थिए।

प्रदेश एकको सबै पालिका, सुरक्षा निकाय, संघसंस्थासंगको समन्वय र सहकार्यमा भाइरसविरुद्धको लडाइँमा जुटिरहेको बताएका मुख्यमन्त्री राईले यस क्रममा प्रदेशमै पहिलोपटक कोरोना अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्चालनमा ल्याएको बताए।

कोशी अस्पताल मातहतमा रहने केन्द्रबारे सामाजिक विकास मन्त्री जीवन घिमिरेले निर्माण गरिएको उपचार केन्द्रमा १० वटा भेन्टिलेटर सहित ५० शैयाको क्षमता रहेको जानकारी दिए।

नेशनल ट्रेडिङको भवनलाई रंगरोगन गरे अस्पताल निर्माण गरिएको बताएका मन्त्री घिमिरेले कोरोना संक्रमितलाई त्यहाँ राख्ने क्रममा अपनाइने विधिबारे जानकारी गराएका थिए।

भाइरस संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको विषयमा मन्त्री घिमिरेले स्वास्थ्यकर्मीको पारिश्रमिक, भत्ता, निःशुल्क उपचार, बीमा लगायतको प्रबन्ध गरिएको बताए।

करिब साढे पाँच विघा क्षेत्रफलको सो स्थानमा दुइतल्ले भवनसँगै सुरक्षाका लागि नेपाल आर्मीको टोली समेत रहनेछ। भविष्यमा यसलाई स्वास्थ्य सेवामा निरन्तरता दिने मन्त्रालयको सोच रहेको बताएका मन्त्री घिमिरले भने कोरोनाको रोकथामपछि भोलिका दिनमा यसलाई शिक्षण अस्पतालका रुपमा अघि सार्न सकिने जानकारी दिए।

कार्यक्रममा उपचार केन्द्रको निर्माण कार्य तथा त्यसको लागतबारे भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले मौन थियो। भवनको मर्मत, रंगरोगन तथा सरसमानको पक्ष सोही मन्त्रालयको मातहतमा भएको हो।

एकातर्फ कार्यक्रम उद्घाटन चलिरहँदा भवनको मर्मत कार्य जारी थियो। चैत ९ गतेबाट एकसातामा अस्पताल निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको भए पनि लकडाउनको कारण निर्धारित समय धकेलिएको कार्यक्रममा जानकारी गराइएको थियो।

चैत २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्