मोरङमा वन्यजन्तु तस्कर र सुरक्षाकर्मीबीच गोली हानाहान, तीन जना पक्राउ

मोरङ– मोरङको सलकपुर सामुदायिक वन र केराबारी गाँउपालिका लोहन्द्रा साझेदारी वनको सीमा क्षेत्र जंगलमा वन्यजन्तु तस्कर र सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ।

शुक्रबार दिउँसो करिब ३ बजेतिर मध्य जंगलमा वन्यजन्तुको चोरी शिकारी भइरहेको सूचनाका आधारमा सुरक्षाकर्मीको टोलीले गस्ती गर्ने क्रममा दोहोरो गोली हानाहान भएको सलकपुर सव डिभिजन वन कार्यालयले जनाएको छ।

कार्यालका कर्मचारी एवं वन रक्षक प्रेम विष्टका अनुसार केही दिनदेखि जंगलमा शिकारीले गतिविधि गरिरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बलको टोलीसहित वन कार्यालयका रक्षकसहितको टोलीले शुक्रबार कारबाही गरेको जानकारी दिए।

रामनवमीदेखि वनभित्र अवैध क्रियाकलाप गर्दै आएका उनीहरुमध्ये तीनजनालाई पक्राउ गरेको विष्टले बताए।

गस्तीका क्रममा सुरुमा तर्साउन ८/१० राउण्ड गोल चलाएको बताएका विष्टले भने, ‘उनीहरुले सुरुमा फायर खोले। त्यसपछि सुरक्षाकर्मीले पनि ७ राउण्ड फायर खोलेका थिए।’

पक्राउ पर्नेमा केराबारी गाँउपालिका ८ का ३५ वर्षीय गम्बरबहादुर जोगी, २७ वर्षिय किसन कार्की र झापा बुद्धशान्तिका किरण धिमाल रहेको कार्यालयले जनाएको छ। उनीहरुको साथबाट २ नाल भरुवा बन्दुक, गोली र छर्रा बरामद भएको बताइएको छ।

कार्यालयका अनुसार पक्राउ परेका तस्करहरुले मृग, बदेल लगायतका वन्यजन्तुको शिकार गर्दै होटलमा पुर्‍याउने गरेका थिए।

चैत २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्