गुगलले गर्‍यो विस्तृत अध्ययन, ‘सामाजिक दुरी पालनामा अमेरिकाभन्दा नेपाल धेरै माथि’

काठमाडौँ – कोरोना भाइरसको महामारीविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनले भनेको छ- सामाजिक दुरी कायम गर अर्थात मानिसबीच भेटघाट बन्द गर। मानिसबीच भेटघाट रोक्न सके कोरोना भाइरसको महामारीलाई रोक्न सकिने डब्लूएचओको विश्वास छ।

यही सुझावलाई मान्दै विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन्। विश्वका ४ अर्बभन्दा बढी मानिसलाई अहिले सम्बन्धित सरकारहरुले घरभन्दा बाहिर निस्कन अनुमति दिएका छैनन्। यद्यपि दैनिक अत्यावश्यक काममा भने मानिस बाहिर निस्कन पाउँछन्।

यद्यपि भाइरसका कारण मानिसहरुको मृत्यु दिनदिनै बढिरहेको छ। इन्टरनेट सर्च इन्जिन गुगलले आफ्नो म्यापको विस्तृत अध्ययन गरेर कोरोना भाइरस प्रभावित देशहरुमा मानिसहरुको चहलपहल अर्थात सामाजिक दुरीको जानकारी हासिल गरेको छ। गुगलको अध्ययनअनुसार अमेरिकाभन्दा नेपालका मानिसले सामाजिक दुरी बढी गम्भीरतापूर्वक पालना गरेका छन् भने इटालीमा एकदमै कम संख्यामा मात्र मानिस बाहिरिने गरेका छन्।

गुगलले मानिसको चहलपहल हुने क्षेत्रलाई विभिन्न ६ वर्गमा बाँडेर अध्ययन गरेको छ। त्यसमा मनोरञ्जन, ग्रोसरी तथा फार्मेसी, पार्क, सार्वजनिक यातायात, कार्यक्षेत्र र आवास छन्। यहाँ नेपाल, भारत र अमेरिकाको अध्ययन प्रस्तुत गरिएको छ।

नेपाल 

सरकारले जनतालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै लकडाउन लागू गरेको शुक्रबार ११ औँ दिन पुगेको छ। नेपालमा हालसम्म ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

पहिलो संक्रमित जनवरी २३ तारिखमा भेटिएका थिए जो निको भइसकेका छन्। पाँच जनाको उपचार भइरहेको छ। गुगलका अनुसार नेपालमा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्महल लगायत ठाउँमा मानिसको चहलपहल ७८ प्रतिशत घटेको छ।

यसैगरि ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल ६९ प्रतिशतले घटेको छ। राष्ट्रिय निकुन्ज, सार्वजनिक बगैँचालगायत क्षेत्रमा चहलपहल ५५ प्रतिशतले कम भएको छ। सार्वजनिक यातायातमा मानिसको चहलपहल ह्वात्तै घटेको छ। गुगलका अनुसार यो क्षेत्रमा चहलपहल ७४ प्रतिशत कम भएको छ। यसैगरी काम गर्ने ठाउँमा पनि ७२ प्रतिशत कम चहलपहल भएको उल्लेख छ। आवासमा भने चहलपहल २८ प्रतिशतले बढेको गुगलले जानकारी दिएको छ।

अमेरिका

अमेरिकामा अहिलेसम्म २ लाख ६० हजार संक्रमित भएका छन् भने करिब सात हजारको ज्यान गएको छ। अमेरिकामा अझै लकडाउन गरिएको छैन। तर मानिसको चहलपहल भने केही कम भएको छ।  गुगलका अनुसार रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्महल लगायत ठाउँमा मानिसको चहलपहल ४७ प्रतिशत घटेको छ।

यसैगरि ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल २२ प्रतिशतले घटेको छ। राष्ट्रिय निकुन्ज, बिच, सार्वजनिक बगैँचालगायत क्षेत्रमा चहलपहल १९ प्रतिशतले कम भएको छ। गुगलका अनुसार बस, ट्रेनलगायत सार्वजनिक यातायातमा चहलपहल ५१ प्रतिशत कम भएको छ। यसैगरी काम गर्ने ठाउँमा पनि ३८ प्रतिशत कम चहलपहल भएको उल्लेख छ। आवासमा भने चहलपहल १२ प्रतिशतले बढेको गुगलले जनाएको छ। यस हिसाबले अमेरिकामा अझै पनि मानिसहरु सामाजिक गतिविधिमा व्यस्त छन्।

भारत 

भारतमा  २ हजार पाँच सयभन्दा बढी संक्रमित भएका छन् भने ७२ जनाको ज्यान गइसकेको छ। भारतमा पनि अहिले लकडाउन छ। गुगलले पनि भारतमा मानिसको सार्वजनिक चहलपहल निकै कम भएको जनाएको छ।  गुगलका अनुसार रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, फिल्महल लगायत ठाउँमा मानिसको चहलपहल ७७ प्रतिशत घटेको छ।

यसैगरि ग्रोसरी, खाद्यान्न पसल, कृषि बजार, फार्मेसीलगायत क्षेत्रमा मानिसको चहलपहल ६५ प्रतिशतले घटेको छ। राष्ट्रिय निकुन्ज, बिच, सार्वजनिक बगैँचालगायत क्षेत्रमा चहलपहल ५७ प्रतिशतले कम भएको छ। गुगलका अनुसार बस, ट्रेनलगायत सार्वजनिक यातायातमा चहलपहल ७१ प्रतिशत कम भएको छ। यसैगरि काम गर्ने ठाउँमा पनि चहलपहल ४७ प्रतिशत कम भएको उल्लेख छ। आवासमा भने चहलपहल २२ प्रतिशतले बढेको गुगलले जनाएको छ।

निष्कर्श

गुगलले शुक्रबार सार्वजनिक गरेको यो रिपोर्टमा गत आइतबारसम्मको तथ्यांक समेटिएको छ।

नेपालमा सामाजिक दुरीको पालना तीव्र गतिमा र चाँडै भएको गुगलको अध्ययनले देखाएको छ। जबकी अमेरिकामा भने डेढ महिनाको अवधिमा पनि सामाजिक दुरीको पालना बिस्तारै भएको देखिएको छ। सामाजिक दुरीको यो तीव्र पालनाले नेपालमा रोग फैलिन नदिन मद्दत पु‍र्‍याउन सक्नेछ भने अमेरिकामा सामाजिक दुरीलाई स्वीकार नगर्दा र मानिसहरु बाहिर निस्कने चलन जारी रहँदा कोरोना भाइरसको संक्रमण पनि तीव्र देखिएको छ।

(गुगलले सामाजिक दूरीबारे गरेको अध्ययनमा आधारित)

चैत २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्