कोरोनाः आत्मअनुशासनले पछ्याउने बाटो

‘पहिले तिमी उज्यालोे तर्फ फर्क, त्यसपछि छाँया स्वतः पछि पर्नेछ’, हेलेन केलरको यो भनाइलाई आत्मसाथ गर्ने हो भने मानिसभित्र रहेका दुई तत्व मन र मस्तिष्क जति नै विभाजित भएपनि एक अर्काको निर्देशन र आज्ञाबाट नै जीवन चलिरहेको हुन्छ।

विभाजित यी दुवै तत्वले नै मानिसलाई दिशानिर्देश गरिरहेको देखिन्छ । मनले एक गर भन्छ मष्तिष्कले गर्नुहुँदैन भन्दाभन्दै कतिपय कुराहरुमा हामी हडबडाइरहेको हुन्छाैँ।

भनिन्छ एक दिनमा मानिसको दिमागमा ६० हजार विचारहरु, इच्छाहरु आउँछन् परीक्षामा उत्तर लेख्दा होस् वा कुनै कुराको निर्णय लिँदा यो ठिक हो कि त्यो भन्दै कतिपय अवस्थामा हामी दोधारमा परिरहेका हुन्छाैँ। शायद त्यही भएर नै भनिएको होला संसारमा राम्रो नराम्रो भन्ने केही हुँदैन । त्यसलाई हेर्न नजर दृष्टिकोण र उपयोगमा भर पर्ने कुराले निर्क्यौल गर्छ समय र परिस्थितिअनुसारका काम कुराहरु।

अहिले कोरोनाभाइरसको महामारीका कारण विश्व संकटमा छ । विषम परिस्थितिको सामाना गरिरहेका हामी मानव यो अवस्था बाट छिट्टै पार पाउने आशामा छौँ। यस्तो जटिल समयसँग जुध्नकालागि विश्वस्तर बाट सहयोगी हातहरु अघि बढिरहेका छन् । विशेषज्ञहरु आ–आफ्नो ठाउँबाट कोरोनाको रोकथाम, उपचार पद्धति वा भ्याक्सिन पत्ता लगाउन रातदिन खटिरहेका छन् । परस्पर विरोधी अमेरिका, उत्तर कोरिया, लगायतका देशहरु पनि एक अर्कालाइ सहयोगका लागि अपिल गरिरहेका छन् । चीन र अमेरिका बीचको समझदारी पनि बढेको देखिन्छ ।

विषम परिस्थितिको सामना गर्न स्वदेश तथा विदेशमा भएका नेपाली मनहरुले सहयोगी हातहरु अघि बढाइरहेका छन् । यस अवस्थाको सामना गर्न लकडाउनमा रहेको विश्व समुदाय द्रुत गतिमा समस्या समाधानमा लागिपरिहेको छ । रोगबाट बच्न र बचाउन मृत्युको परवाह नगरी कोरोनाविरुद्ध संघर्षरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको खटाइ प्रसंशनीय छ ।

आफ्नो कारणले अरुलाई रोग नसरोस् भनेर नै विदेशमा रहेका नेपालीहरु जन्मभूमी फर्किने अवसर पाएर पनि कोरोनाको महामारी सकिएपछि मात्र भन्दै समय पर्खिरहेका छन् । सर्वसाधारण देखि विभिन्न पेशा व्यवसायमा रहेका धनकारी र मनकारी सबै मानिसहरुले आआफ्नो ठाउँ बाट सहयोग गरिहेका छन् । हो यहि त हो मानवियता ,विश्वस्तरमै मै हुँ भन्ने तथा एक अर्कामा परस्पर विरोधी राष्ट्रहरु पनि एक आपसमा मिल्न खोज्दैछन् । सहयोगका हातहरु अघि बढाइरहेका छन् ।

तर विश्वस्तरमै यसरी महामारीको रुपमा फैलिएर संकटको अवस्था सृजना भइरहेको विषम परिस्थितिमा सकेको सहयोग गर्नु, अरुलाई दुःख नदिनुको साटो स्वास्थ्य सामग्री खरिद गर्दा सरकारका जिम्मेवार मन्त्रिद्वारा नै अनियमितता गरिएको भन्दै अख्तियारमा उजुरी पर्छ मेरो देशमा।

स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयमा समेत नाफा नोक्सानको हिसाव गरि भ्रष्टाचार हुन्छ मेरो देशमा । संकटको अवस्थामा पनि हामी आत्मअनुशासित हुन नसक्दा विभिन्न खालका जोखिमहरु निम्त्याइरहेका छौँ । गम्भीर नहुँदा जानीजानी हामी हाम्रो स्वास्थ्यसँग खेलबाड गरिरहेका छौँ । कठिन परिस्थितिमा कालोबजारी घुस, कमिसन जस्ता क्रियाकलाप गर्ने मेरो समाज छ । अनि देशलाई सहि बाटोमा डोर्‍याउने नेताहरु स्वंयम नीतिनियमको उल्लंघन गर्दै सक्ता र पदको दुरुपयोग गरिरहेका छन् ।

हामीले बनाएका नीति नियम पनि स्वयं हामी आफैले पालना गरिरहेका छैनौँ । लकडाउनको यो समयमा स्वंयम हामी आत्मअनुशासित भएर नीतिनियमको पालना गर्दै आफ्नो लागि सजग र सर्तकता अपनाउनु जरुरी छ । कतिपय देशमा लकडाउन नगरिकनै कोरोनाको सक्रंमण घट्दो क्रममा छ । केही समय अघिसम्म चीनपछि दक्षिण कोरियामा कोरोना सक्रंमितहरु धेरै भेटिएका थिए ।

तर बिना लकडाउन त्यहाँ अहिले रोगको संक्रमण घट्दो क्रममा छ । सबै मानिस आत्माअनुशासित भएर बसेपछि कुनै पनि नियमकानुनको आवश्यकता पर्दैन भन्ने उदाहरण प्रस्ट देखिन्छ । ऐन नियम भन्दा पनि मानिसहरु आत्मअनुशासनका कारण सुरक्षित भइरहेका छन् । भनिन्छ ‘अनुशासन मानिसको गहना हो’ अहिलेको जटिल अवस्थामा झन आत्मअनुशासन एकदम जरुरी देखिएको छ । आर्थिक, सामाजिक, राजनीतिक रुपमा सम्पन्न विश्वका शक्तिशाली राष्ट्रप्रमुखलाई समेत यो रोगले संक्रमण गरिरहेको छ ।

प्रभावकारी र सुविधा सम्पन्न स्वास्थ्य सेवा दिइरहेको इटाली, अमेरिका जस्ता देशमा पनि महामारीका कारण दिनहुँ मानिसहरुले हजारौँको संख्यामा ज्यान गुमाइरहेका छन् । हामी विकाशोन्मुख देशका नागरिकहरुले यति बेला त झन आत्मअनुशासित भएर सर्तकता अपनाएनौँ भने त्यसको सजाय भोग्न तयार हुनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । अत्यावश्यक कामबाहेक रहरले पनि कतिपय मानिसहरु लकडाउनको बेवास्ता गर्दै घर बाहिर निस्केको, कारबाहीमा परेको देखिरहेका छौँ । हामी स्वंयम आफै पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरि कानुनको उल्लंघन गरिरहेका छौँ।

लकडाउनको समयमा रहेका हामीहरु अरुलाई भन्दापनि मैले के गर्नुपर्छ, के गर्न सक्छु भन्ने कुरामा ध्यान दिनुपर्छ भन्ने लाग्छ । कोरोना भाइरसको संक्रमणका कारण युरोपको एक विकसित देशको रुपमा परिचित इटालीमा हजारौँ मानिसहरुको ज्यान गुमेको छ । लाखौँ संक्रमित छन् । तर पनि त्यहाँका मानिसहरुको धैर्यता, मानवीयता आत्मअनुशासनलाई म सलाम गर्न चाहन्छु । चिकित्सकहरु आफ्नो ज्यानको परवाह नगरि बिरामीको सेवामा तल्लीन छन् ।

विरामीको सेवा गर्दागर्दै कतिपय चिकित्सकहरुले ज्यान नै बलिदानीसमेत गरेका छन् । सुन्दर भविष्यकाे सपनामा विवाह गर्न इच्छुक जोडीहरु आफ्नो विवाहलाई पछाडि धकेलेर मानवीय सेवामा लागिरहेका छन् । चीनबाट सुरु भएको कोरोना संक्रमण विश्वव्यापी फैलिए पनि त्यहाँ भने घट्दो क्रममा छ । कम्युनिष्ट शासन रहेको चीनमा मानिसहरु आत्मअनुशासित भएर नै सरकारको प्रभावकारी कदमले पूर्णता पाएको हुनुपर्छ ।

हुन त हाम्रो देशमा पनि कम्युनिष्ट शासन छ तर नेपालमा त महासंकटका बेला पनि भ्रष्टाचारले ठाउँ पायो कठै । अहिलेको विषम परिस्थितिमा हाम्रा बालबच्चाहरु जेष्ठ नागरिक घरभित्रै थुनिएर रहेका छन् । अहिलेको समयमा बालबालिकाको मानसिक, सामाजिक र मनोवैज्ञानिक असरबाट जोगाउन पूर्वसावधानी अपनाउनु पर्ने देखिन्छ । फरक क्षमता भएका मानिसहरु, जेष्ठ नागरिक तथा सबै उमेर समूहका मानिसहरुले समयको सदुपयोग गरि सृजनात्मक कार्यमा लाग्नु जरुरी छ ।

‘जीवन जति नै कठिन किन नहोस्, तिमीले केही न केही गर्न सक्छौ त्यसमा सफल हुन सक्छौ’, वैज्ञानिक स्टिफन हकिंगको यो भनाइले कठिन परिस्थितिको सामना गर्न सकारात्मक सोचको विकास गरि अघि बढे सफल भइन्छ भन्ने सन्देश दिएको छ ।

कोरोनाविरुद्धको लडाईमा काँधमा काँध मिलाएर सहयोग गर्नु अहिलेको आवश्यकता हो । मेरो आदरणीय गुरु रवि चापागाइँले सधैँ भन्नुहुन्थ्यो ‘जिन्दगी सधैँ भनेको जस्तो नहुन सक्छ कठिन परिस्थिति आएमा नआत्तिनु, सुखको पलमा नमात्तिनु’, हो अहिले हामी कठिन अवस्थामा छाैँ ।

यस्तो बेलामा धैर्यता गरि स्वयंमता अपनाउनु जरुरी छ । रुघाखोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने, व्यत्तिगत सरसफाइमा ध्यान दिने, मानिसहरुबिच दूरी कायम गर्ने, पोषणयुक्त खानेकुरा खाने, आत्मविश्वास बढाई सकारात्मक सोचको विकास गर्ने, सृजनशिल बनि अरुको राम्रो कामको प्रशसां गर्ने, सके सहयोग गर्ने, कसैलाई अप्ठेरोमा नपार्ने जस्ता स–सानाकाम कुराले नै हामी सकारात्मकता तर्फ लम्किन सक्छौँ ।

हो हामी अमर कोही छैनौँ मृत्यु निश्चित छ, एकदिन संसार छोड्नु नै पर्छ तर कहाँ, कति बेला, कसरी भन्ने कसैलाई थाहा छैन् । तै पनि हामी क्रोध, निराशा, इष्र्या, असन्तोष, छलकपटमा फसेर सुख खोज्ने बहानामा दौडिरहेका छौँ । भनिन्छ जिन्दगी आशा र भरोसामा अडिएको छ । टुक्रिएको मनलाई एकसाथ जौड्दै विश्वमा रहेका सबै सहयोगी मनहरुले आआफ्नो क्षेत्र बाट सहयोग गरौँ आत्माअनुशासित भएर लागाैँ।आत्मविश्वास बढाऔँ ।

जतिसुकै कठिन अवस्थामा पनि सकारात्मक आशाका किरणहरु छरिएको देख्नुपर्छ । आशा गरौं, महामारीको चाडै अन्त्य हुनेछ । हामी पहिलेको अवस्थामा फर्किने छौँ । जीवनयापन सहज हुनेछ।

(लेखक हाल अध्ययनको सिलसिलामा साइप्रसमा छिन् । )

चैत्र २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्