दशगजामा मन्त्रीको चासो

नेपालगञ्ज – बाँकेको दशगजामा टेन्ट टाँगेर राखिएका व्यक्तिप्रति ५ नम्बर र कर्णाली प्रदेशका मन्त्रीले चासो देखाएका छन् । भारतबाट फर्किएका १ सय ८१ जना नेपालीलाई दशगजामा टेन्ट टाँगेर राखिएको छ ।

लगातारको आन्दोलनपछि ती मानिसहरु दशगजाको टेन्टमा बस्न पाएका थिए । नेपाली सेनाले तयार पारेको र नेपालगञ्ज उपमहानगरपालिकाले खानपिनको व्यवस्थापन गरिरहेको टेन्ट अर्थात क्वारेन्टाइनमा ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी पुगेका हुन् ।

शनिबार दशगजामा पुगेका सामाजिक विकास मन्त्री बराललाई प्रदेश सांसद कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले त्यहाँको अवस्थाका बारेमा अवगत गराएका थिए । मन्त्री बराललाई त्यहाँ बसेका केहीले आफ्ना गुनासोहरु पोखेका थिए ।

नेपालगञ्ज आइपुगेको मौकामा मन्त्री बरालले भेरी अस्पताल र खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षको अवलोकन गरे । भेरीमा सरकारले कोरोनाको जाँच हुने भनेपछि अहिलेसम्म तयार भइसकेको छैन । मन्त्री बरालसमक्ष छिटो त्यसको व्यवस्था गर्न माग गरिएको छ ।

त्यसअघि शुक्रबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी दशगजामा पुगेका थिए । उनले त्यहाँ रहेका मानिसलाई १४ दिनसम्म बसेर सहयोग गरिदिन आग्रह गरे । त्यहाँ बसेका धेरै कर्णाली प्रदेशका मानिस छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु भारतका विभिन्न ठाउँमा काम गर्ने जाने गर्दछ ।

फोटो ः

चैत्र २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्