संक्रमणको चेन ब्रेक गर्नु सबैभन्दा आवश्यक

चीनबाट शुरुवात भएको कोरोना भाइरस (कोभिड १९)ले अहिले विश्वव्यापीकरण भई विश्वलाई नै त्राहीमाम् बनाएको छ। शुरुवातका दिनमा विस्तारै देखिएको यसको संक्रमण अहिले तीव्रगतिमा बढिरहेको छ। युरोप र अमेरिका जस्ता विकसित र उच्चस्तरको स्वास्थ्य सेवा रहेका देशमा यसको संक्रमण तथा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ।

सबै राष्ट्रहरुले संक्रमण रोक्न र कोरोनाबाट मुक्ति पाउनको लागि युद्ध गरिरहेका छन्। सम्पूर्ण विश्वनै कोरोना विरुद्ध चलायमान भएको छ। संक्रमण भएका ठाँउमा रोकथाम गर्न र संक्रमण नभएका ठाँउमा संक्रमण हुन नदिनका लागि प्रयास जारी रहेको छ।

रेडियो, टेलिभिजन तथा अनलाईन जताततै कोरोनाको समाचार, घरमा, गल्लिमा चोकमा सबैतिर कोरोनाकै चर्चा सुनिन्छ। दैनिकरुपमा संक्रमण र मृत्युको ग्राफ हेर्दा समाचार सुन्न र हेर्न पनि डर लाग्ने अवस्था आएको छ। विश्व नै कोरोनाको विरुद्ध लाग्दा पनि तत्काल यसबाट छुटकारा पाउने अवस्था देखिदैँन।

हाल भइरहेको अध्ययन, अनुसन्धान र अनुभवको आधारमा हेर्दा यसको संक्रमण बढ्न नदिन आवागमन रोकी संक्रमणको चेन ब्रेक गर्नु उपयुक्त उपाय देखिएको छ। यसकै लागि अन्तराष्ट्रिय उडानहरु स्थगित गरिएको छ। कतिपय देशले अत्यावश्यक सेवा वाहेक सम्पुर्ण देशनै लकडाउन गरेका छन्।

यस्ता खालका महामारी तथा विपत्तिको सामना गर्नका लागि हाम्रो नेपालको मौलिक परम्परा तथा पद्धतिले सहयोग पुग्ने देखिन्छ।

वाहिरबाट संक्रमण आउन नदिन र सक्रमितहरुको पहिचान गरि सघन उपचार पश्चात मानविय क्षति कम भन्दा कम गरी कोरोना विरुद्ध लाग्नका लागि नेपालमा पनि विगत १२ दिन देखि लकडाउन गरिएको छ। हाम्रो जस्तो विकासोन्मुख देशहरुले कोरोनाको संक्रमण हुन नदिएर रोक्नु नै सबै भन्दा उत्तम विकल्प रहेको छ।

यस्ता खालका माहामारी तथा विपत्तिको सामना गर्नका लागि हाम्रो नेपालको मौलिक परम्परा तथा पद्धतिले सहयोग पुग्ने देखिन्छ। यो माहामारी पहिलो पटक आएको पनि होइन र यो अन्तिम पनि होइन। यस्ता विपत्तिहरुको सबै जना एकजुट भई सामना गरेर परास्त गर्नु नै आजको अपरिहार्यता रहेको छ।

यसका लागि सम्पुर्ण नागरिक, सरकार तथा नागरिक समाजका संघ संस्थाहरुको महत्वपुर्ण भुमिका र जिम्मेवारी रहेको छ। तिनै पक्षहरुले आ आफ्नो भुमिका र जिम्मेवारी इमान्दारीपुर्वक पालना गरेमा पक्कै पनि हामी यस विपत्तिले ठुलो क्षती नगर्दै सामना गर्न सक्नेछौं।यस विपतको घडिलाई परास्त गर्नका लागि हामीले निभाउनुपर्ने भुमिका र जिम्मेवारीको बारेमा केही उल्लेख गर्न गईरहेको छु।

नागरिक
कुनै पनि समाज, समुदाय तथा देशमा विपत्ति र महामारी आएमा त्यसबाट प्रत्यक्ष प्रभावित र क्षति व्यहोर्ने भनेको त्यस देशका नागरिकहरुले हो। यस्ता विपतहरुको सामना गरि त्यसको प्रभाव कम गर्नका लागि नागरिकको भुमिका अहम रहेको छ। अहिलेको समयमा सम्पुर्ण नागरिकहरुले गर्नु पर्ने र गर्न सक्ने मुख्य २ वटा काम रहेका छन्। पहिलो कसरी हुन्छ आफु सुरक्षित रहने र दोस्रो सरकारलाई सहयोग गर्ने। यी २ वटा काम गरी जिम्मेवार नागरिकको दायित्व पुरा गर्न सक्छौं।

आफू कसरी सुरक्षित रहने ?
सहि सूचना: आजको समय सुचनाको समय हो। तपाईको शक्ति भनेको तपाई सँग भएको सही र सत्य तथ्य सुचना हो। तपाईले प्राप्त गरेको सुचना कति सहि हो भन्ने कुरा सुचना प्राप्त गर्ने स्रोतमा भर पर्दछ। कुनै पनि सुचना लिदा र त्यसको प्रयोग गर्दा त्यसको विश्वसनियता परिक्षण गरेर मात्र गरौं।

आधिकारिक निकाय सरकार र सरकार मातहतका निकायहरु, सयुक्त राष्ट्र संघका नियागहरु, विश्व स्वास्थ्य संगठन लगायत अन्य विश्वसनिय सञ्चार माध्यमका सुचना मात्र ग्रहण गरौ। आफ्नो व्यक्तिगत सुरक्षा, परिवारका सदस्यहरुको सुरक्षा, वरिपरिको वातावरण र समाजको सुरक्षाका लागि विभिन्न निकाय र सरकार द्धारा प्रदान गरेका सुचना तथा निर्देशनको पुर्णरुपमा पालना गरौं।

लक डाउनको पालना
अहिले कोरोना नियन्त्रणको प्रमुख अस्त्रकोरुपमा लकडाउनलाई लिइएको छ र भाइरस संक्रमणको सम्भाव्य देशहरु लकडाउनमा रहेका छन्। सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाएको छ। यसका लागि कुनै समय छैन, २४ सै घण्टा निरन्तर रहन्छ। विगतको १० वर्षे जनयुद्ध तथा विभिन्न जनआन्दोलन भोगेको अहिलेको पुस्ता कर्फ्यूमा अभ्यस्त रहेका छौ।

लकडाउनलाई सोही कफ्र्युको रुपमा बुझि दिनभर घरमा बस्ने र साझ विहान बाहिर निस्कने, साथी भाइृ भेटघाट गर्ने, गफगाफ गर्ने र सामाजिक दुरी कायम नगर्ने गरेका छौं। जसले दिनभरको लकडाउनलाई निरर्थक बनाउने भएका कारण अत्यावश्यक काम नपरी घरबाट बाहिर नजाऔं, जानै परे सामाजिक दुरी कायम गरौ र लकडाउनको पुर्णरुपमा पालना गरौं।

रचनात्मक कार्य
कुनै काम हामीलाई कसैको करकापमा सजाय र आफ्नो स्वेच्छामा गर्दा मनोरञ्जन लाग्ने गर्दछ, जुन मानविय स्वाभाव पनि हो। हाम्रो सोचाई र विचारले पनि हामीलाई असर गरिरहेको हुन्छ। धेरै कोरोना सम्बन्धि समाचार तथा तथ्याङ्क सुन्ने तथा हेर्ने नगरौ। त्यसको चिन्तामा सयम खेर नफालौ, कोरानाको कुरा मनमा खेलाउदात्यसको लक्षणहरु पनि आफूलाई मिले मिले जस्तो लाग्ने, मानसिकरुपमा कमजोर हुने र मनोवल घट्ने भएकाले हामीले सरकारले लकडाउन तोकेको समय अवधिसम्मलाई वाहिरको संसार विर्सौ र घरलाई संसार संझेर त्यसैमा रमाउनका लागि मानसिकरुपमा तयार होऔं।

एक तिहाई समय त सुतेर वित्नेछ बाकि समयमा परिवारका सदस्यसँग रमाइलो गरेर, व्यक्तिगत सरसफाई तथा सुरक्षामा लगाएर, घरमै बसेर गर्न मिल्ले अफिसको काम वा अन्य रचनात्मक क्रियाकलापहरुमा लगेर समय विताउ। यो व्यस्त र भागदौडको समयमा परिवारको साथमा वस्ने समय मिलेका जतिले यसलाई एक अवसरकोरुपमा लिनका लागि र जो परिवार भन्दा टाढा बाहिर हुनुहुन्छ वहाँहरुले आफ्नो समाज तथा राष्ट्रप्रतिको कर्तव्य पालनाको अवसरमा लिऔ।

महामारी तथा विपत्तिमा पार पाउनको लागि एक आर्कालाई सहयोग गरौ र जिम्मेवार नागरिको दायित्व पुरा गरौ।
सरकारको निर्देशन तथा अनुरोधको पालनाः सरकारको निर्देशनहरुको पुर्णरुपमा पालना गर्नु जिम्मेवार नागरिकको कर्तव्य तथा दायित्व रहेको छ। अहिले समयमा सरकारले सम्पुर्ण नागरिकलाई जहा छौ त्यही बस, विदेशबाट आएको हकमा अनिवार्य १४ दिन सम्म क्वारेन्टाइनमा बस, परिवारका सदस्य सँग पनि घुलमिल नहोऔं, इमर्जेन्सि बाहेक सकभर अस्पताल नजाऊ र संभाव्य सक्रमित तथा विदेश यात्रा गरेकाहरुले कोराना परिक्षण गराउन निर्देशन तथा अनुरोध गरेको छ। यसको पालना गरेर सरकारलाई, समाजलाई र आफैलाई सहयोग गरौं।

आर्थिक तथा भौतिक सहयोग

अहिले कोरोना विरुद्ध लड्न आर्थिक तथा भौतिक सहयोगको आवश्यकता रहेको छ। यसका लागि सरकारले सम्पूर्ण नागरिकलाई अनुरोध गरि कोरोना नियन्त्रण कोष बनाएको छ। त्यसमा सहयोग गरौ। कोहि पनि व्यक्तिगत तवरबाट राहत तथा सहयोग बोकेर गाँउ गाँउ नजाऊ। समाजमा मिलेर बसौ, कोही कतै अलपत्र परेका तथा लकडाउनको कारणले साझ विहान छाक टार्न अप्ठेरो तथा कठिनाई भएमा बाडीचुडी खाऔ। सामाजिक एकता, सदभाव र मेलमिलाप नेपालीको सामाजिक र सांस्कृतिक पहिचान हो। त्यसलाई खल्वलिन नदिन एक अर्कालाई सहयोग गरौ। अनावश्यक भण्डारण नगरौ, सके अनुदान नसके सरसापट भए पनि दिऊ र मिलेर बसौ।

सरकार
माहामारी तथा विपत्तिको समयमा आफ्ना नागरिकहरुको सुरक्षा गर्नु नै सरकारको दायित्व रहेको छ। यसका लागि कुनै कसर बाँकी नराखि परिस्थिती र आवश्यकताअनुसार संकटकाल लगाउन समेत पर्ने हुन सक्दछ।

नागरिकहरुले सरकारले कोरोना विरुद्ध चालेका कदमहरुको स्वागत गर्दै पुर्ण पालना गरेको समयमा सरकारले पनि कुनै ढिलासुस्ति र विलम्व नगरि इमान्दारी पुर्वक कार्य गर्नु पर्दछ। यस्तो संकटको वेलामा काममा ढिला सुस्ति, लापरवाही र अनियमितता गर्ने जुनसुकै व्यक्ति तथा निकायलाई कार्वाही गर्न पछाडी हट्नु हुदैन।

अहिलेको लकडाउन नागरिकको लागि हो, सरकारको लागि होइन, सरकारका निकाय तथा जिम्मेवार पदाधिकारिका लागि होइन। यो समय त सरकार आफु तथा आफ्ना संयन्त्रहरु अन्य सबै कामलाई स्थगित गरि कोरोना विरुद्ध परिचालित हुनु पर्ने समय हो। नागरिकलाई घरमा राखेर सरकार नागरिकको घरघरमा पुग्ने समय हो, बोलेका कुराहरु व्यवहारमा कार्यान्वयन गरेर देखाउने समय हो, नागरिकलाई सुरक्षाको प्रत्याभुति प्रदान गरि सरकार प्रति विश्वस्त बनाउने समय हो।

यसका लागि तिनै तहको सरकारको विचमा समन्वय तथा जिम्मेवारी वाडफाड गरि चुस्त दुरुस्त रुपमा काम गर्ने समय हो। सम्पुर्ण सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरु व्यक्ति सुरक्षाको उपायहरु अवलम्वन गरि अत्यावश्यक वाहेकका विदाहरु सबै रोकेर फिल्डमा खटिने र नागरिकलाई सरकारको प्रत्याभुति गराउने समय हो।

संघीय सरकार
अहिलेको समयमा संघिय सरकारले तिनै तहका सरकारको विचमा समन्वय गरेर कार्यकुशलता प्रदर्शन गर्नुपर्ने समय रहेको छ। संघले कोरोना भाईरस नियन्त्रणका लागि आवश्यक नीति नियम तथा निर्देशिका निर्माण तथा कार्यान्वयन गर्ने, परिस्थिति अनुसार आवश्यक निर्णयहरु गर्ने, अन्तराष्ट्रि जगत सँग समन्वय र साझेदारी गर्ने, आवश्यक औषधी तथा मेडिकलका उपकरण, व्यत्तिगत सुरक्षाका सामाग्री लगायत स्वास्थ्य सेवा सँग सम्वन्धित सम्पुर्ण सामाग्री आपूर्ति तथा उपलव्धता सुनिश्चित गर्ने, आपुर्ति व्यवस्था चुस्त दुरुस्त बनाउनका लागि अन्तराष्ट्रिय जगत तथा कुटनीतिक निकायहरु सग समन्वय गर्ने, आवश्यक सहयोगको खोजी गर्ने, अर्थ व्यवस्था नियमितताका लागि कार्य गर्ने, कोरोनाका कारणले समग्र देशमा अल्पकालिन तथा दीर्घकालिनरुपमा पर्न जाने असरहरुको प्रक्षेपण तथा त्यसका न्यूनिकरणका लागि आवश्यक पहलकदमीहरु लिने लगायतका महत्वपुर्ण कार्यहरु गर्न‘ पर्नेछ।

प्रदेश सरकार
प्रदेश सरकारले स्थानिय तह र संघको विचमा समन्वकारी कार्यहरुगर्न आवश्यक रहेको छ। प्रदेशमा उपलव्ध स्वास्थ्य सेवालाई प्रभावकारी र चुस्त दुरुस्तरुपमा प्रदान गर्ने, त्यसका लागि अहोरात्र खट्ने स्वास्थ्य कर्मी तथा सेवा प्रदायकको व्यत्तिगत सुरक्षामा ध्यान दिदै तिनको मनोवल उच्च बनाउने काम गर्ने, सकभर सबै जिल्ला स्तरमा, नभए प्रदेशमा मुख्य वजार केन्द्रहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा कोरोना परिक्षण तथा उपचारको प्रवन्ध मिलाउने, संभाव्य संक्रमितहरुको समयमा चेकजाँच गरि औषधोउपचारको प्रवन्ध मिलाउने, रोगको पहिचान विना मर्ने अवस्था आउन नदिने, सेवा प्रवाहमा खटिएका र उच्च जोखिममा रहेकाहरुको सुरक्षाको प्रवन्ध मिलाउने, विदेशबाट आउदा सिमा नाका तथा देशका विभिन्न स्थानमा अलपत्र परेकाहरुको व्यवस्थापन गर्ने, विदेशबाट अएका व्यत्तिहरु क्वारेन्टाइनमा बसे नबसेको सुनिश्चित गर्ने र स्थानीय तहहरुलाई क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने तथा प्रदेश भित्रको आवश्यकता तथा आपुर्तिको सुनिश्चितता लगायतका कार्यहरु गर्नु पर्ने आवश्यकता रहेको छ।

स्थानीय सरकार
स्थानीय सरकारको महामारीको अवस्थामा नागरिक सँग रहेर काम गर्न आवश्यक रहेको छ। नागरिकहरुको नजिक, सहज पहुँच र आशाको केन्द्रको रुपमा स्थानीय सरकार रहेका छन्। अहिलेको समयमा स्थानीय सरकारले विदेशबाट आएका व्यत्तिहरुको पहिचान, उनीहरुको घुमफिर रेकर्ड तथा तथ्याङ्क संकलन, आवश्यकता अनुसार क्वारेन्टाइन संचालन, क्वारेन्टाइनमा आवश्यक सेवा सुविधाहरुको सुनिश्चितता, संभावित संक्रमितहरुको पहिचान तथा चेकजाँचको प्रवन्ध मिलाउने, सामाजिक दुरी कायम गर्ने गराउने पर्नेछ।

स्थानीय स्तरमा उपलव्ध स्वास्थ्य सेवा सुविधाहरुको नियमित प्रवाह तथा दीर्घरोगीहरुको औषधी उपचारको सुनिश्चित गर्नु पर्नेछ। लकडाउनको समयमा नागरिकहरुलाई आवश्यक दैनिक उपभोग्य सामाग्रीहरुको नियमित आपुर्तिको प्रवन्ध मिलाउने, किसानका उत्पादनहरु विक्रि वितरणको प्रवन्ध मिलाउने, पशु आहारको प्रवन्ध मिलाउने कार्य गर्नु पर्नेछ। दैनिक ज्याला मजदुरी गर्ने व्यत्ति तथा परिवारहरुलाई आवश्यक खाद्यान्न आपुर्ति तथा राहतका कार्यहरु सञ्चालन गरी नागरिकको दैनिक जीवन यापन निर्वाधरुपमा सञ्चालन गर्न सहयोगको आवश्यकता रहेको छ। स्थानीय नागरिकहरुलाई सहयोगको लागि एकद्धार प्रणाली स्थापना र कार्यान्वयन गर्न अत्यन्त आवश्यक रहेको छ।

नागरिका समाजका संघ संस्थाहरु
नागरिक समाजका संघ संस्थाहरुको भूमिका जहिले पनि सरकारलाई आवश्यक सहयोग गर्नु रहेको छ। अहिलेको विषम परिस्थितिमा समुदायमा आधारित संस्था, क्लव, विभिन्न सञ्जाल, सहकारी, स्थानीय स्तरका गैर सरकारी संस्था तथा उद्योग वाणिज्य संघहरुले स्थानीय सरकारलाई आवश्यक सहयोग गर्नु पर्नेछ। तथ्याङ्क सुचना आदान प्रदान, संकलन, व्यवस्थापनका साथै विक्रि वितरणमा सहयोग गर्न आवश्यक रहेको छ।

राष्ट्रिय स्तरका संस्थाहरु, सहकारी संघ, उद्योग वाणिज्य महासंघ तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले आफ्नो क्षमता, दक्षता र विषय विज्ञताको आधारमा आवश्यकता अनुसार प्रदेश तथा संघिय सरकारलाई सहयोग गर्नु पर्नेछ। कोरोना नियन्त्रण तथा नियन्त्रण पश्चात जनजीवनलाई सहज वनाउन आवश्यक योजना तथा कार्यक्रम बनाउन अत्यावश्यक रहेको छ। सरकारलाई आवश्यकता भएमा विभिन्न कार्यका लागि आफु मातहतका कर्मचारी परिचालनको लागि तयारी अवस्था रहनु पर्नेछ।

माथी उल्लेखित तिनै पक्षहरुले आ आफ्नो जिम्मेवारी र दायित्व इमान्दारी पुर्वक पालन गरेर एकजुट भई लागेमा कोरोना नियन्त्रण रोक्न र संक्रमण फैलिन नदिन हामी सफल हुनेछौ। आजको दिनमा सबैको साथ र सहयोगले कोरोना नियन्त्रण गरि सहकार्यको शन्देस प्रवाह सफल हुनेमा विश्वस्त रहेको छु।

चैत्र २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्