कोरोना संक्रमणबाट जोगिन साबुन नभएको अवस्थामा के माटो अथवा खरानीले हात धोए सुरक्षित हुन सकिन्छ? एकजना गाँउलेले सोधे।

खरानी, माटो अथवा बालुवा खस्रो हुनुका कारण  यसले हातमा लागेको फोहोर सफा गर्छ/ गर्नसक्छ। यसका साथै दाउराबाट बनेको खरानीमा पोटासियम कार्बोनेट हुन्छ, यसले गर्दा खरानीको गुण क्षारीय (Alkaline) हुन्छ। क्षारीय पदार्थले पानीमा मिलेर पानीको ph भ्याल्यू ७ भन्दा माथि पुर्‍याइदिन्छ जुन सरसफाइको दृष्टिकोणले राम्रो हुन्छ। खरानीकै जस्तो कैयन ठाउँको माटोमा क्याल्शियम कार्बोनेटको अधिकताले  माटोमा पनि क्षारीयता  हुन्छ। यस क्षारीय गुणले गर्दा सरसफाइका लागि यिनको प्रयोग गर्न सकिन्छ।

तर हामीले एउटा के कुरा बिर्सनु हुदैन भने माटो, खरानी अथवा बालुवामा अनेक प्रकारका कीटाणु (जीवाणु र विषाणु दुबै) हुनुका साथै अनेक किसिमका हानिकारक रसायन पनि  मिस्सिएका हुनसक्छन्। यस्तो खतरनाक कुरो थाहा हुँदाहुँदै निश्चय पनि सरसफाइका लागि यी पदार्थको उपयोग गर्ने परामर्श दिन सकिँदैन। फेरि सबै किसिमको खरानी सबै ठाउँको माटो अथवा  बालुवाको गुणवत्ता पनि एक जस्तो हुन सक्दैन। तसर्थ एक डाक्टर भएको नाताले म सरसफाइका लागि यी पदार्थको प्रयोग गर्ने सिफारिस गर्न सक्दिन।

भरसक साबुनपानीले हात धुने प्रयास गर्नुहोस्। साबुन उपलब्ध नभएको खण्डमा पानीले मात्रै हात धुनुहोस्।

हात धुन कुन सामग्री प्रयोग गरिएको छ, यो महत्वपूर्ण होइन, बरु तपाईँले हात कसरी धुनु भएको छ, त्यो धेरै महत्वपूर्ण हुन्छ। आफ्ना हात धुँदा राम्ररी धुनुहोस्। कम्तीमा बीस सेकेण्डसम्म हात धुनुहोस्। हातका औँला, हत्केलाको अगाडि पछाडि मात्रै होइन, नाड़ीसम्म  राम्ररी मलीमली धुनुहोस्। यसरी हात धोई सकेपछि आफ्नो व्यक्तिगत सफा  तौलिया अथवा रुमालले (आफैँ मात्रै प्रयोग गर्ने गरेको) मात्रै हात पुछ्ने गर्नुस्। जथाभावी हात पुछ्नाले हात धोएको कुनै अर्थ  रहदैन्।  होस गर्नुस्, तौलिया अथवा रुमालमा रहेका कीटाणुले तपाईँका हात फेरि संक्रमित बनाउन सक्छ।

त्यसो भए ‘स्यानिटाइज़र’ को हल्ला किन, यसको के आवश्यकता? यो प्रश्न गाउँलेको नभएर एउटा शिक्षित शहरियाको हो।

कुरा ‘क्लियर छ’, ‘स्यानिटाइज़र’ पानीको विकल्प  होइन। सरसफाइका लागि बजारतन्त्रको आफ्नो चालबाज़ी हो। पानी उपलब्ध नभएको ठाउमा ‘स्यानिटाइज़र’को प्रयोग गर्न सकिन्छ। तर यसको अर्थ यो होइन, ‘स्यानिटाइज़र’ले  पानीको तुलनामा बढ़ी सफाइ दिनसक्छ। पानीभन्दा उत्तम त के, पानी जतिको पनि छैन स्यानिटाइजर।

त्यसो भए आधुनिक शहरिया जीवनशैलीमा मानिसले ‘स्यानिटाइज़र’लाई पानीको सफाइभन्दा बढ़ी महत्व किन दिइरहेका छन्? यो प्रश्न उठ्नु पनि स्वाभाविक नै हो।

आधुनिक  प्रकारको जीवन शैलीमा विभिन्न रसायनको बड़ो ‘क्रेज’ छ, बढ्दो ‘क्रेज’ छ।  नयाँ रासायनिक सम्मिश्रणयुक्त नयाँ नामको कुनै उत्पादन बजारमा देखापर्छ। आधुनिक मानसिकता के बनिसकेको छ भने नयाँ उत्पादन हो, राम्रै काम गर्छ होला। अब पानी त फगत पानी हो। हजारौँ वर्षदेखि पानीको पानी मात्रै छ। केही परिवर्तन भएको छैन।  तपाईँ कसैलाई सल्लाह दिनुस्, पानीले राम्रोसँग हात धोएर सरसफाइ व्यवस्थित गर्न सकिन्छ। उसले यसमा केही नयाँ कुरा पाउँदैन। यो त उसले बाल्यकालदेखि सुनिआएको कुरा हो। उसलाई केही नयाँ कुरा चाहिन्छ।

डा. स्कन्द शुक्ल

‘क्लोरहेक्सिडिन’ सुन्ने बित्तिकै उसको मन आकर्षित हुन्छ। ‘बिटाडिन’  सुनेर उसमा उत्साह जाग्छ। यी नयाँ शब्द र नयाँ उत्पादनको चक्करमा लागेर उसले सबैभन्दा महत्वपूर्ण काम बिर्सिदिन्छ।

कुन महत्वपूर्ण काम?

हातलाई केले धुनुपर्छ? योभन्दा महत्वपूर्ण कुरा हो, हात कसरी धुनुपर् ?  हतारको शहरिया जीवनमा, हातमा दुई थोपा ‘स्यानिटाइज़र’ हालेर यसो सामसुम गर्दै ऊ छिटोभन्दा छिटो संक्रमण मुक्त हुन चाहन्छ।

आफ्नो सरसफाइमा पनि हतार!

समस्या यहीँनिर छ। जसको खल्तीमा पैसा छ, ऊ केहीका लागि पनि समय व्यय गर्न चाहँदैन। उसलाई प्रत्येक काम चुट्की बजाएर पूरा गर्नु छ। उसले आफ्ना हात पनि एक सेकेण्डमै सफासुघ्घर गर्नुछ। उसलाई हात राम्रोसँग सफा गर्नुको सट्टा छिटो हात सफा गर्नु छ।

बजारतन्त्रलाई मानिसको यस कमजोरीबारे राम्ररी थाहा छ। अनि त विस्तारै सबै कुरा ‘इन्स्यान्ट’ हुँदै गइरहेका छन्।

सरसफाइका लागि ‘स्यानिटाइजर’ को प्रयोग धनखर्चु कर्मकाण्ड मात्रै हो। साबुन पानीले हात धुनु सबैका लागि ,सधैँका लागि उत्तम विकल्प हो। कोरोना भाइरसको संक्रमणले आक्रमण गरिरहेको यस अवस्थामा साबुन पानीले हात धुनु पनि ‘स्यानिटाइज़र’ ले धोएको सरह नै हो। सर्व साधारणले ‘स्यानिटाइज़र’का लागि  नदुखेको टाउको दुखाउने कुनै आवश्यकता छैन। संक्रमणले नछोएका मानिसको हक़मा ‘मास्क’को कथा पनि यही नै हो। साबुन पनि उपलब्ध नभएको खण्डमा पानीले मात्रै आफ्ना हात धोएर यस रोगको संक्रमणबाट बच्न सकिन्छ।

(ज्ञान मित्रद्वारा भावानुवाद)

चैत २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्