‘हामी विपत्तिबाट केही सिक्दैनौँ’

काठमाडौँ– ग्लोकल प्राइभेट लिमिटेडले ‘हामी फेरि अगाडि बढ्ने छौँ’ भन्ने नाराका साथ अनलाइन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध कर्पोरेट क्षेत्रका पदाधिकारीसँग विपतका विषयमा छलफल गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले विश्वभर फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्रमा नै असर पारेको र सबैभन्दा धेरै पर्यटन व्यवसायमा असर पारेको बताइन्।

उनले भूकम्प, नाकाबन्दीले आन्तरिक अर्थतन्त्रमा असर पारे पनि त्यसबाट माथि उठ्न सजिलो भएको बताइन्। उनले भनिन्, ‘भुकम्प, नाकाबन्दीले धेरै असर गरेको थिएन। तर अहिले भाइरसले गर्दा विश्वमा नै असर परेपछि मान्छे कसरी बाहिर घुम्न आउँछन्?’

उनका अनुसार पयर्टन व्यवसायलाई माथि उकास्न आन्तरिक पयर्टनमा बढी ध्यान दिन जरुरी छ।

यस्तै उनले हरेक विपत्तिसँग लडेझैँ कोरानालाई पनि जित्न सकिने बताइन्। ‘यस भाइरसलाई जित्ने क्षमता तपाईँहामीसँग छ’, उनले भनिन्, ‘त्यसैले धेरै नडराउने, घरमा नै बस्ने, सधैँ राम्रो सोच्ने।’

यस्तै नबिल बैंकका प्रमुख कार्यकारी निर्देशक अनिल केशरी शाहले अहिले मानिसहरु त्रसित भएर उनीहरुमा नकारात्मक सोच बढी आइरहेको बताए।

उनले यस्ता विपत्ति पहिले पनि हामीले भोगेर अगाडि बताए। ‘हामी भूकम्प, नाकाबन्दी जस्ता समस्यासँग त जुध्यौँ,’ उनले भने, ‘यस विपतलाई पनि हामी जित्न सक्छौँ।’

उनका अनुसार विगतमा भोगेका विपतबाट हामी नेपालीले केही सिक्न सकेका छैनौ। उनले भने, ‘हरेक विपत्तिलाई ठूलो ठान्छौँ तर त्यसबाट भविष्यका लागि केही सिक्दैनौँ। जस्तो विपत्ति आए पनि डराउने तर त्यो सकिएपछि बिर्सने। तर फेरि आयो भने त्यसका लागि पूर्व तयारी गर्ने योजना बनाउनतिर लाग्दैनौँ।’

सबैले सकरात्मक सोच र सरकारको नियमको पालना गरे यस संकटबाट सजिलै पार लाग्न सकिने उनले बताए।

उनले विदेशबाट आएकालाई कृषि क्षेत्रमा सरकारले योजना बनाएर रोजगारी दिन जरुरी भएको बताए। सरकारले यस विषयमा योजना बनाउन आवश्यक कदम चाल्न जरुरी भएको उनले बताए।

उनले भने, ‘यदि त्यसो भएन भने समाजमा बेरोजगारी र अपराधिक क्रियाकलाप बढ्ने सम्भावना छ।’ उनले सबैलाई त्रसित नहुन र सुरक्षित रहन आग्रह पनि गरे।

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले सबै नागरिकलाई सुरक्षित भएर घरमा नै बस्न आग्रह गरे। उनले हामी सुरक्षित भए कोरोना भाइरसलाई जित्न सकिने बताए।

उनले भने, ‘हामीले भूकम्प र नाकाबन्दी जस्ता संकटसँग लडेर अगाडि बढ्यौँ। यससँग पनि हामी जित्न सक्छौँ। त्यसका लागि सबैले सुरक्षित भएर घरमा नै बस्न जरुरी छ। यससँग लड्ने क्षमता हामीसँग नै छ।’

उनले कृषि तथा हाइड्रोपावरको काम सञ्चालनमा रहेको जानकारी दिए।

ज्योति ग्रुपका शौरभ ज्योतिले नेपालीको बानी हरेक संकटलाई सजिलै बिर्सने भएको बताए। उनले विगतका संकटबाट हामीले केही कुरा नसिकेको गुनासो गरे।

उनले भने, ‘हरेक विपतबाट हामीले त्ययसबाट पाठ सिकेर आगामी दिनमा त्यस्ता संकट आएमा कसरी डिल गर्ने भनेर योजना बनाउदैनौँ। त्यसैले हामी बढी जोखिममा पर्छौँ।’

उनका अनुसार यस्ता समस्या आउन नरोकिने र त्यसका लागि खाद्यान्न भण्डार, उर्जा र आकस्मिक आर्थिक संचय गर्न सकिन्छ।

सरकारले आकस्मिक जोखिमसँग जुध्न सक्ने पूर्व तयारी र सो सम्बन्धी कानून नै बनाउनु पर्ने उनको भनाइ छ।

ग्लोकल प्रालिका संचालक आषिश ठाकुरले कोरोना भाइरस जस्ता संकटसँग जुधेर अगाडि कसरी बढ्न सकिन्छ भनेर कार्यक्रमको आयोजना गरेको बताए। उनले विपतपछि पनि नयाँ ढंगले कामलाई अगाडि बडाउन सकिने बताए।

चैत्र २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्