संक्रमण फैलन नदिन सामाजिक दूरी अचूक उपाय

सरुवा रोगको प्रकृति नै एउटा व्यक्तिबाट अर्को व्यक्तिलाई सर्ने हुन्छ। दुई व्यक्तिबीचको सम्पर्क वा निकटतामा यो रोग सर्छ। कोरोना भाइरस दुई मिटरको दूरीमा खोक्दा वा हाँच्छ्यू गर्दा सर्छ भनी वैज्ञानिक अनुसन्धानहरुले भनेका छन्।

सरुवा रोगका मोडलहरुबारे थुप्रै पेपरहरु छापिएका छन्। कति मानिसलाई संक्रमण भएको छ र कति मानिस जोखिममा छन् भनेर तिनले विस्तृत अध्ययन गरेका छन्। खासगरी कोभिड १९ जस्तो सरुवा रोग  ब्याजको स्याज, स्याजको स्याज हुँदै फैलन्छ।

यो सरुवा रोगको आधारभूत मोडल नै हो। पछिल्लो समयमा संसारका विभिन्न देशबाट कोभिड १९ को डाटा आउँदै गर्दा यसबारे अध्ययन गर्न थप सजिलो भएको छ।

कोभिड १९ भएको एउटा व्यक्तिले कतिजनासम्मलाई यो रोग सार्नसक्छ? यसको आधारभूत सरुवा दर कति हो? यो सबै सरुवारोगविज्ञ र आम मानिसले पनि जान्नुपर्ने एउटा जिज्ञासा हो।

अहिलेसम्मको अध्ययनअनुसार कोरोना भाइरसको संक्रमण एकजनाले २ देखि २.६ सम्मलाई सारेको पाइन्छ। यो चाँडै मानिसहरुमा सरेको पाइन्छ। एकजनाबाट हजारौँमा यो संक्रमण पुग्न धेरै दिन लाग्दैन।

मानिसहरु पहिल्यैजसरी स्वतन्त्रतापूर्वक भेट गरिरहेका छन् भने यो आक्रामक रुपम सर्ने परिस्थिति आउँछ। ठ्याक्कै मानिसहरुले भेटघाट बन्द गरे भने यसको सरुवा दर स्वाट्टै घटिहाल्छ। त्यही भएर यो रोगको संक्रमण देखिएपछि पनि मानिसहरु धेरै भेटघाट गरिरहे भने सर्ने दर पनि बढी हुन्छ। अनि स्वाभाविक रुपमा मृत्युदर पनि बढी हुन्छ।

बेलायतको इम्पेरियल कलेजका वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार सामाजिक दुरी पालना गरिएन वा केही पनि उपाय अपनाइएन भने अमेरिकामा २० लाख मानिस मर्छन्। तर, रोग देखिएसँगै मानिसहरुको आनिबानी त परिवर्तन हुन्छ। वैज्ञानिकहरुले थाहा पाए- आइसोलेसनले यसको सरुवा दर एकदमै धेरै घटाउने रहेछ। सामाजिक दूरी कायम राख्यौँ भने अझ धेरै घट्ने रहेछ। स्कुल बन्द गर्दा त्यो झन् घट्दो रहेछ। र, चौथो नम्बरमा सार्वजनिक स्थानहरु बन्द गरियो भने एउटा मानिसलाई चारजनालाई सार्न सक्थ्यो भने एकजनालाई मात्र सार्न सक्दो रहेछ।

यी चारवटा उपाय कायम गर्नेबित्तिकै संक्रमितहरुको संख्या जति थियो, त्यत्तिमा सीमित रहन्छ। यत्ति उपाय अपनाउनेबित्तिकै सरुवा रोग ठ्याक्कै रोकिन्छ।

कोभिड १९ को मृत्युदर सामान्यतया: २ प्रतिशतमात्र छ। पूर्णयता आइसोलेसनमा बस्नेबित्तिकै संक्रमितको संख्या बढ्दैन। मान्छे ठीक हुँदै जान्छन्। अनि केसहरु घट्दै जान्छन्। यसको संक्रमितहरुको संख्या यसरी एकदमै घटाउन सकिन्छ।

वैज्ञानिकहरुले थाहा पाए- आइसोलेसनले यसको सरुवा दर एकदमै धेरै घटाउने रहेछ। सामाजिक दूरी कायम राख्यौँ भने अझ धेरै घट्ने रहेछ। स्कुल बन्द गर्दा त्यो झन् घट्दो रहेछ। र, चौथो नम्बरमा सार्वजनिक स्थानहरु बन्द गरियो भने एउटा मानिसलाई चारजनालाई सार्न सक्थ्यो भने एकजनालाई मात्र सार्न सक्दो रहेछ।यी चारवटा उपाय कायम गर्नेबित्तिकै संक्रमितहरुको संख्या जति थियो, त्यत्तिमा सीमित रहन्छ। यत्ति उपाय अपनाउनेबित्तिकै सरुवा रोग ठ्याक्कै रोकिन्छ। 

अहिले विश्वभरि यसका औषधि र भ्याक्सिनहरुमा काम भइरहेको छ। प्रभावकारी औषधि र भ्याक्सिन नआउँदासम्म संक्रमण कम नम्बरमा राख्न सकियो भने यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ।

अमेरिका वा नेपालमा अहिले मास्क र अन्य उपकरणहरुको अभाव छ। परीक्षण कम भयो भन्ने गुनासो छ। त्यो सामान्य अवस्था हो। तर, मानिसहरुले कोरोना भाइरसको संक्रमणलाई मृत्युको रुपमा बुझेका छन्। हामीले के बुझ्नुपर्छ भने यसको मृत्युदर एकदमै कम छ।  सयमा दुईजना मानिस मात्र मर्छन् औसतमा। यसबाहेक अरु बाँच्छन्। फेरि नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी छ जसले मृत्युदर अझ घटाउन सहयोग पुग्छ।

अमेरिकामा मानिसहरुमा भय कम छ। उता नेपालमा भय बढी छ। तर, त्यो भयले नेपाललाई सहयोग पुर्‍याएको छ। आइसोलेसनमा बस्न प्रेरित गरेको छ। अमेरिकामा त मानिसहरु सामाजिक दुरीको पालना गर्न चाहँदैनन्। आइसोलेसनमा बस्न चाहँदैनन्।

गुगलले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालमा लकडाउनको एक सातामै मानिसहरुको आवतजावत एकदमै घट्यो। जनता कति सुसुचित छन् र साझा शत्रुसँग जुध्न कति एक भएर लडेका छन् भन्ने यसले देखिएको छ। अमेरिकामा मानिसहरुले सामाजिक दूरीलाई पालना गरेका छैनन्। त्यही भएर अमेरिकामा संक्रमण एकदमै बढिरहेको छ।

गुगलको त्यो तथ्यांक हेर्ने हो भने उत्तरदायी र बुझेका नागरिकहरुले कसरी व्यवहार गर्नुपर्छ भन्ने देखिएको छ जुनकि अमेरिकामा देखिएको छैन। सामाजिक दूरीमा बस्ने बानीले नेपाली समाजलाई फाइदा पुर्‍याइरहेको छ।

अमेरिकामा सामाजिक दूरी पालना नगर्दा संक्रमणको दर बढिरहेको छ।

नेपालमा काम नगरी पनि मानिस बाँच्छ। महिनौँमहिनौँ चल्छ। यसले सायद नेपालीहरुलाई घरमै बस्न प्रेरित गरेको छ। अमेरिकामा मानिसहरुले अर्कालाई मदत गर्दैनन्। घरमा बस्ने बानी छैन। यसले उनीहरु घरमा बसिरहन सक्दैनन्।

फेरि अमेरिकामा ज्ञान वा विज्ञानका लागि एकदमै ठूलो सम्मान छैन। नेपालमा विज्ञले केही भन्यो भने स्वीकार गर्छन्। सुन्छन्। पत्याउँछन्। अमेरिकामा हाइस्कुल ड्रपआउटले पनि अरुका कुरामा विश्वास गर्दैनन्। त्यो कारणले पनि मानिसहरु पनि बाहिर निस्कन खोजेका हुन्।

तीन साताअघि अमेरिकामा संक्रमण एकदमै फेलिरहेको बेला एकजना गभर्नरले भिडभाड भएको रेस्टुरेन्टमा गएर तस्बिर पोस्ट गर्‍यो। उसले आफैँ भिडमा जान प्रेरित गर्‍यो। मानिसहरुलाई यस्तो व्यवहारले बाहिर निस्कन जोस्याउँछ।

जोखिम भएका, संक्रमित भएका र निको भएकाको नम्बर राखेर विश्लेषण गर्दा जोखिम जति बढी हुन्छ, त्यत्ति बढी संक्रमित हुन्छन्। अमेरिकामा यो अवस्था छ। फेरि अमेरिकामा धेरै मानिसहरु टाढाटाढा जान्छन् कामका लागि। यसले भाइरस टाढाटाढा सार्ने सम्भावना बढी हुन्छ।

नेपालमा सामाजिक दूरीको अवस्था एकदमै प्रभावकारी छ। यसले नेपालीहरुलाई भाइरस नफैलन मदत पुर्‍याएको छ। नेपालमा नौजना संक्रमित छन् अहिलेसम्म। अमेरिका वा संक्रमण फैलिरहेका देशका कतिपय सहरमा सुरुका दिनमा हरेक तीन दिनमा संक्रमितको संख्या दोब्बर भएको देखिएको छ। नेपालमा पनि न्युयोर्क सिटी वा प्रभावित अन्य सहरजसरी संक्रमण फैलियो भने डेढ महिनामा करिब डेढ लाख मानिस संक्रमित हुन्छन्। तर, लकडाउन कायम राखियो भने यसलाई सयको संख्यामा नै सीमित राख्न सकिन्छ।

इटाली र स्पेनमा औसत आयु नै ८३ भएकाले धेरै मृत्युदर देखिएको छ। नेपालमा युवाहरु बढी छन् जसले संक्रमितको संख्या कम राख्न सघाउ पुर्‍याउँछ। फेरि नेपालमा संयुक्त परिवारमा बस्ने आनीबानीले सार्ने सम्भावना बढी हुन्छ। धनगढीमा पछिल्लो समयमा दुबईबाट आएको व्यक्तिले परिवारकै सदस्यलाई संक्रमण सारेको छ। संयुक्त परिवारमा बस्ने बानीले यो संक्रमण सरेको भन्न सकिन्छ।

समग्रमा भन्दा, नेपालीले पालना गरेजसरी सामाजिक दुरी र एकान्तिक जीवन चाहिँ कायम राख्न सकियो भने रोग सार्ने सम्भावना कम हुन्छ।

(मैनाली मेरिल्यान्ड विश्वविद्यालयका पोस्ट डक्टरल फेलो हुन्। मेरिल्यान्डस्थित चेसापिक कन्जरभेन्सीमा ‘तथ्यांक वैज्ञानिक’ का रुपमा कार्यरत मैनाली पर्यावरण, तथ्यांकशास्त्र र आर्टिफिसियल इन्टेलिजेन्सका विज्ञ हुन्।)

चैत २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्