लकडाउनको तरकारी बजार (तस्बिरहरु)

दाङ–लमही नगरपालिका वडा नं. ६ मध्यनगरकी प्रभा चौधरी लकडाउनमा पनि तरकारी बेच्न आउँछिन्। ‘बजार आउँदा बाटोको छेउँमा बसेर तरकारी बेच्नु पर्ने हुन्थ्यो । मानिसहरुले चारैतिरबाट घेर्थे । तरकारी हातैले छोएर छान्थे’, उनले भनिन्–‘कतिले छानेको तरकारी लैजान्थे । कतिले त्यहीँ छोड्थे ।’

लकडाउनमा तरकारी बजार अव्यवस्थित थियो । तर, आइतबार बिहान लमहीमा लागेको तरकारी बजार भने व्यवस्थित बनाएको पाइयो ।

सडक किनारको तरकारी बजार निश्चित ठाउँमा गराइएको छ । सार्वजनिक बगैंचाको खाली ठाउँलाई चारै तिरबाट डोरीले घेरिएको छ । डेढ मिटरको दूरी कायम गरेर चिनो लगाइएको छ । उपभोक्ताले पालैपालो तरकारी किन्ने व्यवस्था मिलाइएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘तरकारी बजार अव्यवस्थित थियो । स्थानीय सरकार वडा कार्यालयसँग समन्वय गरेर निश्चित दूरी कायम गरेर तरकारी बजार सञ्चालनमा आएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘लकडाउनमा बिहानको समयमा तरकारी बजार लगाउने गरिएको छ । यस्तो अवस्थामा सावधानी पनि अपनाउनु पर्छ भनेर हामीले तरकारी बजार व्यवस्थापन गरेका हौँ।’

उद्योग वाणिज्य संघले तरकारी बिक्रि गर्न बजार आएका ७८ जना किसानलाई दूरी कायम गरेर बस्ने व्यवस्था मिलाएको महासचिव कमलजंग सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार किसानलाई मास्क, सेनिटाइटर, पञ्जा वितरण गरिएको छ । ‘तीन फिटको दूरी कायम गरिएको छ ।

अस्थायी शौचालय, हात धुने साबुन पानीको व्यवस्थापन गरेका छौँ’उनले भने–‘लकडाउनमा घर भित्रै बस्ने कार्यलाई प्राथमिकता दिनै पर्छ । तीन चार दिनलाई पुग्ने तरकारी एकै दिन लैजाने, तरकारी किन्न आउँदा एकजना मात्र आउने गर्नुपर्छ ।’

तरकारी बजार व्यवस्थित भएपछि उपभोक्ता पनि खुशी भएका छन् । भीडभाड हुन्थ्यो । अहिले त डोरी टाँटेर एकले अर्कालाई नछुइने गरी बजार बनेको रहेछ’खुशीराम बेल्वासेले भने–‘लाइनमा लागेर तरकारी किनेर जाने गरेको छु ।’

चैत २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्