नगर प्रमुखको अपिलः बिरामी परे, खाने खर्च सकिए फोन गर्नुहोस्

दाङ–लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले लकडाउनको पूर्ण पालना गर्दै आफ्नो घरमा सुरक्षित रुपमा बस्न नगरवासीलाई अपिल गरेका छन् ।

कोरोना संक्रमित व्यक्तिहरुको संख्या बढ्दै जान थालेपछि नगरबासीहरुमा लकडाउनको पूर्णपालना गर्दै सुरक्षित रुपमा घर भित्रै बस्न अपिल गरेका हुन् । नागरिकलाई घर भित्र बस्दा कुनैप्रकारको समस्या परे तत्काल सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् ।

‘लकडाउनको पूर्ण पालना भएको छ । अझैं हामी घर भित्रै सुरक्षित बस्नुपर्ने भएको छ’उनले भने–‘घर भित्रै रहँदा बिरामी परियो, खाद्यान्न सकियो फोन गर्नुस् । हामी समस्याको समाधान गर्न तयारी अवस्थामा छौं ।’

नगर प्रमुख केसीले ९८५७८४२५५५ फोन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । लमही नगरपालिकाले ३० वेडको क्वारेन्टाइन र लमही अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ । ५० लाखको राहत कोष स्थापना गरेर साँझ बिहान छाक टार्न मुस्किल परिवारमा वितरण गरिन थालेको छ ।

‘कसैलाई भोक भोकै बस्न दिँदैनौँ । त्यस्ता व्यक्तिको पहिचान वडा कार्यालय मार्फत गरिएको छ’उनले भने–‘हामी जस्तोसुकै परिस्थितीको सामना गर्न तयारी अवस्थामा छौं ।’

चैत २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्