कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएपछि काम बन्द भएर खानै समस्या भएको भन्दै मजदूरहरु सामान ओसार्ने लरी तथा ट्रकमा गाउँ फर्किरहेका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
लकडाउनमा मजदूरका दुःख

बल्लतल्ल लरी चढेर गाउँ फर्के रञ्जित पटेल

रञ्जितले झोला खोलेर लरीका चालकलाई देखाए। ‘गाँजा पो छ कि’ भन्दै थिए भारतीय लरीका चालक, त्यसपछि १४ वर्षका रञ्जित पटेलले आफ्नो कालो झोलाको चेन खोलेर भित्र रहेका सामान देखाए। केही जोर लुगाले भरिएको थियो उनको झोला।

त्यसपछि लरी चालकले उनलाई आफू आडैको सिटमा बस्न स्वीकृति दिए। काठमाडौँमा सामान छोडेर रित्तै भारत फर्किन लागेको लरीमा उनी कलैयातिर लागे।

लकडाउनको १२ औँ दिन शनिबार अपराह्न सडक शून्य प्रायः थियो। कलंकीबाट थानकोट जाने बाटोमा भने केही चहलपल थियो।

अत्यावश्यक सामग्री ढुवानी गर्ने गाडीहरु केही आइरहेका थिए। केही गाडी सामान छोडेर फर्किँदै थिए।

ढुंगेअड्डा नजिकै बाटोको छेउमा झोला बोकेर उभिएका थिए रञ्जित पटेल, साथमा उनका दुई साथी पनि थिए। तीनजना मध्ये सबैभन्दा सानो उमेरका उनी।

१६ वर्षका मन्सुर अहमद थानकोट तिर जाने हरेक गाडीलाई रोक्ने आग्रह गर्दै हात हल्लाउँछन्। गाडी रफ्तारमा हुइँकिन्छ, उनी निराश हुँदै फेरि पेटीमा फर्किन्छन्।

मन्सुरको भन्दा मलिन हुन्छ हरेकपटक गाडी नरोकिँदा रञ्जित र उनका अर्का साथीको अनुहार। रञ्जित भन्दा पर बसेका अर्का किशोर बोल्न मानेनन्।

बारा कलैयाका १४ वर्षे रञ्जित पटेल । तस्बिर : बर्षा शाह/देश सञ्चार

कपडाको मास्क लगाएका रञ्जितले सम्भावित तर अनिश्चित यात्राको कुरा गरे। ‘यहाँ खानै नपाएर बस्नु भन्दा हिँडेरै भए पनि घर जाने’ रञ्जितले भने, ‘बन्द (लकडाउन) भयो, खुल्छ कि भनेर यति दिन पर्खियौँ, खुलेन। कोठामा खाने कुरा पनि सकियो । काम छैन । यसरी बस्नु भन्दा घर जाने भनेर आएको गाडी नै पाएका छैनौँ। नपाए हिँडेरै भए पनि जाने।’

बाराको कलैया उपमहानगरपालिका–१४ का रञ्जित गएको कात्तिकमा पढाइ छोडेर कामका लागि काठमाडौँ पसेका थिए। ६ कक्षामा पढ्दै गरेका उनले कमजोर आर्थिक अवस्थाका कारण पढ्न पाएनन् र परिवारको आर्थिक स्रोतको माध्यम बन्न कामको खोजीमा आए।

स्वयम्भू नजिक पर्ने चमतीमा फर्निचर उद्योगमा हेल्परको रुपमा काम गर्दै थिए उनी। लकडाउनसँगै उनको काम रोकियो। फर्निचर मालिकले काम आउनु पर्दैन भने। रञ्जित र सँगै बस्ने साथीले ११ दिन यत्तिकै कटाए। कोठामा खाना सकियो, लकडाउन खुल्छ जस्तो लागेन, उनीहरुले झोला बोकेर पाए गाडी नभए हिँडेरै भए पनि घर फर्किने आँट कसे।

शनिबार घाम ढल्किँदा जाँदा थप निराश हुँदै गएका रञ्जित र उनका दुई साथीका लागि राहत बनेर आए भारतीय लरी । लरीका ड्राइभरले उनीहरुको इसारालाई माने, गाडी रोके। केहीबेर अनकन गरे। अनि भने, ‘दुःख पाएका रैछन् । एक–एकजना गरेर लैजाउँ । लरीका सहयोगी भनौँला।’

रञ्जित र उनका साथीहरुलाई कोरोना भाइरसको संक्रमण भन्दा पनि लकडाउन लम्बिँदै जाँदा खान नपाइने हो कि भन्ने चिन्ताले संकटका बेला पनि असुरक्षित यात्रा गर्न बाध्य बनाएको थियो।

चार भाइ र एक बहिनीसँगै आमाबुवालाई भेट्ने आशसहित रञ्जित र उनका अरु दुई साथी थानकोटतिर लागे…।