मोरङमा १३ सय सवारी नियन्त्रणमा, ६ जना पक्राउ

विराटनर – भारतको कोलकाताबाट आएका आठ सहित हालसम्म १ सय ४१ जना मोरङको मिक्लाजुंग टाडीस्थित क्वारेन्टाइनमा रहेका छन्।

कोरोना भाइरस कोभिड १९ को सम्भावनासँगै १ सय ५० जनालाई क्वारेन्टाइनमा राखिए पनि ९ जनाको स्वास्थ्य अवस्था सुरक्षित रहेकोले घर फर्काइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कोरोना भाइरस कोभिड १९ ले चौतर्फी आक्रान्त बनाइरहेको अवस्थामा भारत तथा अन्य मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ।

यसक्रममा भारतको राजधानी दिल्लीस्थित निजामुद्धिन क्षेत्रमा आयोजित एक इस्लामिक सभामा सहभागी मध्ये हालसम्म मोरंगबाट कोहीपनि नरहेको कार्यालयले जनाएको छ।

मोरंगका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्व अधिकारीले पहिलोचरणमा दिल्लीबाट आएका मध्ये एकजना स्वस्थ्य अवस्थामा आफूहरुको निगरानीमा रहेको बताए।

उनले भने, ‘मार्चको पहिलोसाता आएका मध्ये एकजना भारतमा नै रहेको र अर्का एकजना विराटनगरको रानी क्षेत्रका हुन्।स्वस्थ्य अवस्थामा रहेका उनी होम क्वारेन्टाइनमै छन्। प्रहरी सम्पर्कमा रहेका उनको निगरानी गरिरहेका छौँ।’

प्रहरीका अनुसार २७ दिन अघि विराटनगर आएका उनको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन। यसबीच प्रहरीले कोलकाताबाट आएका १२ जनालाई कटहरी गाँउपालिकाबाट टाँडीस्थित क्वारेनटाइनमा पठाएको छ। लकडाउन घोषणा पूर्व चैत्र ७ गते नेपाल आएका सबैजनाको स्वास्थ्यमा अहिलेसम्म समस्या नदेखिएको बताइएको छ।

त्यसैगरि प्रमुख प्रहरी उपरीक्षक अधिकारीका अनुसार सरकारले निर्णय गरे अनुसार सुरक्षा निकायले सडकमा आइतबारदेखि पालिका, जिल्ला तथा प्रदेशमा आवतजावतमा समेत कडाई गर्नेछ। अति आवश्यक सवारी बाहेकलाई नियन्त्रणमा लिने जनाएका अधिकारीले लकडाउन भर सर्वसाधारणलाई घरमै सुरक्षित तवरले बस्न आग्रह गरेका छन्।

यसक्रममा शनिबारसम्म लकडाउन अवज्ञा गर्ने १ हजार ३ सय १० वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। सो क्रममा ६ जना मानिस पनि प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

चैत्र २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्