कोरोना भाइरसले फर्कायो मलाई पुराना दिनहरुमा

जन्म काठमाडौँको रैथाने, संयुक्त परिवारमा हुर्केँ। समाजको नजरमा सम्पन्न, हुनखानेको परिवार। यथार्थमा ऋणमा परे पनि खानलाउन दुःख थिएन। बाउबाजेले आर्जेको असार–मंसिरमा खेती लगाउन र स्याहार्न हम्मे–हम्मे पर्ने खेतबारी थियो।

बुवाहरु सबैजना सरकारी जागिरे। आमा घर–गृहस्थी सम्हाल्ने। बालबच्चालाई स्कूल पढाउने। ठूलो मान्छे बनाउने उहाँहरुको रहर। तर त्यो मबाट सम्भव भएन। पढ्नमा त्यति मन नगर्ने, तर अरु घरका काममा भने खुबै मन जान्थ्यो मेरो। परिवारका सबैको प्यारो नै थिएँ।

खेतीपाती र बस्तुभाउको कामको चटारो रहिरहन्थ्यो। पढ्न मन नलागे पनि काममा भने अति मन लाग्ने। त्यसमै व्यस्त थिएँ। कामलाई माया गर्ने बानी लाग्यो। बुवाआमालाई सहयोग गर्न बहानामा यो बानी बस्यो।

दिन बित्दै गए। जसोतसो आइए सकेको थिएँ। उमेरमा केही फरक भए पनि एकाघरका दाइ साथी जस्तै हुनुहुन्थ्यो। उहाँले पत्रकारितामा थोरै समयमा पाएको सफलताले मलाई पनि पत्रकारिता नै गर्न नसके पनि सञ्चार गृहमा काम गर्ने हुटहुटी जाग्यो। दाइसँगको संगत र केही कुरामा सहयोग नै भयो। सञ्चार गृहमा काम गर्ने रहरको बाटो खुल्यो, कान्तिपुरमा काम सुरु गरेँ। १० वर्ष त्यहाँ बजार व्यवस्थापन विभागमा काम गरेँ।

घरमा जस्तै कामका लागि जहिले लागिरहेँ। त्यसपछि अर्को मिडिया अन्नपूर्णमा पनि मन लगाएर काम गरियो। समय परिवेश सधैँ उस्तै रहँदैन। एउटै घरमा त कुरा मिल्दैन, अगुल्टो त नठोसी बल्दैन भन्छन्। धेरै समय काम गर्न मन लागेन, विभिन्न परिस्थितिगत कारणले। सो संस्था छोड्ने मनसायमा पुगेँ, तर कहाँ जाने के गर्ने केही टुंगो थिएन।

तर संयोग त्यहि बेला आज जुन संस्था (देश सञ्चार) मा छु, त्यसको सञ्चालनको तयारी हुँदै रहेछ। आदरणीय दाइहरुसँग पहिले पनि सँगै काम गरेको अनुभव थियो। सोही संस्थामा जोडिएँ। अनलाइन सञ्चार गृहमा जोडिएर काम गर्ने मौका पाएँ र त्यसैलाई निरन्तरता दिइरहेको छु।

अहिले विश्व नै सन्त्रासमा छ। महामारीमा छ। कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिएको छ।

सम्पन्न राष्ट्रहरुमा समेत कोरोना भाइरसका कारण व्यापार व्यवसायमा समस्या पर्दा अर्थतन्त्रमा ठूलो नोक्सानी भएको छ। त्यसको असर देखिन थालेको छ र यो असर लामो समय कायम रहने विज्ञले बताएका पनि छन्। अहिले व्यापार–व्यवसाय भन्दा पनि कसरी सुरक्षित रहने भन्ने चिन्ता छ। हाम्रो देशमा त भरोसा भगवानकै हातमा छ भन्दा फरक पर्दैन होला।

जिम्मेवारीहरु थपिँदै छन्, फेरि गाउँ गएर हिजोको जस्तै कुटो कोदालो गर्न सम्भव पनि त्यति छैन। शरीर हिजोको जस्तो रहेन। उमेर, परिवार र प्रकृति पहिले भन्दा भिन्न भयो। जीवन यापन पहिलेको जस्तो सहज छैन अहिले जस्तो लाग्छ। तर सानी छोरीका कृयाकलापले खुशी दिन्छ। उनीसँगै नाच्न, गाउन र हाँस्न सिक्दै छु। बुवा आमा पनि नातिनी छोरी–ज्वाईँ, छोरा बुहारी भन्दैमा व्यस्त हुनुहुन्थ्यो। तर कोरोना भाइरसको संक्रमणले विश्व नै ‘ठप्प’ रहेका बेला चिन्ता थपिएको छ।

श्रीमती पनि जागिरे, तर अहिले कुरा जति बेला पनि कोरोना भाइरसकै हुन्छ। बिहीन ज्वाईँलाई भेट्न अस्ट्रेलिया पुग्नु भएका आमाबुवाको कुरा पनि कोरोना भाइरसकै वरिपरि घुम्छ। कामना गरिरहेको छु कि विश्वभर यो कहर हटोस्।

कोरोना भाइरसले मलाई फेरि पुराना सम्झनाहरुमा पुर्‍याएको छ। आखिर मानिस सबैभन्दा पहिले आफ्नै र आफन्तहरुको अस्तित्वको चिन्ता गर्ने रहेछ। हामी सबै मानवजाति नै एकअर्काका आफन्त हौँ। यो संकट सधैँ रहिरहँदैन। यद्यपि यसले मानवजातिलाई बढी सरल, बढी प्रेमपूर्ण र बढी सामुदायिक प्राणी बनाउला भन्ने मैले विश्वास लिएको छु।

चैत्र २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्