केराबारी गाउँपालिकाले दियो १५२० परिवारलाई राहत प्याकेज

विराटनगर – मोरङको विकट स्थानीय तहमध्येको एक केराबारी गाँउपालिकाले लकडाउनको समस्यामा परेको १ हजार ५ सय २० घरपरिवारलाई राहत प्याकेज उपलब्ध गराएको छ।

लकडाउन सुरु भएसँगै घरभित्रै बस्न बाध्य विपन्न समुदाय तथा श्रमिक परिवारलाई पहिलो चरणमा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरेको गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले जानकारी दिए।

मोरङको उत्तरपूर्वी पहाडी क्षेत्र समेटिएको गाँउपालिकाले १० वटा वडामा राहत वितरण गरेको हो। यसक्रममा वडा नम्बर १, २ र ४ भने पहाडी क्षेत्रमा पर्दछ।

त्यहाँको कतिपय स्थान पुग्नका लागि सडकसञ्जाल समेत तयार भइसकेको छैन। मोरङमै विकट क्षेत्रका रुपमा मानिएको गाउँपालिकाले परिवार सदस्य अनुसारको खाद्यान्न उपलब्ध विपद् ब्यवस्थापन कोषबाट गराएको जनाएको छ।

गाउँपालिका अध्यक्ष कार्कीका अनुसार लकडाउन र कोरोना भाइरस संक्रणमको सतर्कता अपनाउने गरी राहत वितरणको जिम्मा वडा कार्यालय र स्थानीय टोल समूहलाई उपलब्ध गराएको छ।

राहत वितरणका क्रममा केही असन्तुष्टि उत्पन्न भएको बताएका अध्यक्ष कार्कीले भने, ‘सबैले राहत पाउनुपर्छ भन्ने कुरालाई जोडेका छन्।  राहत पाउने परिवार छुट्याउन समेत सुरुमा गाह्रो थियो। तथापी यसमा छुटेका नामहरुलाई दोस्रो चरणमा उपलब्ध गराउनेछौं।’

पहिलो चरणमा बाँडिएको राहत कार्यक्रम अन्तर्गत ५ जना परिवारलाई १५ र सो संख्याभन्दा बढी भएका परिवारलाई २० किलो चामल उपलब्ध गराएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुन्यप्रसाद पौडेलले बताए।

विकट मानिएको पहाडी वडामा भने कुल ३ सय ५७ घरपरिवारसमक्ष राहत पुराइएको गाँउपालिकाले जनाएको छ। यसक्रममा गाँउपालिकाले उद्योगी, तथा सहयोगी संस्थाहरुबाट प्राप्त सहयोग संचित गर्दै राखेको छ।

त्यसैगरी, गाँउपालिकाले विदेशबाट आएका ब्यक्तिको जानकारी संकलन गरिरहेको छ।

यसमा कोरोना भाइरस कोविड १९ का शंकास्पद केही ब्यक्तिको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको अध्यक्ष कार्कीले जानकारी दिए।

करिब २० लाख रुपैया कोषमा रहेको बताएका अध्यक्ष कार्कीले भने कोषमा जनप्रतिनीधिले १५ दिनको र अन्य कर्मचारीले एक दिनको पारिश्रमिक उपलब्ध गराएको जानकारी दिए। यसमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई भने सामेल नगराएको उनले प्रस्टाए।

चैत २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्