प्रदेशबासीका नाममा मुख्यमन्त्री भट्टको सम्बाेधन: ‘हात्ती आयो हात्ती आयो फुस्सा’

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट। फाइल तस्बिर।

धनगढी– कोरोना भाइरसका कारण त्रसित बनेको सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार चुपचाप रहेको भन्दै चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार प्रदेशबासीलाई सम्बोधन गरेका छन्।

दिउँसो साढे तीन बजे धनगढीस्थित मुख्यमन्त्री कार्यालयबाट सम्बोधन गरेका मुख्यमन्त्री भट्टले अहिलेको विषम परिस्थितिको सम्बोधनभन्दा पनि प्रदेश सरकारले गरेका कामको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जस्तो सरकारले गरेका कामको बेलिबिस्तार लगाए।

सामाजिक सञ्जालमा प्रदेशका मुख्यमन्त्री कता छन्? भनेर प्रदेशबासीको आक्रोश थियो केही दिनयता। त्यही आक्रोशपछि प्रदेशबासीका नाममा म्ख्यमन्त्रीको सम्बोधनआउँदैछ भनेर मुख्यमन्त्रीका स्वकीय सचिवले प्रचार गरेपछि सुदूरपश्चिमबासीले अहिलेको अवस्थामा प्रदेश सरकारले केही नयाँ योजना घोषणा गर्ने अपेक्षा गरेका थिए । तर मुख्यमन्त्रीको सम्बोधनपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

धेरैले मुख्यमन्त्रीको सम्बोधनको लाइभमा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेर टिप्पणी गरेका छन्। मुख्यमन्त्री भट्टले सम्बोधनको अधिकांश समय प्रदेश सरकारले गरेका सानातिना काममा खर्चेका थिए। अब कसरी अघि बढने भन्ने बारेमा भने उनको सम्बोधनमा उल्लेख छैन।

स्वास्थ्य जाँच अनिवार्य रुपमा गराउन अपिल


मुख्यमन्त्री त्रिलोचन भट्टले भारत तथा तेस्रो मुलुकबाट घर फर्केका सर्वसाधारण व्यक्तिलाई स्वास्थ्य जाँच अनिवार्य रुपमा गराउनअपिल गरेका छन्। विशेष सम्बोधनमा उनले सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि भारत तथा तेस्रो मुलुकबाट घर फर्केका सर्वसाधारण व्यक्तिले स्वास्थ्य चेकजाँच गरेर २१ दिनअनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गरे।

लकडाउनको समयमा भारत तथा तेस्रो मुलुकबाट स्वदेश फर्केका नेपालीलाई तोकिएको समयसम्मअनिवार्य क्यारेन्टाइनमा बस्न उनको आग्रह छ। उनले सबैको सामूहिक प्रयासले मात्र विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सकिने बताए।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि गरेको लकडाउनको पूर्ण पालना गर्नुको विकल्प नभएको बताउँदै मुख्यमन्त्री भट्टले लकडाउन जनताकै लागि हो भन्ने कुराको आत्मसात गर्न जरुरी रहेको उल्लेख गरे।

उनले यो विषम परिस्थितिमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिन प्रदेश सरकार लागिपरेको बताउँदै कालोबजारी गर्नेलाई कारबाही गर्न प्रदेश सरकार पछि नहट्ने बताए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निजी अस्पतालको समेत दायित्व भएकोले सरकारसँग हातेमाले गरेर अघि बढ्न आह्वान गरे।

चैत २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्