लकडाउनमा पनि रोकिएन तस्करी

वीरगञ्ज– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न देशभरि लकडाउनको घोषणा गरिएको छ।

लकडाउनमा मानिसहरु घर बाहिर निस्कनसमेत नपाएको अवस्थामा पर्सामा भने तस्करहरुले लागुऔषधसहित विभिन्न सामानहरुको तस्करी गर्न छोडेका छैनन्।

उनीहरुले लकडाउनको बेला पनि लागुऔषध गाँजा, छोकडा तथा नेपालबाट भारततर्फ डिजेल पेट्रोलको तस्करी गरिरहेको पाइएको छ।

यसैबीच लकडाउनलाई उल्लंघन गर्दै लागुऔषधको ओसार पसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ झाबराहाबाट लागुऔषध गाँजासहित वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मिलन चौक बस्ने ४५ वर्षिय मोहमद समसुद्दिन मियाँ अन्सारी, २० वर्षिय शेष अख्तार मियाँ र धनुषाको जनकपुरधाम उपमहानगरपालिका १३ बस्ने ५० वर्षिय जिबछ महतोलाई पक्राउ गरेको हो।

झाबराहामा रहेको उमादेवी मन्दिर नजिकै नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुको साथबाट लागुऔषध गाँजा ८ किलो र ४ लिटर घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

गाँजासहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरसतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यस्तै नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा ५० किलो छोकडासहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ३० वर्षिय मुकेश ठाकुर लोहार रहेका छन्। उनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ सिंगाही पुलबाट ना. १६ प ५११५ नम्बरको मोटर साईकलसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

लोहारलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ।

यसैगरि लकडाउनकै बेला नेपालबाट भारततर्फ लैजाँदै गरेको डिजेल र पेट्रोल प्रहरीले बरामद गरेको छ। लकडाउनको उल्लंघन गर्दै नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ सय लिटर डिजेल र २ सय लिटर पेट्राल बरामद गरिएको प्रहरीले जनाएको छ।

तस्करी गर्ने मानिस भने प्रहरीलाई देख्ने बितिक्कै डिजेल र पेट्रोल छाडी भागेको भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

चैत्र २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू