प्रदेश ५ मा कोभिड–१९ को परीक्षण शुरू, एक घण्टाभित्रै आउनेछ रिपोर्ट

बुटवल– प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण शुरु भएको भएको छ। रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको आवास भवनमा प्रयोगशाला स्थापना गरेर परीक्षण शुरू गरिएको हो।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा प्रयोगशालाबाट परिक्षण थालिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त कार्यालय प्रमुख डा. विनोद कुमार गिरीले प्रयोगशाला सञ्चालनको लागि भवनको आन्तरिक संरचना बनाउनु परेकाले प्रयोगशाला सञ्चालनमा केही ढिलाइ भएको बताए।

प्रयोगशालाबाट एक दिनमा १५/१६ वटा नमुना परिक्षण गर्न सकिने र सामान्यतया १ घण्टामा एउटा रिपोर्ट प्राप्त गर्न सकिने उनले बताए।

प्रदेशभित्र कोभिड–१९ को जाँच गर्ने प्रयोगशाला नहुँदा आइसोलेसन अस्पतालमा भर्ना भएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता थियो।

चैत २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्