त्रास भगाउन सामूहिक दीप प्रज्वलन

विराटनगर- केही दिन अघि सामाजिक सञ्जालमा २ मिनेट १० सेकेण्डको एउटा साधारण लाग्ने सन्देश प्रवाह भयो। त्यही सन्देशलाई आधार मानेर नेपालीहरुले घरघरमा आइतबार साँझ दीप प्रज्वलन गरे।

सो भिडियोमा विश्व कल्याणका लागि राष्ट्रब्यापी दीप प्रज्वलन अभियान आह्वान गरिएको थियो।

चौतर्फी कोरोना भाइरस कोविड १९ को आक्रान्तबाट उकुसमुकुस सर्वसाधारण आइतबार साँझ ७ बजेर ७ मिनेटको ब्यग्र प्रतिक्षामा रहेका थिए। घरबाट बाहिर ननिस्कन सरकारको आग्रहसंगै सर्वसाधारण अन्य दिन भन्दा फरक र गम्भीर हुँदै दीप प्रज्वलनको अभियानमा जुटे।

झापा निवासी ज्योतिष मधुसुदन रिजालले दीप प्रज्वलनलाई अन्धकार हट्ने र उज्यालोको सुखद क्षणको सुरुआत हुने विश्वासका रुपमा लिएका छन्। कुनै समारोह वा दिवसका अवसरमा यसरी दियो बाल्ने अभियानमा जनताको चासो कम हुने बताएका ज्योतिष रिजालले दीप प्रज्वलनले संसारमा देखिने रोगब्याध अन्धकार चिर्नका लागि र मानसिक रुपमा मानिसलाई सकारात्मक र बलियो बनाउने उर्जा मिल्नेमा जोड दिन्छन्।

कोरोनाकै सन्दर्भलाई जोड्दै उनी भन्छन्, ‘औषधी उपचार नभएको यस कोरोनाले विश्वमा ठूलो मानविय क्षति पुराएको छ। मानिस मानिसबाट डराउने अवस्था सृजना भएको छ। तर, आज एक सन्देशले त्यो सबै डर चिर्दै मानिसहरु दीप प्रज्वलनमा सरिक भए। यो नै सबैभन्दा ढृढ संकल्पसहितको सकारात्मक पक्ष हो।’

त्यसैगरि, विराटनगरस्थित महेन्द्र मोरङ कलेजका समाज एवं मानवशास्त्रका विभाग प्रमुख एवं भारतको गुवाहटी विश्वविद्यालयबाट समाजशास्त्रमा पिएचडी गरेका चन्द्र तिम्सिनाले फेसबुकमा ‘सधै एक दियो बल्छ, गर्दै परिवारको प्रार्थना। थप एक बाली आज, जगत कल्याण कामना’ भन्दै लेखे।

तिम्सिना दीप प्रज्वलन गर्नु ह्युमन साइकोलोजी भएको बताउँछन्। ‘मानिस यतिबेला मनोवैज्ञानिक रुपमा त्रसित भएको अवस्थामा छन्’, उनले भने, ‘दैनिकको समाचार कोरोना र लकडाउनले घरको बास। यसबाट अलिकति भएपनि दीप प्रज्वलनले मानिसमा उर्जा थपेको छ। मानिसमा उमंग र ताजगी देखिएको छ।’

धर्ममा आस्था र विश्वास राख्नेहरुले जगतको कल्याणको कामना गर्न पाउने बताएका तिम्सिनाले दीप प्रज्वलनले परिवारभित्र केही हदसम्म मुस्कान र शान्ति ल्याएको बताए।

अर्कोतर्फ, सञ्चारकर्मी सुरेश पौडेलका अनुसार हरेक कुरामा तर्क खोज्नु भन्दापनि साथ दिनुनै सकारात्मक पक्ष हो। उनको बुझाइमा दियो बाल्दा ज्योतिमाथि एकप्रकारको धुवाँ बन्छ र त्यो धुवाँ नै विभिन्न किटाणु नाशका लागि उपर्युक्त हुन्छ।

कोरोनाभाइरस कोभिड १९ का कारण विश्वनै त्रासमा अघि बढिरहेको अवस्थामा कम्तीमा एक दियोले मनमा शान्तको वातावरण कायम गर्ने उनको भनाई छ।

‘बिहान बेलुका घरमा एउटा दियो बाल्ने हिन्दु नेपालीको संस्कार नै छ। आज त्यसमा एउटा दियो थपियो। यसलाई सुखद नै मान्नुपर्छ, ‘ पौडेलले सामाजिक सञ्जालमा च्याट गर्ने क्रममा भने।

सामाजिक सञ्जालमा भाइरल भएको सो भिडियोमा शान्ति कल्याण मानवता र सहिष्णुताका लागि साँझ ७ बजेर ७ मिनेटदेखि ९ बजेर ९ मिनेटसम्म घरमा दियो बाल्न आग्रह गरिएको थियो। आइतबार र सो समयलाई पवित्र दिनका रुपमा चित्रण गरिएको भिडियोमा दियो बाल्नाले शुभ र समृद्धि रहने विश्वास गरिएको छ।

चैत्र २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्