साबधान! कोरोना भाइरसले कुनै लक्षण नदेखाउन पनि सक्छ

देशसञ्चार अनलाइनमा प्रकाशित दुई समाचार पढेर यस विषयक विश्लेषण गर्न प्रेरित भएको छु।

२२ चैतमा प्रकाशित एक समाचार भन्छ- दुबईबाट आएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय एकजना युवकमा कोरोना संक्रमण देखिएपछि उनको परिवारका अन्य दश जनाको संक्रमण परीक्षण गरियो। परिवारका सदस्यमध्ये दुई जनाको रिपोर्ट आउन बाँकी छ भने सात जनाको रिपोर्ट नेगेटिभ रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दुबईबाट फर्केका संक्रमित युवाको परिवारका एकजना महिलामा भने संक्रमण सरेको छ।

यस समाचारले स्पष्ट गर्छ- अन्ततः नेपालमा संक्रमणको दोस्रो चरण थालनी भयो। संक्रमणको पहिलो चरण भनेको विदेशबाट संक्रमित भई नेपाल फर्केका व्यक्ति हुन् अर्थात नेपालमा कोरोना संक्रमण भित्र्याउने वाहकहरु पहिलो चरणका कोरोना संक्रमित व्यक्ति हुन्। विदेशबाट आएका संक्रमित व्यक्तिबाट घर परिवार, छरछिमेकीलाई सर्नु भनेको दोस्रो चरणमा प्रवेश गर्नु हो।

निश्चय पनि यो समाचार शुभ होइन। सीमित स्रोत साधन भएको हाम्रो जस्तो मुलुकमा विदेशबाट फर्केका लाखौँलाख व्यक्ति जुन गाउँगाउँमा पुगेका छन्, तीमध्ये थोरै जना पनि संक्रमित छन् भने (जुन विस्तारै देखा परिरहेको छ) उत्पन्न हुनसक्ने स्थितिको कल्पना गर्न पनि सहज छैन।

तपाईँको नजरमा सरकार निकम्मा छ, अकर्मण्य छ, भ्रष्ट जेजे तपाईँ भन्नुहुन्छ, मलाई यसप्रति कुनै आपत्ति छैन। देश र जनता स्वस्थ रहे कुनै पनि सरकार फेर्न १२- ३६ को गणितीय बाध्यता रहन्न। चुनिएको सरकार त के हामी नेपाली व्यवस्था परिवर्तन गर्न पनि पछि पर्दैनौँ। तसर्थ, यसबेला कुनै पनि निकम्मा अथवा जस्तोसुकै भ्रष्टको विरोध गर्नुभन्दा मुलुकलाई दोस्रो चरणको कोरोना संक्रमणमा जानबाट रोक्नु नै हामी सबैको प्राथमिकता हुनुपर्ने हो।

मित्र हो नसोच्नुस्, ‘लकडाउन’ हामीलाई प्रताडित गर्न वा कसैको रहर वा सनकमा थोपरिएको हो। देश र जनतालाई दोस्रो र त्यसपछिको तेस्रो र अन्य महामारीजन्य चरणमा पुग्न नदिने प्रयास स्वरुप ‘लकडाउन’को बाध्यात्मक बाटो रोजिएको हो। प्रधानमन्त्री, मन्त्री, उच्च पदस्थ अधिकारीले यस संक्रमणबाट जोगाउन सक्दैनन्। डाक्टर, नर्स, बाटोदोबाटोमा हाम्रो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र हामी स्वयं नै विपत्तिको यस घडीमा आफ्नोलगायत अरुको पनि तारणहार हौँ र हुन सक्छौँ।

विश्वमा भाइरसको अस्तित्व हामीभन्दा पहिलादेखि नै रहिआए पनि यी सूक्ष्मातिसूक्ष्म कणका बारेमा विज्ञानलाई जति थाहा छ, त्यसको हजारौँ गुणा थाहा हुन बाँकी छ।अहिलेको नोबेल कोरोना कोभिड १९ अथवा सार्स-सीओभी २ कोरोना परिवारकै भाइरस भए पनि यो नवीनतम संस्करणको भाइरस हो। पुगनपुग ४ महिनापहिले अस्तित्वमा आएको यस भाइरसको बारेमा दिन प्रतिदिन नयाँ कुरा थाहा हुँदै गइरहेका छन्।

यस सन्दर्भमा चैत २२ मा देशसञ्चारकै अर्को समाचारले भनेको छ- कैलाली र कञ्चनपुरको तीन जना व्यक्तिको क्लिनिकल टेस्टमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। तर, अचम्म के भने यी तीनै जना व्यक्तिमा कोरोना संक्रमणको कुनै पनि प्राथमिक लक्षण देखिएका छैनन्।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीका अनुसार यी तीनैजना संक्रमित व्यक्तिमा रुघाखोकी, ज्वरो, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायत कुनै पनि लक्षण छैनन्।

यस नयाँ तथ्यले संक्रमणको खोजी तथा निदान कार्यमा झनै ठूलो जटिलता ल्याइदिएको छ। लक्षण देखिएका व्यक्तिलाई पहिचान गरी संक्रमण परीक्षणको दायरामा ल्याउनुको आफ्नै खाले जटिलता छन् भने लक्षण नै नदेखिएको व्यक्तिलाई परीक्षणमा कसरी ल्याउने भन्ने झनै जटिलता थपिएको छ।

कोरोनाको केन्द्र चीनबाट स्पेन, इटाली हुँदै अमेरिका बन्न पुगेको छ। विज्ञहरुको भनाइअनुसार अप्रिल महिनाभरि कोरोना आफ्नो उत्कर्षमा रहन्छ। यता छिमेकी भारतको अवस्था पनि गम्भीर मोडमा छ। जतिजति दिन बित्दै गइरहेका छन्, कोरोना संक्रमणको टेस्ट सुविधा थपिँदै गएर टेस्टका साथै संक्रमित हुनेहरुको संख्या तीव्र रूपमा वृद्धि हुँदै गइरहेको छ। साथै यस संक्रमणका विभिन्न पक्ष उजागर हुँदै गइरहेका छन्। विश्व स्वास्थ्य संगठनजस्तो संस्थाले शुरूमा यो संक्रमण मानिसबाट मानिसमा नसर्ने जस्तो एकपक्षीय वक्तव्य दिएर कसैको स्वार्थपूर्ति गर्नाले समस्याको गम्भीरता बुझ्न ढिलो भएको बिर्सन सकिँदैन।

तर, पछिका दिनमा यो मानिसबाट मानिसमा सर्ने मात्रै होइन, कुनै पनि संक्रमित व्यक्तिबाट सजिलै अन्य व्यक्तिमा सर्ने लगायत हावाका माध्यमबाट ड्रपलेट (थूक,खकारका छिटा) का माध्यमले जुनसुकै सतहबाट पनि सर्ने कुरा प्रमाणित भयो। उदहारणका लागि संक्रमित व्यक्तिले बोल्दा अथवा खोक्दा निस्केका जलबिंदु टेबल, कुर्सी, ढोका, ढोकाको ह्यान्डल, भाडाकुडा, टिभीको रिमोट, कम्प्युटरको किबोर्ड, रूपैयाँ, कागजपत्रजस्ता कुनै पनि वस्तुमा परेर त्यहाँ भाइरस रहेका हुन सक्छन्। यस्ता वस्तुलाई अरु कुनै पनि सामान्य व्यक्तिले हातले छुँदा भाइरस हातमा सर्न पुग्छ। यतिसम्म पनि कुनै खतरा छैन। यसरी कुनै पनि व्यक्तिका हातमा पुगेका भाइरसले कुनै पनि हानि गर्दैनन्। तर, यदि हातमा भाइरस पुगिसकेको व्यक्तिले हात साफा नगरी हातले मुख, नाक, आंख छोएमा भाइरसले शरीरभित्र प्रवेश गर्ने मौका पाउँछन्। यति सामान्य कुरामा होश राखे, ध्यान दिए कोरोना संक्रमणबाट जोगिन सकिन्छ। कुनै आकाशपाताल गर्नु पर्दैन।

कुनै लक्षण नदेखिए पनि हामी कोरोना संक्रमित भएका हुन सक्छौँ। नेपालकै घटनाले यो प्रमाणित भएको छ। कोरोना संक्रमणका बारेमा डाक्टर स्कन्द शुक्ल लेख्छन्- जति पनि मानिस सार्स- सीओभी २ अर्थात कोरोना संक्रमित भएका छन्, तीमध्ये सबै मानिसमा यसका प्रारम्भिक लक्षण नदेखिन सक्छन्। अहिलेसम्मको तथ्यांकअनुसार झन्डै एक चौथाइ संक्रमित व्यक्तिमा संक्रमणका कुनै लक्षण नदेखिन सक्छ। तर तिनका शरीरमा भाइरसको वास हुन्छ। उनीहरुबाट अन्य व्यक्तिमा संक्रमण सर्नसक्छ।

जति पनि मानिस सार्स- सीओभी २ अर्थात कोरोना संक्रमित भएका छन्, तीमध्ये सबै मानिसमा यसका प्रारम्भिक लक्षण नदेखिन सक्छन्। अहिलेसम्मको तथ्यांकअनुसार झन्डै एक चौथाइ संक्रमित व्यक्तिमा संक्रमणको कुनै लक्षण नदेखिन सक्छ। तर तिनका शरीरमा भाइरसको वास हुन्छ। उनीहरुबाट अन्य व्यक्तिमा संक्रमण सर्नसक्छ।

रोबर्ट रेडफिल्ड अमेरिकाको ‘सीडीसी’ ( सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिवेन्सन) का डाइरेक्टर हुन्। उनी भन्छन्- हामीले ती व्यक्तिमाथि ध्यान दिनुपर्ने हुन्छ जुन व्यक्ति कोरोना संक्रमित भएर पनि तिनमा यसका कुनै लक्षण देखिएका छैन। यो थप डरलाग्दो स्थिति हो। उनमा कोरोना संक्रमणका लक्षण नदेखिए पनि ती व्यक्तिले अरुलाई संक्रमित बनाउन सक्छन्/ बनाइरहेका छन्।

लक्षणविहीन भाइरस वाहक अर्थात ‘एसिम्पटोमैटिक क्यारियर’ नै यस संक्रमणको निदान अथवा रोकथाममा सबैभन्दा ठूलो समस्या बनेका छन्। यसै कारणले कोभिड १९ सँग जुध्न सर्वाधिक जटिल बनेको छ। तपाईँहरुलाई भन्नु नै परेन, यस्ता व्यक्ति संक्रमित भए पनि शरीरमा कुनै लक्षण व अप्ठेरो नभएका कारण डाक्टरसम्म पुग्दैनन्, कोरोना संक्रमण परीक्षण गर्ने कुरा नै आउँदैन। संसारभरि नै जाँच ती व्यक्तिको भइरहेको छ, जुन व्यक्तिमा केही लक्षण अथवा कुनै शारीरिक कष्ट देखिएर उनीहरु जाँचका लागि अस्पताल पुगेका छन्।

यसका साथै कोरोना संक्रमितको एउटा अर्को वर्ग पनि पत्ता लागेको छ जसमा तत्काल संक्रमणको लक्षण नदेखिए पनि केही समयपश्चात् लक्षण देखिन थाल्छन्। यस्ता संक्रमित व्यक्तिहरु ‘प्रीसिम्पटोमैटिक’ अवस्थाबाट गुज्रिरहेका हुन्। यिनीहरुमा स्पष्ट रूपमा संक्रमणको लक्षण अथवा प्रभाव ४८ घन्टामा देखिने गरेको छ। साथै यस्ता पनि प्रमाण पाइएका छन्, कुनै लक्षण नदेखिएका यस्ता व्यक्तिले अरुलाई संक्रमित तुल्याउन सक्छन्।

यी लक्षण नदेखिने र लक्षण देखिनु पूर्वका संक्रमित व्यक्तिहरुका बारेमा थाहा पाएर तपाईँले के बुझ्नुभयो?

तपाईँहामी सबैले के बुझ्नु आवश्यक छ भने ‘सोसल डिस्ट्यान्सिङ’, ‘आइसोलेसन’, ‘क्वारेटिन’ र ‘लकडाउन’ जस्ता शब्दलाई तपाईँसामु रहेको व्यक्तिमा कोरोनाका लक्षण नभए पनि हलुकोमा लिनुहुन्न। ऊ लक्षण नदेखिने (एसिम्पटोमैटिक क्यारियर) अथवा लक्षण देखिनुपूर्वको (प्रीसिम्पटोमैटिक क्यारियर) संक्रमित हुन सक्छ। उसले खोक्दा ,हाछ्युँ गर्दा उसले र तपाईँ दुबै जनाले सतर्कता अपनाउनु पर्ने आवश्यक हुन्छ। स्मरण गर्नुस्, कोरोना संक्रमण प्रसारण हुनुमा संक्रमित घोषित हुने व्यक्तिभन्दा यी दुबै खाले jव्यक्ति  बढी जिम्मेवार छन्।

संक्रमणको कुनै लक्षण नदेखिएको व्यक्तिको मलमा पनि कोरोना भाइरस पाइएको छ। भन्नु परिरहेन, मानव मलबाट पनि कोरोना संक्रमण फैलिन सक्छ।

कोरोना कुनै अति घातक भाइरस होइन भनेर मैले लेखेँ भने तपाईँहरुले पक्कै मेरो खिल्ली उडाउनुहुनेछ, तर वास्तविकता यही हो। निश्चय पनि यो भाइरस हामीलाइ रोगी बनाउनसक्ने क्षमतायुक्त छ तर यो प्राणघातक नै हो भनेर बुझ्नु वा भयभीत हुनु जानिजानी आफूलाई कमजोर बनाउनु हो।

दुःखका साथ भन्नु पर्छ- हामी मानिसको स्वभाव नै नकारात्मकताले ढ़ाकेको छ। हाम्रो जीवनमा सकारत्मकताको अध्याय नै छैन। नपत्याए हेर्नुस्- आज चैत २३ गते आइतवार यो लेख्दै गर्दा रातिको ८ बजेर ३० मिनट भएको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ९ पुगेको छ। अहिलेसम्म यस संक्रमणको चपेटामा आई नेपालमा कसैले पनि ज्यान गुमाउनु परेको छैन । ९ जना संक्रमित मध्ये १ जना निको भई घर फर्किसकेका छन्। तपाईँहामीले विश्वभरिको डाटा हेरेर/सुनेर नकरात्मकता बोक्नु सट्टा नेपालकै डाटा हेरेर सकारात्मकता लिए हुन्न र! छिमेकी मुलुक भारत कै कुरा गर्ने हो भने अहिलेसम्म त्यहाँ संक्रमित हुनेको संख्या ३ हजार ३ सय ७४ पुगेको छ। भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ रहेको छ। चिकित्सापश्चात् निको हुनेको संख्या २६७ रहेको छ।

तपाईँको मस्तिष्कले कुन डाटालाई महत्त्व दिन्छ? संक्रमित संख्या ३,३७४ कै! मेरा लागि भने १ अर्ब ३५ करोड भन्दा बढ़ी जनसंख्या भएको मुलुकमा यो कुनै ठूलो संख्या होइन। संक्रमितमध्ये मर्ने ७९ जनाको प्रतिशत हेर्दा भाइरसको भारतमा ‘मोर्टालिटी रेट’ २ दशमलब ३४ हुन आउँछ। भनाइको अर्थ भारतमा सय संक्रमित मध्ये २ दशमलब ३४ जनाको मृत्यु भएको छ। २०१६ को तथ्यांक अनुसार भारतमा टीबी रोगबाट मर्नेको संख्या ४,३५००० रहेको थियो। प्रत्येक दिन टीबीबाट मर्नेहरुको संख्या झन्डै १२०० को हाराहारीमा रहेको छ भारतमा, भारतमा टीबी रोगको ‘मोर्टालिटी रेट’ १५ प्रतिशतभन्दा माथि छ।

मेरो दृष्टि संक्रमणबाट मर्ने ७९ को संख्यामा नगएर यसबाट निको हुने २६७ जनाको संख्यामा केंद्रित हुन्छ। यसले मलाई कथंकदाचित संक्रमण भइहाल्यो भने पनि रोगलाई परास्त गरी फर्किने आत्मबल दिन्छ। विश्वको तथ्यांक पनि हेरिहाल्नुस्।आजको यस समयसम्म उपलब्ध डाटाअनुसार विश्वमा संक्रमित हुनेहरुको संख्या १२, २६ ,५२२ पुगेको छ। विश्वको जनसंख्या तपाईँलाइ थाहा नै छ होला। संक्रमित भई मर्नेको संख्या ६६,५४८ रहेको छ भने संक्रमणमुक्त भई स्वास्थ्य लाभ गर्नेको संख्या २,५३ ८६४ रहेको छ। मेरो फोकस ६६,५४८ मा होइन, २,५३,८६४ को संख्यामा हुन्छ। स्पेन र इटालीमा भएको मृत्यु दरले कोरोनाको ‘मोर्टालिटी रेट’ बढाइदिएको छ। नत्र यसको ‘मोर्टालिटी रेट’ २ दशमलब ५ कै हाराहारीमा सीमित छ। तपाईँलाइ थाहा छ- विश्वमा प्रतिदिन ३,७०० मानिस सड़क दुर्घटनामा परी मर्छन्। संसारभरिका अधिकांश देशमा भएको ‘लकडाउन’ ले यी ३,७०० जनाको प्रतिदिन ज्यान जोगिने काम पनि भइरहेको छ।

मानव सभ्यताको आरम्भ देखि नै भाइरसजन्य माहामारीको प्रकोप हुँदै आइरहेको छ। मानवले प्रत्येक महामारीमाथि विजय अथवा नियन्त्रण प्राप्त गर्दै आएको छ। मानिसले नजितेको भए म यो लेखिरहेको हुन्न थिएँ। तसर्थ कोरोनाको संत्रासले आतंकित नहुनुस्। सम्भवत: अप्रिलको अन्तसँगै यस महामारीको विभीषिका मत्थर हुन थाल्छ। जुन महिनाको अन्त्यसम्म यो साम्य हुनसक्छ। यस समयसम्म तपाईँहामी सबैले चनाखो भई यस संक्रमणबाट जोगिनु नै सर्वोत्तम उपाय हो।

नेपालको हकमा भने अब शहरभन्दा गाउमा संक्रमण फैलिने बढी खतरा छ। गाउँगाउँमा रहेका स्थानीय सरकार र सरोकारवालाहरुले तदारुकताका साथ संक्रमण फैलिन नदिन प्रयास गर्नुपर्ने आवश्यकता छ। म राज्य सत्ता सञ्चालनको उत्तरदायी ओहोदामा भएको भए शहरी क्षेत्रमा ‘लकडाउन’ खुकुलो बनाउने थिएँ।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्